काठमाडौं । वायुसेवा सञ्चालक संघले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियालाई असार १ गतेबाट आन्तरिक उडान खोल्ने प्रस्ताव अघि सारेका छन् ।
मंगलबार संघले पत्रमार्फत ४० दिनभन्दा बढीदेखि हवाई उडान ठप्प हुँदा १०औं लाख कर्मचारी बेरोजगार भएको र उनीहरूमा आश्रित परिवारसमेत समस्यामा परेको भन्दै १ गतेबाट उडान सुचारु गर्न अनुरोध गरेका हुन् ।
संघका प्रथम उपाध्यक्ष अनोज रिमालले हालसम्म हवाई उडानमा यात्रा गरेका यात्रुहरूमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण नदिएको दाबी गर्दै सरकारले बनाएको प्रोटोकलअनुसार सेवा सञ्चालन गर्ने अनुमति दिनका लागि अनुरोध गरेका छन् ।
कोभिडविरुद्ध तालिम प्राप्त जनशक्ति तथा हरेक उडानपूर्व जहाजको संक्रमणरहित सरसफाइ, मास्क तथा फेसशिल्डको अनिवार्य प्रयोगले पहिलो र दोस्रो चरणको कोभिडको संक्रमणको बेलामा पनि हवाई यात्रुहरू सुरक्षित रहेको संघको दाबी छ ।
अन्तर्राष्ट्रिय अनुसन्धानले पनि हवाई यात्रा सबैभन्दा सुरक्षित तथा संक्रमणरहित देखाएको र लकडाउन(बन्दाबन्दी)को समयमा संसारका कुनै पनि देशमा आन्तरिक उडान नरोकिएको व्यहोरासमेत मन्त्री अरगरियालाई अवगत गराएका छन् ।
योसँगै पहिलो निषेधाज्ञा अवधिभरका लागि सरकारबाट प्राप्त सुविधाअनुसार यस दोस्रो लहरको निषेधाज्ञा अवधिभर ल्याण्डिङ पार्किङ तथा अन्य शुल्कहरूमा ७५ प्रतिशत छुट मिनाहका लागि समेत पर्यटन मन्त्रीलाई अनुरोध गरेका छन् ।
यस्तै नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा २० प्रतिशत छुट दिएको प्रति धन्यवाद दिँदै आन्तरिकतर्फ पनि न्यूनतम नाफा राखेर मूल्य घटाउन अनुरोध गरेका छन् । यसले सञ्चालन गर्न पसिन घट्ने र सर्वसाधारणले सुलभ दरमा हवाई यात्रा गर्न पाउने जनाएको छ ।