काठमाडाैं । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका अवसरमा नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष षष्ठीको दिन मनाइने यस पर्वमा विषेशगरी कुमार देवताको पूजा गरी मनाइन्छ ।
ग्रीष्म ऋतुमा मनाइने सिथि नखः पर्वमा कुमार देवतालगायत नगरभित्रका सबै देवीदेवताको समेत पूजा गर्ने परम्परा छ । सिथि नखःमा भक्तपुरको गछेंस्थित नवदुर्गा मन्दिरमा भक्तजनको ठूलो मेला लाग्ने गर्छ ।
यस दिन विशेषागरी कुमारलगायत सबै देवीदेवतालाई मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान वः (बारा) चतामरी, मालपुवा, आरुबखडा, काँक्रो र सचुं(भुटेको नयाँ गहुँको पिठो र चिनीबाट बनेको विशेष प्रकारको रोटी) चढाउने र आफूले पनि भोजन गर्ने प्रचलन रहेको छ ।
त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत खाने गरिन्छ । गहुँ भित्र्याइने भएकाले नयाँ गहुँको पिठोको विभिन्न प्रकारका रोटी खाने चलनसमेत रहेको छ ।
सिथि नखःका दिन नेवार समुदायले मुहान, इनार, कुवा, पोखरी, धारालगायतका पानीको स्रोत सरसफाइ गर्दछन् । बर्सातको बेला बगेर आउने भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोत वरिपरिसमेत सरसफाइ गरी निकास खोल्नु यसको विशेषता हो ।
साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई बर्सातको पानीले फुटाउने भएकाले पनि सिथि नखःका दिन पानीको मूलको सफाइ गर्ने गरिएको हो ।