एजेन्सी । बजार पुँजीकरणका आधारमा अमेरिकाको प्रविधि संस्था एप्पल इंक विश्वकै सबैभन्दा ठूलो कम्पनी भएको छ । एप्पलको बजार पुँजीकरण बढेर २० खर्ब १० अर्ब डलर पुगेको छ । एप्पलले आइफोन, ट्यावलेट, ल्यापटपलगायत उत्पादन गर्दै आएको छ ।
यस्तो दोस्रोमा साउदी अरेबियाको ऊर्जा कम्पनी आरम्को रहेको छ । पेट्रोलियम तथा ऊर्जा उत्पादन गर्ने आरम्कोको बजार पुँजीकरण १९ खर्ब डलर छ । यो साउदी सरकारको कम्पनी हो ।
एक जमानामा लगातार सर्वाधिक धनीको सूचीमा परेका विल गेट्सको माइक्रोसफ्ट कर्पोरेसनको बजार पुँजीकरण १८ खर्ब डलर रहेको भिजुअल क्यापिटलिस्टले जनाएको छ ।
यसैगरी हाल विश्वको सबैभन्दा धनी जेफ बेजोसको कम्पनी अमेजन डटकम इंकको पुँजीकरण १६ खर्ब डलर रहेको छ । अमेरिकी प्रविधि कम्पनी अल्फावेट इंकको १४ खर्ब, अमेरिकाका मार्क जुकरबर्गको फेसबुक इंकको ८ खर्ब ३९ अर्ब, चिनियाँ कम्पनी टेसेन्टको ७ खर्ब ५३ अर्ब, टेस्ला गाडी उत्पादक टेस्ला इंकको ६४१ अर्ब डलर रहेको छ ।
चीनका ज्याक माको अलिबाबा ग्रुपको ६१५, सेयर बादशाह वारेन्ट वफेटको ब्रोकसायर हाथवे कम्पनीको बजार पुँजीकरण ५ खर्ब ८८ अर्ब डलर रहेको छ ।
एसियाका सर्वाधिक धनी भारतीय नागरिक मुकेश अम्बानीको रिलायन्स इन्डष्ट्रिज लिमिटेड बजार पुँजीकरणका आधारमा ५८ औं स्थानमा रहेको छ । रिलायन्सको बजार पुँजीकरण १ खर्ब ८० अर्ब डलर रहेको छ । विश्वमा विमान उत्पादन गर्ने बोइङ इंक ८० औं स्थानमा छ ।
बोइङको बजार पुँजीकरण १ खर्ब ४९ अर्ब डलर रहेको छ । १०० औं स्थानमा बेल्जियमको अनउसर बस्कको बजार पुँजीकरण १ खर्ब २८ अर्ब डलर छ ।
भिजुअल क्यापलिस्टले १०० वटा कम्पनीको बजार पुँजीकरण सार्वजनिक गरेको हो । यी सबै कम्पनीहरुमा सर्वसाधारणको समेत लगानीका साथै स्टक एक्सचेन्जमा सूचीकृत भएका छन् । सेयर कारोबारका आधारमा कम्पनीहरुको बजार पुँजीकरण निर्धारण भएको हो ।
कोभिड महामारीका बीचमा विश्वको पुँजी बजारमा बलियो सुधार भएको देखिएको छ । विश्वका सबैभन्दा बढी बजार पुँजीकरण भएका १०० वटा कम्पनीको कुल पुँजी ४८ प्रतिशले बढेर ३१७ खर्ब ७० अर्ब डलर पुगेको छ ।
यो रकम अमेरिका र चीनको संयुक्त कुल गार्हस्थ्य उत्पादन (जीडीपी) हाराहारी हो । अमेरिका र चीनको जीडीपीको आकार ३५७ खर्ब डलर रहेको छ । यी दुई मुलुकको भन्दा जीडीपीमा केही कम रहेको देखिएको छ ।
बजार पुँजीकरणका स्तरको निर्धारण अमेरिकाको पब्लिक ट्रेड कम्पनी पीडब्ल्यूले गरेको हो । कम्पनीले एफटीएसई रस्सेल इन्डष्ट्रिज क्लाफिकेसन बेञ्चमार्कका आधारमा गरेको हो । १०० वटा कम्पनीको सूचीमा सबैभन्दा बढी अमेरिका र चीनका प्रविधि कम्पनीहरु छन् ।
अमेरिकाको टेस्ला कम्पनीको सेयर मूल्य बढेपछि केही समय इलन मस्क विश्वको सर्वाधिक धनीको सूचीमा परेका थिए ।
यसैगरी खाद्यन्न डेलिभर प्लाटफर्म म्याटुन र पे पल ई–कमर्स कम्पनीको लोकप्रियता बढेसँगै बजार पुँजीकरण क्रमशः २२१ र १५१ प्रतिशतले बढेको छ । यसबीचमा नेस्ले नोभारिच, चाइना मोबाइल र रोच होल्डिङसको पनि सेयर मूल्य बढेको छ ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी अधिकारले चाइना मोबाइ न्युयोर्क स्टक एक्सचेन्जको सूचीकरणबाट हटाइएको थियो । सो कम्पनी अहिले संघाई स्टक एक्सचेन्जमा सूचीकृत छ ।
१०० औं स्थानमा रहेकामध्ये प्रविधि, खाद्यान्न, ऊर्जा, वित्त, उद्योग सञ्चार, हेल्थकेयर, युटिलिटीलगायत छन् । एप्पल एक्लैले सन् २०२० मा ७३ अर्ब डलर खर्च गरेको छ । यस्तै १४ अर्ब डलर सेयरधनीलाई लाभांश वितरण गरेको छ ।