काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)को बीचमा ८ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स नेपालमा भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनमा १० महिनाको अवधिमा रेमिट्यान्समा १९.२ प्रतिशतले वृद्धि भएको देखिन्छ ।
आर्थिक वर्ष २०७६÷७७ को सोही अवधिमा भने रेमिट्यान्समा ६.३ प्रतिशतले घटेको थियो । अर्थात ६ खर्ब ७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यसरी हेर्दा गत वर्षभन्दा यो वर्ष विदेशबाट नेपालमा पठाउने पैसा बढेको देखिन्छ ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ८७ करोड पुगेको जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले घटेको थियो ।
रेमिट्यान्सको आप्रवाह बढे पनि वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६०.३ प्रतिशतले घटेको छ । यो संख्या अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २.७ प्रतिशतले मात्र घटेको थियो ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४९.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४.६ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।
यद्यपि, १२ महिनाको रिपोर्ट भने आउन बाँकी नै छ । विगतका वर्षको वार्षिक तथ्यांकअनुसार भने आर्थिक वर्ष २०७६÷७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई ८ खर्ब ७५ अर्ब ३ करोड कायम रहेको थियो ।
यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा ७ खर्ब ५५ अर्ब ६ करोड विप्रेषण भित्रिएको थियो । कोभिडका कारण विदेशमा रहेका नेपालीहरू बेरोजगार भएर नेपाल फर्किरहेको र रोजगारीका लागि नेपालबाट जान नपाइरहेको बेलामा पनि रेमिट्यान्समा वृद्धि देखिएको हो ।
वैदेशिक रोजगार विगत दुई वर्षदेखि प्रभावित भइरहेको बेला विदेशबाट आउने रकम पनि घट्न सक्ने आँकलन गरिरहेको बेला १० महिनाको अवधिमा रेमिट्यान्स बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
तर, कोरोना महामारीले वैदेशिक व्यापार, भ्रमण तथा शैक्षिक गतिविधिमा विदेश जाने संख्या ठप्प हुँदा हुन्डीलगायतका अनौपचारिक च्यानल बन्द हुँदा बैंकिङ च्यानलबाट भित्रिने रकम बढेको विज्ञहरूको अनुमान छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले गत वर्ष रेमिट्यान्सको वृद्धि दर कम भएकाले सोको तुलनामा बढी देखिएको बताए ।
‘यो आधार प्रभाव हो, नेपालबाट जान नपाए पनि विदेशमा गएकाहरू फर्कन पाएका छैनन्, पोष्ट कोभिड रिकभरि सुरु भइसकेकाले नेपालीहरूले काम पाउन थालिसकेकाले आम्दानीमा वृद्धि भएको असर यता देखिएको हो ।’
यस्तै विदेशमा रहेका श्रमिकहरूको आम्दानी नघटेको र खर्च घटेकाले पनि घरमा पठाउने पैसा बढेको हुन सक्ने उनको ठम्याइ छ ।
योसँगै कामदार फर्किंदा मोबाइल, ल्यापटप, टेलिभिजन र घडीलगायत सामग्री पठाउने र आफै लिएर आउँथे त्यो सबै बन्द भएको र युरोप, अमेरिकामा हाइटेकका कारण आम्दानी बढी हुन थालेकाले पनि रेमिट्यान्समा कोभिडले असर नगरेको हुन सक्ने उनले बताए ।
वैदेशिक रोजगार व्यवसायी संघका कार्यवाहक अध्यक्ष कमल तामाङले कोभिडका बीचमा रेमिट्यान्स बढ्नु सकारात्मक भएको बताए । यताबाट जान नपाए पनि उताबाट आउन नपाएको र रोजगारी कायमनै रहेकाले नेपाल पठाउने पैसा वृद्धि भएको उनको भनाइ छ ।
विदेशमा विस्तारै कोभिडको असर कम हँुदै गएको र श्रमिकहरूको रोजगारी पनि नगुमेकाले रेमिट्यान्समा असर नपरेको बताए ।