काठमाडौं । हरेक मान्छेले आफ्नो जीवनकालमा केही न केही गर्ने सपना बोकेको हुन्छ । कहिलेकाहीँ देखेको सपना वा लिएको लक्ष्यभन्दा भविष्यमा छुट्टै काम गरेका उदाहरणीय पात्र भेट्न सकिन्छ ।
त्यसैमध्येकी एक हुन् सरिता श्रेष्ठ । इन्जिनियरिङ पढ्ने सपना बुनेकी उनी विगत १० वर्षदेखि ललितपुरमा मौरी पालन गर्दै आएकी छन् ।
सरिताले मौरी पालन गर्नुको पछाडि उनका श्रीमान् धर्मराज श्रेष्ठको सहयोग पनि उति नै छ । धर्मराजको पुख्र्यौली पेसा मौरी पालन हो । धर्मराजका दाजुभाइ नै मौरी पालनमा सक्रिय छन् ।
मौरी पाल्नका लागि चरन क्षेत्र अथवा फलफूल भएको ठाउँ आवश्यक पर्छ । धर्मराजको घर चितवन एयरपोर्ट नजिकै छ भने, सरिताको गाउँमा । मौरी चराउन गाउँ गएको समय सरितासँग भेट भएको थियो । उनीहरूको भेट प्रेम सम्बन्धमा परिणत भयो अन्ततः विवाह गरे । तर, आजभन्दा एक दशक पहिला ब्रम्हण (भट्टराई)की छोरी र नेवारको छोराबीचको सम्बन्ध परिवारले सजिलै स्वीकार्न भने सकेको थिएन ।
धर्मराजले विवाह पहिलादेखि नै चितवनमा ‘नेपाल बी कन्सर्न’ सञ्चालन गर्दै आएका थिए । विवाहपछि सरिताले पनि श्रीमानले गर्दै आएको मौरी पालन व्यवसाय गर्ने निधो गरिन् । धर्मराजका अनुसार, सरिताले मौरी पालन, कत्तिको कमाइ हुन्छ भनेर रहरले सुरु गरेको व्यवसाय हो । श्रीमान–श्रीमतीको नाममा छुट्टै फाम दर्ता गर्नुको त्यस्तो कुनै मुख्य कारण भने छैन ।
उनले केही मौरीका घार चितवनबाट ल्याइ ६० हजारको लगानीमा आजभन्दा १० वर्ष पहिला ‘माउन्टेन बी कन्सर्न’ सञ्चालन गरिन् । ललितपुरको कुपन्डोलबाट सुरु गरेको व्यवसाय अहिले धपाखेलमा सारेकी छन् । कोरोना संक्रमण पहिला ३० जनासम्मलाई रोजगारी दिएकी उनले अहिले भने १४/१५ जनाले काम गर्दै आएका छन् । ५ रोपनी जग्गामा उनको मौरी पालन व्यवसाय सञ्चालन भइरहेको छ ।
सरिताका अनुसार, मौरीको लागि खुला ठाउँ चाहिन्छ । कुनै बन्द कोठामा मौरी बस्न मन पराउँदैन । उनले भनिन्, ‘धेरै ठूलो क्षेत्र पनि चाहिँदैन र यसले अरू काम वा व्यवसायलाई पनि असर गर्दैन । घरको छतमा घार राखेर आफ्नो परिवारको लागि मह उत्पादन गर्न सकिन्छ ।’ उनीहरूले जसरी धेरै अर्थात् व्यवसाय नै गर्नका लागि भने पूलफूलको रसको समस्या हुन सक्छ ।
त्यसैले वर्षको ५÷६ महिना उनीहरू उपत्यका बाहिर नै हुन्छन् । त्यसरी बाहिर बस्नुको कारण हो मौरी चराउन अर्थात् फलफूल भएको ठाउँ खोज्न । श्रेष्ठ दम्पती मौरी चराउनका लागि मकवानपुर, दाङ, चितवन, सुर्खेतलगायत क्षेत्रमा जान्छन् ।
‘गाडीमा मौरीका घारसहित कामदार पनि लिएर जान्छौं । घुमन्ते जीवन छ, रमाइलो लाग्छ ।’ सरिता भन्छिन्, ‘हामीले चिउरी, रुदिलो, जामुनु, तोरी, फापरलगायतका बिरुवा भएको ठाउँमा लगेर मौरीका घार राख्छौं र महको मूल्य पनि फलफूलअनुसार फरक पर्छ । कम पाइने र बढी औषधीय गुण भएको फलफूलको रसबाट बनेको महको मूल्य बढी र क्रमशः अन्यको मूल्य कम पर्छ ।’ प्रतिकिलो ५÷६ सयदेखि १३÷१४ सयसम्म महको मूल्य पर्छ ।
उनीहरूले सेरेना र मेनीफेरा मौरी पालेका छन् । सेरेना एसियन जातको मौरी हो जुन लोकल अर्थात गाउँ घरमा पाइन्छ । त्यस्तै मेनीफेरा भने युरोपियन जातको मौरी हो ।
मौरीको मह कुन फूलको रसबाट बनेको हो हेरेर पनि छुट्टिने सरिता बताउँछिन् । साथै घार राख्ने बेलामा नै थाहा हुन्छ । जुन फूल भएको क्षेत्रमा मौरीको घार राखेको हुन्छ त्यसको आधारमा पनि महलाई चिन्न सकिन्छ । र, फूलको रसअनुसार, महको स्वाद पनि फरक नै हुन्छ ।
उनीहरूले वार्षिक ५० टनसम्म मह उत्पादन गर्छन् । उक्त मह देशभरि साथै अमेरिमा समेत पाठाउने गरेका छन् ।
सरिताले धेरैजसो महको काम गर्छिन् भने, उनका श्रीमान बजारीकरण र मौरीको काममा लागि बाहिर हिँड्ने गर्छन् । उनीहरूले मह मात्रै उत्पादन गर्दैनन् । महको चाकाबाट साबुन, लिप्स्टिकलगायतका अन्य उपभोग्य वस्तु पनि बनाउँछन् ।
सरिताले मौरी पालनसम्बन्धी तालिम लिएकी छन् । र, अहिले अरूलाई पनि तालिम दिने गर्छिन् । सामान्यतयाः १ सातामा मौरी पालका लागि आवश्यक आधारभूत कुरा जान्न सकिन्छ । त्यसपछि रानी बनाउनका लागि भने थप तालिम लिनुपर्ने हुन्छ ।
उनले भनिन्, ‘सरकारले कृषिको क्षेत्रमा पनि काम गरी रहेको छ । व्यवसाय गर्न मन/रहर हुँदा आफूले पनि खोजि गर्नुपर्छ । सरकारले दिएका सहुलियत तथा तालिमहरू पूर्ण त हुँदैन तर सहयोग भने हुन्छ ।’
मौरीले सिजन (मौसम) अनुसार मह लगाउने गर्छ । कहिलेकाहीँ १५ दिनमा नै घार भरिन्छ महले । मह धेरै भएर नकाढि राख्यो भने मौरीले घार छोड्ने सम्भावना हुन्छ । त्यसैले बेलाबेला विचार भने गरि रहनुपर्छ । एउटा मौरीको घारलाई १० हजार रुपैयाँ पर्ने सरिता बताउँछिन् । उनले मौरीको रानी मात्रै पनि बेच्छिन् ।
एउटा रानीको मूल्य भने २ हजार रहेको उनले बताइन् । अहिलेको सयम (वर्षयाम) घार बनाउने समय हो । यो बेला मौरीले बच्चा धेरै बनाउने गर्छ । एउटा घारबाट दुई घार बनाउन मन लागेमा छुट्टै रानी राखेर घारको संख्या बढाउन सकिन्छ ।
मौरीको हेरचाहा गर्दा बिसुड अर्थात मौरीको टोकाइबाट बच्न प्रयोग गरिने टोपी तथा लुगा लगाउनु पर्ने हुन्छ । नयाँ व्यवसायी बन्न रहर गर्नेलाई सुझव दिँदै सरिताले भनिन्, ‘कहिलेकाहीँ एक्कै पटक सफल भइँदैन त्यसबाट भने पछि हट्नु हुन्न । सामान्यतया १० हजार लगानी गरेर एउटा घारबाट पनि व्यवसाय सुर गर्न सकिन्छ । त्यसबाट विस्तारै फाइदा हुन्छ ।’
उनले कोरोना भाइरसको संक्रमणको समयमा पनि आफ्नो कामलाई निरन्तरता दिइरहिन् । पहिला मौरी पालेर कहिले प्रगति गर्नु भन्नेहरू नै लकडाउको समयमा उनीसँग व्यवसायका बारेमा बुझ्न र सिक्न गए ।
क्यापिटल नेपालसँग कुरा गर्दै उनले भनिन्, ‘कोरोनाले हामीलाई आफ्नै पेसा व्यवसाय गर्नुपर्छ, अरूको भरमा बाचेर पुग्दैन भन्ने सिकायो । पहिला मलाई दुःखको काम गरेर के हुन्छ र ? भन्नेहरू नै मेरो व्यवसाय कोरोनाको समयमा पनि नरोकिएको देखेर म पनि गर्छु भन्दै सिक्न आएँ ।
पोहोर सिकेका इन्जिनियर, वकिललगायत ८/९ जनाले निरन्तरता दिइरहेका छन् ।’ आयुर्वेदिक पसलमा महको बिक्री धेरै हुन्छ । उनीहरूले धेरै जसो होलसेलमा मह विक्रि गर्छन् तर, थोरै लिन चाहानेलाई पनि दिने गरेका छन् ।
श्रेष्ठ परिवारमा आर्थिक हिसाब किताब बढी मात्रामा सरिताले नै गर्छिन् । श्रीमान भन्छन्, ‘जिम्मेवार त दुवै जना हुनुपर्छ नि तर सबै कुराको जानकारी र व्यवहार श्रीमती कै भरमा छ । मैले त काम पर्दा पैसा माग्ने मात्रै हो ।’
६० हजारको लगानीमा रहरले सुरु गरेको व्यवसायले उनीहरूलाई अहिले ५ करोड बढीको मालिक बनाएको छ । त्यसो त धर्मराजले पहिलादेखि नै चितवनमा गर्दै आएको मौरी पालन व्यवसायको छुट्टै २ करोड बढीको जेथो रहेको उनीहरूले बताए । चितवनको व्यवसाय भने आफन्तको जिम्मामा छोडेर धेरैजसो उनीहरूले ललितपुरको फाममा समय दिने गरेका छन् ।
मासिक ५ लाखको कारेबार गर्छन् श्रेष्ठ दम्पती । ललितपुरमा करिब ४ सय र चितवनमा पनि ४ सय बढी नै मौरीका घार छन् । तर, घारको बिक्री हुने भएकाले संख्या भने घटबढ भइरहन्छ ।
सरिताले महिला भएर पनि उदाहरणीय काम गरेको भन्दै प्रशंसा गर्नेको पनि कमी छैन । उनले तालिम लिने बेलामा ४५ जनामध्ये उनी एक्लै थिइन् महिला । उनले राष्ट्रिय स्तरका कृषि मन्त्रालय, खेलकुद मन्त्रालयलगातका निकायबाट पुरस्कार र सम्मानसमेत पाएकी छन् । ‘महिला पनि सक्षम हुनुपर्छ ।
त्यसको लागि जागिर खानु नै ठूलो कुरा होइन तर, आफ्नो रहर र क्षमता अनुसारको कुनै पनि काम गरेर अर्थिक रूपमा सक्षम हुनुपर्ने रहेछ भन्ने मैले बुझेँ ।’ उनले भनिन्, ‘हाम्रो विवाह अन्तर जातीय हो । सुरुमा पारिवारिक सम्बन्ध धेरै राम्रो थिएन । अहिले सबै कुरा राम्रो चलिरहेको छ ।’
सरितालाई अहिले इन्जिनियरिङ पढ्न नपाएकोमा कुनै पछुतो छैन । बरु उनका साथीले गरेको प्रसंसा सुनेर प्रफुल्ल बन्छिन् । साथै मौरी पालन व्यवसाय गरेर अगाडि बढ्ने जागर थप बढिरहेको छ ।