काठमाडौं । लामो दूरीमा चल्ने सवारी साधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई जना चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।
विभागले मङ्गलबार एक सूचना जारी गर्दै प्रस्थान विन्दुबाट २५० किमी वा सो भन्दा बढी दूरीमा चल्ने सवारी साधनले अनिवार्य रुपमा दुई जना चालक नराखेको पाइए कारबाही गर्ने जनाएको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राखी प्रत्येक छ/छ घन्टामा पालैपाले सवारी चलाउनुपर्ने व्यवस्था छ ।
एउटै चालकले लामो दूरीमा सवारी हाक्दा थकानका कारण सवारी दुर्घटनाको दर बढेको विभागको भनाइ छ । विभागले लामो दूरीमा चल्ने यातायातको साधनमा दुई जना चालकको व्यवस्था गर्न सम्बन्धित सवारी धनीलाई समेत निर्देशन दिएको छ ।
विभागले मध्यम दूरीका चल्ने सवारी साधनले पनि प्रत्येक चार घन्टामा आधा घन्टा विश्राम लिनुपर्ने व्यवस्थालाई पनि कडाइ गर्ने जनाएको छ । ऐनमा चार घन्टाभन्दा बढीको दूरीमा चल्ने यात्रीवाहक सार्वजनिक सवारीले प्रत्येक चार घन्टामा आधा घन्टा विश्राम लिनुपर्ने व्यवस्था गरिएको छ ।
दुर्घटना न्यूनीकरण तथा यातयात व्यवस्थालाई भरपर्दाे बनाउने पर्याप्त कानून भए पनि कार्यान्वयन फितलो हुँदा सार्वजनिक सवारीमा यात्रा गर्ने नागरिकले अकालमा ज्यान गुमाउँदै आएका छन् ।
विशेषतः लामो दूरी तथा रात्रि सेवाका सवारी चालक यात्राकै क्रममा निदाउने, थकान तथा तोकिएको समयमै गन्तव्यमा पुग्नुपर्ने मानसिक तनावका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ । विभागले सार्वजनिक सवारीलाई सुरक्षित र व्यवस्थित बनाउन दिइएको निर्देशन कार्यान्वयन नगरेको पाइए सम्बन्धित यातायात धनीविरुद्ध कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
गत शुक्रबारमात्रै सर्लाहीको मलङ्गवाबाट काठमाडाैं आउँदै गरेको रात्रि बस पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा त्रिशूली नदीमा खस्दा ११ जनाको मृत्यु भएको थियो । सोही दुर्घटनामा परी एक बालकसहित २० जना बेपत्ता भएका थिए ।
बेपत्ताको खोजीमा पाँच जिल्ला परिचालन
सरकारी समाचार समिति राससका अनुसार सोही दुर्घटनामा परी बेपत्ता भएको यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी चार जिल्लालाई खोजी कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, पूर्वीनवलपरासी र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्लाका प्रहरी नदी किनारमा बेपत्ता यात्रुको खोजीमा लागेका छन् । खोजी कार्यलाई प्रभावकारी बनाउन यसरी सबै सुरक्षा निकायलाई समन्वय गरिएको हो ।
चितवनको कुरिनटारमा समन्वय बैठकमा दुर्घटनामा बेपत्ता यात्रुका आफन्तले बारम्बार भइरहने सवारी दुर्घटना कम गराउन सरकारले प्रभावकारी कार्य गर्न सकेको बताएका छन् ।
वर्षाको समय ठूलो बाढी आएकाले उद्धार र खोजी कार्यमा कठिनाइ भए पनि सुरक्षा निकाय निरन्तर सक्रियताका साथ काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए । गत शुक्रबार मलङ्गवामा चालकसहित ४५ यात्रु बोकेर काठमाडौँतर्फ आएको ना६ख ७४६९ नंको बस दुर्घटनामा परेका थियो ।