काठमाडौं । नेपाल वायुसेवा निगमको अध्यक्ष पदबाट सुशील घिमिरेले राजीनामा दिएका छन् । अध्यक्षमा नियुक्त भएको १४ महिनामै उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगम सुधारका लागि सुझाव दिन बनाएको कार्यदलका संयोजक रहेका घिमिरेलाई मन्त्रिपरिषदले २०७७ वैशाख २ गते कार्यकारी अध्यक्षमा नियुक्त गरेका थिए । निगम सुधारका लागि बनाएको प्रतिवेदनअनुसार काम हुन नसकेपछि सोही मन्त्री भट्टराईले कार्यकारी अधिकारसहित महाप्रवन्धकमा डिमप्रकाश पौडेललाई नियुक्ति दिएका थिए ।
महाप्रवन्धकमा पौडेल आएपछि भने उनी अध्यक्षको भूमिकामा मात्र रहेका थिए । कार्यकारी भूमिकामा नरहेपछि निगमबाट टाढा हुँदै आएका अध्यक्ष घिमिरेले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियालाई राजीनामा बुझाएका हुन् । पर्यटन मन्त्रीलाई राजीनामा बुझाए पनि मन्त्रिपरिषद्बाट भने उनको राजीनामा स्वीकृत भएको छैन ।
पूर्वपर्यटन सचिवसमेत रहेका घिमिरेले बनाएको प्रतिवेदनमा निगमलाई प्रतिस्पर्धी बनाउन निजी साझेदारीमा लैजानु पर्ने, तत्कालै आन्तरिक एवं बाह्य उडानका लागि जहाजहरु थप्नुपर्ने लगायतका विषयहरु समावेश गरेका थिए ।
त्यति मात्र होइन, कार्यकारी अध्यक्ष भएलगत्तै उनले आन्तरिक उडानका लागि ५ वटा जहाज खरिद गर्न सरकारलाई बजेट माग्ने, सबै विदेशी पाइलटलाई हटाउने, सिनामंगलमा १५ तले व्यावसायिक भवन बनाउने, विदेशमा रहेका कर्मचारीको संख्या घटाउने लगायतका प्रतिबद्धताहरुसमेत जनाएका थिए ।
तर, उनले आफूले बनाएको प्रतिवेदन र गरेका प्रतिबद्धताहरु पूरा गर्न नसकेपछि राजीनामा दिएर बाहिरिएका हुन् । यस विषयमा उनीसँग थप बुझ्न खोज्दा फोन सम्पर्कमा आउन चाहेनन् ।