काठमाडौं । पश्चिमाञ्चल होटल संघ पोखराले सबै व्यवसायी, कर्मचारी र मजदुरहरुलाई कोरोना भाइरस (कोभिड– १९) विरुद्धको खोप नलगाएसम्म व्यवसाय सञ्चालन नगर्ने निर्णय गरेको छ । निषेधाज्ञा हटे पनि होटलका कर्मचारी र परिवारको जीवन जोखिममा राखेर व्यवसाय सञ्चालन नगर्ने निर्णय गरेको संघका अध्यक्ष विकल तुलाचनको भनाइ छ ।
पश्चिमाञ्चल होटल संघले जस्तै अन्य पर्यटनसँग आबद्ध संघ-संस्थाहरुले पनि कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् । निषेधाज्ञा खुले पनि पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायी र श्रमिकहरुलाई जबसम्म खोप लगाउन सकिँदैन तबसम्म कोही पनि पूर्ण–पमा सुरक्षित नहुने व्यवसायीहरुको भनाइ छ ।
विदेशबाट आउने पर्यटकहरु मात्र हैन, नेपाल भित्रै आन्तरिक पर्यटन चलायमान बनाउन पनि सबै क्षेत्रमा खोप उपलब्ध हुन आवश्यक छ । पर्यटन व्यवसायीलाई मात्र हैन, त्यस क्षेत्रका सबै नागरिकहरुलाई खोप उपलब्ध गराएर सुरक्षित साथ पर्यटकहरुलाई स्वागत गर्ने वातावरण सरकारले तत्कालै मिलाउन आवश्यक रहेको व्यवसायीहरुले बताउदै आएका छन् ।
अहिले विश्वका अधिकांश मुलुकमा कोभिड विरुद्धको खोप सुरु भइसकेको छ । नेपालमा पनि केही लाख मानिसहरुले कोभिड विरुद्धको खोप लगाइसकेका छन् । विशेषा गरेर चिकित्सा क्षेत्रमा कार्यरत कर्मचारीहरु,पत्रकार,कूटनीतिक नियोगका अधिकारीहरु, वृद्धवृद्धाहरु, एयरलाइन्स , होटल र पर्यटन क्षेत्रका पनि केहिले खोप लगाइसकेका छन् । सांसदहरुले पनि त्यस विरुद्धको खोप लगाइसकेका छन् ।
अहिले विभिन्न मुलुकबाट ल्याइएको खोपहरु विभिन्न उमेर समूहलाई प्राथमिकताका आधारमा खोप लगाउँदै आएका छन् । नेपालमा पनि अहिले दोस्रो चरणको कोभिडको लहर भैलिरहेको छ । पहिलोभन्दा धेरैनै संक्रामक रहेको दोस्रो भेरियन्टले संक्रमतिको संख्या मात्र हैन,मृत्युदर पनि ह्वात्तै बढाएको छ ।
खुमबहादुर सुवेदी, अध्यक्ष, टान
पर्यटन प्रर्वद्धनका लागि तत्कालै सरकारले सम्पूर्ण नेपालीहरुका लागि खोप उपलब्धता गराउनु पर्छ । जबसम्म सबै नेपालीहरु सुरक्षित हुँदैन तबसम्म हामीले नेपालको पर्यटनका लागि प्रचार-प्रसार गर्न सक्ने आधारनै हुँदैन । त्यसैले पहिला सबैलाई खोपको पहुँच पुर्याएपछि मात्र अन्तर्राष्ट्रिय रुपमा नेपालको प्रचार-प्रसार गरी हामी सबैले खोप लगाइसकेका छौं,तपाईहरु पनि खोप लगाएर आउनुस्र भन्न सहज हुन्छ । त्यसैले सरकारले यसतर्फ ध्यान दिनुपर्छ ।
अहिले विदेशबाट नेपाल आउन चाहनेहरु धेरै छन् । तर,उनिहरुले नेपालमा कोभिडको संक्रमित धेरै रहेको र खोप नलाएको भन्दै आएका छन् । त्यसैले सरकारले जुनसुकै मुलुकबाट खरिद गरेर भए पनि तत्कालै खोपको व्यवस्था गर्नुपर्ने देखिन्छ । अहिले त्यसको सहि समयपनि छ । किन की यो बेला पर्यटकीय सिजन पनि नभएको र सिजन सुरु हुनलाई दुई चार महिना लाग्ने भएकोले त्यो अवधि भित्रमा सबै नागरिकहरुले खोप लगाइसक्ने हो भने नेपालमा पर्यटकहरु ल्याउन र आउनका लागि कुनै समस्या देखिँदैन ।
टानका सदस्यहरु र कर्मचारीहरु गरी करिब ५ हजार जना आश्रित छन् । उनीहरुलाई पनि पहिलो प्राथमिकतामा राखेर खोप लगाउन आवश्यक छ । केही व्यवसायीरुले पहिलो चरणको खोप लगाए पनि जिल्लामा रहेका व्यवसायीहरु र श्रमिकहरुले त्यो सुविधा नपाएकोले त्यसतर्फ सरकारले ध्यान दिन जरुरी छ ।
विनायक शाह,प्रथम उपाध्यक्ष, हान
काठमाडौं उपत्यकाभित्र रहेका कतिपय होटलका कर्मचारीहरु र सञ्चालकहरुले खोपसमेत लगाइसकेका छन् । तत्कालिन स्वास्थ्य मन्त्री हृदेश त्रिपाठीले होटल क्षेत्रका लागि ५० देखि ६० हजार खोप तत्कालै दिनु भनेर निर्देशन जारी गरेका थिए । तीमध्ये काठमाडौंका अधिकाशं फ्रन्टलाइनका होटलहरुले खोप लगाएका छन् । करिब १० हजार जति खोप प्रयोग गरिएको छ । अरू पनि धेरै बाँकी छ । त्योसँगै उपत्यका बाहिरका होटलहरुले भने खोपको सुविधा पाउन सकेका छैनन् ।
त्यसैले देशभर रहेका होटल व्यवसायी र कर्मचारीहरुलाई अनिवार्य रुपमा खोपको व्यवस्था गरिदिन हानले माग राख्दै आएका छौं । होटल क्षेत्रमा करिब ११ लाखभन्दा बढी श्रमिकहरु आबद्ध छन् ।
खोप उपलब्ध नहुँदा एकातीर ग्राहकहरु बस्न नमान्ने र अर्कोतर्फ कर्मचारीहरुलाई घरबाट पठाउननै आनाकानी गरिरहेको अवस्था छ । आफ्नो ज्यानभन्दा पैसा ठूलो हैन भन्दै कर्मचारीहरुलाई नै काममा पठाउन नमान्ने गरेकोले खोपको प्रबन्ध तत्कालै गर्नुपर्छ ।
त्यस हिमाबले हेर्दा विदेशबाट आउने ग्राहकरु पीसीआर रिपार्ट नेगेटिभ भएर आए पनि यहाँ आएपछि पोजेटिभ हुने संम्भावनाहरु रहन्छन् । त्यसैले कर्मचारीहरुलाई जोखिममा राखेर काम लगाउनु भन्दा उनिहरुलाई पनि खोप लगाएर सुरक्षीत बनाउन आवश्यक रहेको छ ।
विनय बस्नेत,उपाध्यक्ष नाट्टा
कोभिडका कारण विश्वको अर्थतन्त्रनै धरासायी बनेको छ । त्यसको असर सबै नागरिकहरुलाई परेको छ । उनिहरु तत्कालै घुम्नका लागि बाहिरी मुलुकमा गइहाल्ने अवस्था छैन । केहि बाहेक धेरैले आन्तरिक रुपमै भ्रमण गर्ने अवस्था देखिन्छ । छिमेकी मुलुक चीनले पनि अहिले आन्तरिक घुमघामलाई विशेष जोड दिएको पाइन्छ ।
नेपालमा पनि सरकारले बजेट मार्फत आन्तरिक पर्यटनलाई जोड दिएको पाइन्छ । आन्तरिक पर्यटनलाई चलायमान बनाउनका लागि पनि सबै क्षेत्र र सबै ठाउँमा खोपको प्रबन्ध मिलाउनुपर्छ । जबसम्म आफु र आफु जाने ठाउँका मानिसहरु सुरक्षीत रहेको महसुस गर्दैन तबसम्म घुम्न निस्कदैन । त्यसैले आत्मावल बढाउनकै लागि भए पनि सरकारले खोप तत्कालै सबैलाई उपलब्ध गराउनुपर्छ । राजनीतिक दाउपेचलाई जनताको स्वास्थ्य र आर्थिक उपार्जनमा खेलबाड गर्न हुदैन ।
नेपालमा तत्कालै बाहिरबाट धेरै पर्यटकहरु आउने सम्भावन न्यून रहेको छ । नेपालमा आउने भनेकै भारत र चीनका पर्यटकहरु हुन् । उनीहरुलाई पहिलो चरणमा यहाँ ल्याएर घुमाएर सुरक्षीत साथ पठाउन सकियो भने त्यसपछि भने विस्तारै युुरोपियन मुलुकबाट पर्यटकहरु आउन सक्छन् ।
चीनमा तीब्र गतिमा खोप लगाइरहेको र भारतले पनि त्यही गतिमा खोप लगाएको हुँदा उनिहरुलाई सहज रुपमा नेपाल आउने वातावरण बनाउन सरकार र निजी क्षेत्र लाग्न आवश्यक छ । भारतबाट छोटो दुरी रहेको र गाडी मार्फत पनि आउन सक्ने भएकोले भ्याक्सिन लगाएकहरुलाई सहज रुपमा आउन दिनुपर्छ ।
त्यस्तै चीनबाट पनि नजिकको गन्तव्य भएकोले नेपालमा उनिहरुलाई आकर्षणका लागि आवश्यक प्याकेजहरु तत्कालै सार्वजनिक गरेर प्रचारप्रसारलाई तिब्रता दिनुपर्छ । प्रचारप्रसारका लागि सबैभन्दा महत्वपूर्ण विषय भनेकै खोप हो । हामी खोप लगाएर सुरक्षित छौं,तपाईहरु पनि खोप लगाएर आउनुस भन्ने सन्देश भारत र चीनमा दिन आवश्यक छ ।नाट्टामा व्यवसायी सदस्यहरु र कर्मचारीहरु गरि करिब ५ हजार जना सदस्यहरु रहेका छन् ।
सन्तवीर लामा, अध्यक्ष, नेपाल पर्वतारोहण संघ
निषेधाज्ञा,लकडाउन(बन्दाबन्दी) जे भए पनि यो भनेको निश्चित समयको लागि मात्र हो । भाइरसको दिर्घकालीन रुपमा अन्त्य गर्नका लागि चाहिने भनेको खोप नै हो ।
समयमै खोप लगाउन सकिएन भने नेपाली पछि पर्छ । विश्वका अधिकाशं मुलुकमा धमाधम खोप लगाउन सुरु गरिसकेको छ । अटम सिजनमा आउने पर्यटकहरुलाई लक्षित गरि धमाधम खोप लगाउनु पर्छ ।
अहिले विदेशबाट नेपाल आउन चाहनेहरुले तिमिहरुको देशमा खोपको अवस्था कस्तो छ भनेर प्रश्न गरिरहेका छन् । अहिलेको यो सिजनमा पनि माउन्टेरिङ बाहेक अरु कुनै गतिविधि हुन सकेन ।
त्यसैले अबको विकल्प भनेको खोप नै हो । युरोपियन मुलुकमा सेप्टेम्बर(भदौ,असोज) भित्रमा सबैले खोप लगाइसक्ने आंकलन त्यहाँका नागरिकहरुले गरिरहेका छन् । त्यसपछि भनेको उनिहरु घुम्न निस्कन सक्छन् ।
त्यसो हुँदा अवको शरद ऋतु (अटम सिजन)लाई लक्षित गरी पर्यटनको प्रचारका लागि सबै व्यवसायी र श्रमिकहरुलाई अनिवार्य रुपमा खोपको व्यवस्था सरकारले गरिदिनु् पर्छ ।
खोपको प्रबन्ध सबैलाई भयो भने विदेशीहरुलाई नेपाल बोलाउन समेत सहज हुन्छ । नेपालमा त्यो बेलासम्म ६० देखि ७० प्रतिशत नागरिकहरुले खोप लगाउन सकियो भने अब आउने सिजनहरु पर्यटकहरु बढ्न सक्छ । एनएमएसँग आबद्ध व्यवसायी र श्रमिकहरु गरि करिब १० हजार रहेको बताइएको छ ।
विकल तुलाचन, अध्यक्ष पश्चिमाञ्चल होटल सघ,पोखरा
ग्राहकसँग प्रत्यक्ष सम्पर्क हुने भनेकै होटल र रेष्टुराँका व्यवसायीहरु हुन् । उनिहरुलाई सुरक्षीत बनाउन सकिएन भने पर्यटन क्षेत्र फेरि ध्वस्त हुन्छ । त्यसैले पहिला पर्यटन क्षेत्रसँग आबद्ध सबै व्यवसायी र कर्मचारीहरुलाई खोपको व्यवस्था गर्नुपर्छ ।
काठमाडौं बाहेक अन्य बाहिरी जिल्लाहरुमा पनि अतिथि सेवामा पाहुनाहरुसँग प्रत्यक्ष रुपमा खटिने होटल सञ्चालक तथा कर्मचारीहरुलाई कोभिड विरुद्धको खोप प्रदान गर्न सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण पर्दा पनि सुनुवाई नभएकोले अविलम्ब प्राथमिकताको आधारमा कोभिड विरुद्धको खोप प्रदान गर्नुपर्छ ।
प्राथमिकताको आधारमा पटक-पटक खोप कार्यक्रम ल्याइएको भएता पनि काठमाडौं केन्दित पर्यटन व्यवसायीलाई मात्र प्राथमिकताको आधारमा खोप कार्यक्रम सम्पन्न गरिएको भन्दै जिल्लाका व्यवसायीहरुलाई पनि समेट्नु पर्छ ।
जबसम्म पर्यटन क्षेत्र सुरक्षीत बनाउन सकिदैन तबसम्म अर्थतन्त्रलाई चलायनमान बनाउन सकिदैन । त्यसका लागि कि सरकारले खोप उपलब्ध गराउनु पर्यो हैन,भने निजी क्षेत्रलाई किन्ने वातावरण खुला गरेमा आफुहरुले खरिद गरेर लगाउन तयार रहेका छौं ।
उद्योग वाणिज्य संघ र पर्यटन परिषद पोखराले खोप खरिदका लागि बाटो खुलाउन सरकारसँग अनुरोध गर्दै आएको छ । पोखरामा रहेका पर्यटन व्यवसायीहरु र श्रमिकहरुलाई करिब २५ हजार खोप आवश्यकता पर्छ ।
चन्द्रप्रकाश श्रेष्ठ, अध्यक्ष सिद्धार्थ होटल संघ, भैरहवा
अस्पतालहरुमा भन्दा होटल क्षेत्रमा सबैभन्दा बढी मान्छेको जमघट हुन्छ । विभिन्न मुलुक र विभिन्न क्षेत्रबाट पर्यटकहरु आउने भएकोले सबैभन्दा जोखिमको क्षेत्रनै होटल र रेष्टुराँ अर्थात पर्यटन क्षेत्र हो । त्यसैले जबसम्म पर्यटन क्षेत्रलाई ढुक्क बनाउन सकिदैन तबसम्म निषेधाज्ञा खुल्ने र पुरानै अवस्थामा लैजान सकिदैन । त्यसलै पर्यटन क्षेत्रमा आबद्ध सबैलाई तत्कालै खोप उपलब्ध गराउन आवश्यक छ ।
भैरहवा र लुम्बिनी क्षेत्रमा रहेका होटल व्यवसायीहरुलाई खोप उपलब्ध गराइदिन सरकारसँग माग गरिएको छ । केहि व्यवसायी र श्रमिकहरुले खोप लगाए पनि सबै व्यवसायी र श्रमिकहरुलाई गरि करिब ३ हजार ५ सय जति आवश्यक पर्छ ।
एकराज अधिकारी,महासचिव, रेवान
होटलसँगै रेष्टुराँमा आबद्ध व्यवसायी र श्रमिकहरुलाई पनि अनिवार्य रुपमा खोपको व्यवस्था गर्नुपर्छ । पर्यटकहरु आउने र रमाइलो गर्ने थलोको रुपमा रहेको रेष्टुराँ र बारमा आबद्धहरुलाई खोप लगाएर सुरक्षीत आभाष नभएसम्म काम गर्न र लगाउन सकिदैन । पर्यटकहरुलाई पनि रेष्टुराँ क्षेत्र सुरक्षित छन् भन्ने वातावरण दिलाउनका लागि सरकारले काठमाडौं उपत्यकासहित देशभरमा रहेका रेष्टुराँ र बारमा कार्यरत कर्मचारी,व्यवसायी सबैलाई आगामी सेप्टेम्बरसम्ममा खोप लगाइसक्नुपर्छ ।
कोभिडको खोपको सुनिश्चिता नहुँदानै पनि नेपालमा १८ देखि २० प्रतिशत पर्यटकहरु नेपालमा आएका छन् । तर,उनिहरु होटलबाट सिधै पर्वतारोहण र त्यहाँबाट फर्किर होटलबाटै विमानस्थलमा पुगेर आफ्नो देश फर्किए । पर्यटकहरु बाहिर आएर खर्च गर्न नै पाएनन् । पर्यटन क्षेत्रमा आबद्धहरुलाई अनिवार्य रुपमा खोप लगाउने व्यवस्था गर्ने र होटल तथा रेष्टुराँहरुलाई खोप लगाएको क्षेत्र भनेर घोषणा गरेर अन्तर्राष्ट्रियजगतमा प्रचारप्रसारमा लाग्नुपर्छ । रेवानका लागि ४ हजार भ्याक्सिन आवश्यक पर्छ ।
सुमन घिमिरे, होटल व्यवसायी,सौराह
व्यवसाय सञ्चालन गरेसँगै होटल क्षेत्रमा कामगर्नेहरु सबैभन्दा बढी जोखिममा हुन्छन् । धेरै जमघट हुने र मान्छेहरुसँग बढी नै सम्पर्क हुने थलो नै होटल क्षेत्र भएकोले सरकारले छिटोभन्दा छिटो यस क्षेत्रका व्यवसायी र श्रमिकहरुलाई खोपको व्यवस्था गरिदिन आवश्यक छ ।
जबसम्म होटलका व्यवसायी र कर्मचारीहरु सुरक्षीत हुदैनन तबसम्म ग्राहकलाई सुरक्षाका साथ सेवा दिन सकिन्छ भन्ने हुँदैन । त्यसैले सरकारले विषेश प्राथमिकतामा होटल क्षेत्रलाई राखेर सौराहा र चितवनमा भएका होटल,रेष्टुरासहित पर्यटन क्षेत्रमा संलग्न सबैलाई खोप लगाएर सुरक्षीत बनाउन ध्यान दिन आवश्यक छ ।
निषेधाज्ञा खुलेपछि सबैभन्दा पहिला चलायमान हुने पर्यटन क्षेत्र नै भएकोले यस क्षेत्रलाई सुरक्षीत नबनाएसम्म व्यवसाय सञ्चालन गर्नुको कुनै अर्थ हुँदैन ।