एजेन्सी । विकसित मुलुकका सर्वाधिक धनीहरुले पनि कर छली गरेको प्रतिवेदन सार्वजनिक भएको छ । नेपाललगायत अतिकम विकसित र विकासशील मुलुकहरुका उद्योगी व्यवसायीले कर छली गरेको समाचार आइरहँदा सबैभन्दा ठूला अर्थतन्त्र भएको अमेरिका जस्तो विकसित मुलुकका २५ जना सर्वाधिक खर्बपतिहरुले तुलनात्मक रुपमा कम कर तिरेको तथ्य सार्वजनिक भएको हो ।
एउटा समाचार साइटले अमेरिकी खर्बपतिहरुले कति कर तिर्छन् भन्ने दस्ताबेजको विवरण फेला पारेको दाबी गरेको छ । समाचार संगठन प्रोपब्लिकाका अनुसार अमेरिकाका सबैभन्दा धनी २५ जनाले तिर्ने औसत १५.८ प्रतिशत कुल आयकर धेरै अमेरिकी मूलधार कामदारले तिर्ने करको औसत प्रतिशतभन्दा कम छ ।
अमेरिकाका २५ धनी व्यक्तिको कुल सम्पत्ति ४ खर्ब १ डलरले वृद्धि हुँदा उनीहरूले सरकारलाई जम्मा साढे १३ अर्ब ६० करोड डलर मात्र आयकर तिरेका छन् । सम्पत्ति बढेपछि राज्यलाई धेरै कर बुझाउनु पर्ने हुन्छ ।
सरकारलाई कम कर बुझाउनेमा विश्वकै सर्वाधिक धनी अमेजन इंकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेफ बेजोस, दोस्रो धनी एलन मस्क, वारेन्ट वफेटलगायत २५ सर्वाधिक धनी व्यक्ति रहेका छन् । बेजोसको सम्पत्ति २ खर्ब डलर नजिक छ । यस्तै टेस्ला गाडी कम्पनीका मालिक मस्कको सम्पत्ति पनि १५० अर्ब डलर बढी छ ।
प्रोपब्लिकाले जेफ बेजोस, इलोन मस्क र वारेन बफेटसहित विश्वका सबैभन्दा धनी व्यक्तिहरूको कर तिरेको दस्ताबेज देखेको बताएको छ ।
वेबसाइटका अनुसार बेजोसले सन २००७ र २०११ मा एक पैसा पनि कर तिरेनन भने टेस्लाका मस्कले सन २०१८ मा कुनै कर तिरेनन् । अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआई) र कर निकायले अनुसन्धान सुरु गरेका छन ।
प्रोपब्लिकाले खर्बपतिहरूको करसम्बन्धी ठूलो तथ्याङ विश्लेषण गरेको र यसबारे थप विवरण आगामी साताहरूमा प्रकाशित गर्ने बताएको छ । प्रोपब्लिकाको समाचार अमेरिकामा धनीहरूले तिर्ने करको बारेमा भइरहेको वादविवादका बीच आएको हो । वेबसाइटका अनुसार गएका केही वर्षमा उनीहरुको सम्पत्तिमा उल्लेख्य वृद्धि भए पनि कानुनी रणनीतिहरू प्रयोग गरेर धेरै धनाढ्यहरूले आयकरबापत शून्य वा सो बराबर गर्न सफल भएका छन् ।
उनीहरूले अन्य नागरिकले जस्तै चन्दा दिएर र तलबबाट भन्दा पनि लगानीबाट पैसा कमाएको देखाएर आफ्नो आयकर कम गर्न सकेका हुन ।प्रोपब्लिकाले फोब्र्स पत्रिकाको तथ्याङक प्रयोग गरेर सन् २०१४ देखि सन् २०१८ मा ब्रेकसायर हाथवे कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वारेन्ट बफेटले २ करोड ३७ लाख डलर मात्र कर तिरेका छन् । त्यसबेला उनको सम्पत्ति २४ अर्ब ३० करोड डलर बढेको थियो ।
राष्ट्रपति जो बाइडनले समानता बढाउन र आफ्नो विशाल पूर्वाधार विकासको योजनाका लागि पैसा उठाउन धनी अमेरिकीहरूको करको दायरा बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले हालको करको संरचनामा परिवर्तन गरी सर्वाधिक आम्दानी गर्नेको करको दर ३७ प्रतिशतबाट बढाएर ३९.६ प्रतिशत पुर्याएका छन् । बाइडेनले वार्षिक ४ लाख डलर आम्दानी गर्नेलाई करको दर नबढाउने जानकारी गराएका छन् ।
उनले करको उच्च दर वृद्धि गर्ने, लगानीबाट हुने आम्दानीको कर दोब्बर गर्न र पैतृक सम्पतिको करका दरहरु फर्ने बताएका छन् । प्रोपब्लिकाले यी परिवर्तन गर्दा पनि केही बाहेक धेरै धनाढ्यले तिर्ने करमा खासै परिवर्तन नहुने बताएको छ ।
प्रोपब्लिकाले अर्का खर्बपति जर्ज सोरसले पनि कमै कर तिर्ने बताएका छन् । उनको कार्यालयले प्रतिक्रिया नदिए पनि एक विज्ञप्ति जारी गरी केही वर्ष लगानीमा घाटा भएका कारण सोरसले कर तिर्नु नपरेको बताएको छ ।उनले लामो समयदेखि अमेरिकाका धनी व्यक्तिहरूलाई उच्च कर हुनुपर्ने कुराको समर्थन गरेको पनि बताइएको छ ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार न्युयोर्कका पूर्वमेयर माइकल ब्लूमबर्गले सो खुलासाले व्यक्तिगत गोपनीयताको प्रश्न उठाएको र कानुनी बाटोबाट सो समाचारको स्रोत खोज्न प्रयास गर्ने बताएका छन्।
प्रोपब्लिकाले अमेरिकी कर निकायलाई दिइएको कम बजेटका कारण कर नियमहरू कडाइका साथ पालना गराउने कार्यालयको क्षमतामा कमी आएको समाचारहरू प्रकाशित गरेको थियो । सोही समाचारको प्रतिक्रियास्वरूप ती दस्ताबेज प्राप्त भएको जनाएको छ ।