काठमाडौं । आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सन् २०१९ भित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने जानकारी दिएकी थिइन् ।
स्
स्वर्गीय पर्यटनमन्त्री रवीन्द्र अधिकारीले २०७६ सालको असारभित्रै विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । पूर्वपर्यटनमन्त्री योगेश भट्टराईले पनि एक वर्षे प्रमुख प्राथमिकताका कार्यक्रमहरू सार्वजनिक गर्दै डिसेम्बरभित्र सिभिल र मेकानिकल कार्य सम्पन्न गर्ने र अर्का ३ महिनाभित्र परीक्षण उडान गरी व्यावसायिक उडानको पूर्वतयारी गर्ने घोषणा गरे ।
तर, निर्वतमानमन्त्री भानुभक्त ढकाललाई भने नेपाल नागरिक उड्डयन मन्त्रालयका कर्मचारीहरूको कुरामा विश्वास लागेन र गौतमबुद्ध विमानस्थल सञ्चालनको मिति तोकेनन् । प्राधिकरणका कर्मचारीहरूको रिपोर्टिङलाई आधार मान्दै मिति तोक्दा राष्ट्र प्रमुखदेखि मन्त्रीहरूसमेत विवादको शिकार बनेको देखिन्छ । उनीहरूले पनि आयोजनाको वास्तविकता नबुझी प्राधिकरण भित्रका केही कर्मचारीहरूको भनाइलाई आधार बनाउँदा चौतर्फी आलोचितसमेत बनेका हुन् ।
छोटो समय मात्र मन्त्री बनेका ढकालले स्थलगत निरीक्षणका क्रममा गौतमबुद्धभन्दा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम सन्तोषजनक रहेको सचिवालयमा जानकारी गराएका थिए । त्यही भएर हुन सक्छ उनले गौतमबुद्ध विमानस्थलको काम कुन समयमा सकिन्छ भनेर प्रचार गर्न चाहेनन् ।
पटक–पटक निर्माण सम्पन्नको मिति तोक्दै आयोजनाको समय थप गर्दै आएका प्राधिकरणका कर्मचारीहरूलाई पछिल्लो दुई वर्षदेखि कोरोना भाइरस(कोभिड–१९)को असरलाई गतिलो बाहनाका रूपमा लिएका छन् ।
पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय र दातृ निकायहरूलाई कोभिडका कारण प्राविधिकहरू आउन नसकेको भन्दै काममा ढिलाइ भएको बाहना बनाउन सहज भएको छ । सन् २०१७ भित्रै सक्ने गरी सन् २०१४ मा सुरु गरिएको विमानस्थलको निर्माणको समय अवधि हालसम्म ५ पटक थपिएको छ ।
विमानस्थल निर्माण आयोजनाका प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले पछिल्लो पटक गत जनवरी(पुस २०७७)मा सकिएको विमानस्थल निर्माणको म्याद ६ महिनाका लागि थपिएको जानकारी गराएका थिए । थपिएको म्याद आगामी जुन ३० (असार १६ गते) सकिँदै छ ।
थपिएको म्याद सकिन एक महिना पनि बाँकी छैन । तर, आयोजनाको काम भने कहिले सकिने निश्चित नरहेको बताउँदै आएका छन् । आयोजना प्रमुखको भनाइलाई आधार मान्ने हो भने हालसम्म ९६.५० प्रतिशत काम सकिएको छ ।
आयोजनाको क्यालिब्रेसन फ्लाइटका लागि जहाज र प्राविधिक आउन नसक्दा परीक्षणको काम बाँकी रहेको बताउँदै आएका छन् । प्राविधिक र जहाज आउने समय निश्चित नभएकै कारण कहिले सकिन्छ भन्ने यकिन गर्न नसकिएको उनको भनाइ छ । आयोजनाको काम नसकिएपछि म्याद थपको विकल्प नभएको उनी बताउँछन् ।
विमानस्थलको आईसीभी १ का लागि भारतीय र चिनियाँ कामदार आउनुपर्ने हुन्छ भने आईसीभी २ को लागि थाइल्याण्डबाट प्राविधिक ल्याउनुपर्ने हुन्छ । आईसीभी १ अन्तर्गत टर्मिनल भवन र टावर कन्ट्रोल भवनमा उपकरण जडान गर्न र फिनिसिङको काम बाँकी छ । त्यस्तै आईसीभी २ अन्तर्गत विमानस्थलका लागि आवश्यक उपकरण जडानको काम बाँकी रहेको बताइएको छ ।
एसियाली विकास बैंक(एडीबी)को अनुदानसहित ६ अर्ब ८२ करोड लागतमा ७८७ बिघा क्षेत्रफलमा विमानस्थल निर्माण भइरहेको छ सरकारले आर्थिक वर्ष ०७७/०७८ को बजेटमार्फत विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन तथा दोस्रो टर्मिनल भवन र अन्य पूर्वधार निर्माण आरम्भ गर्न ३ अर्ब ५३ करोड विनियोजन गरेको छ ।