पोखराका दुई पर्यटन व्यवसायीले समस्यामा परेका १८ जना अपाङ्गता भएका व्यक्तिलाई घर–घरमा पुगेर तत्काल राहत सामग्री वितरण गरेका छन् ।
स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले अपाङ्गता भएकाहरुलाई तत्काल राहत सामग्रीको आवश्यकता भएको जानकारी गराए लगत्तै माउण्ट कैलाशका सञ्चालक नरेश भट्टरार्इ र प्याराडिसो स्पोर्टस् एण्ड र बारका सञ्चालक गोपीबहादुर भट्टराईले तत्काल खाद्यान्न सामग्री उपलब्ध गराएको केन्द्रका महासचिव अन्जना केसीले बताइन् ।
‘कोरोना महामारीका कारण अहिले निषेधाज्ञा जारी छ सीपमूलक कामबाट जीवन चलाइरहेका पनि अहिले काम गर्न पाएका छैनन्, त्यसैगरी अन्यत्र काम गरेर जीवन धान्दै आएका अपाङ्गता भएकाका परिवार पनि अहिले कामविहीन बनेका छन्, त्यसैले राहत आवश्यता पर्यो,’ केसीले भने ।
‘हामीलाई राहतको आवश्यकता भएको भनेर जो जोले नाम टिपाउनु भयो उहाँहरुको अवस्था हेरेर सहयोगको अपिल गरेका थियौ, पर्यटन व्यवसायीबाट तत्काल सहयोग मिल्यो ।’
पर्यटन व्यवसायी नरेश भटटराईले यो महामारीमा धेरैलाई समस्या भएको र त्यसमा पनि अपाङ्गता भएकाहरुको अवस्था झनै कष्टकर रहेको खबर पाएपछि सहयोग गरिएको जानकारी दिए । उनका अनुसार केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङको समन्वयमा तुरुन्तै लिन आउन असहज भएकालाई राहत सामग्री घरघरमा नै पुर्याउन व्यवस्था गरिएको थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष समेत रहेका अर्का व्यवसायी गोपीबहादुर भट्टराईले असहज अवस्थमा मानवीय सेवानै धर्म भएकाले सहयोग गरेको बताए । उनले तत्कालको आवश्यकतालाई हेरेर प्रत्येक ब्यक्तिलाई २५ सय बराबरको १८ जनालाई खाद्यान्न साम्रगी वितरण गरिएको जानकारी दिए ।
केन्द्रक अध्यक्ष हेमबहादुर गुरुङले अपाङ्गता भएका व्यक्तिका समस्यालाई तत्काल सम्बोधन गरेर घर–घरमै राहत सामग्री पुर्याउन पहल गरेकोमा व्यवसायीद्वयलाई धन्यवाद दिदै राज्यबाट पनि यस क्षेत्रका व्यक्तिको समस्यालाई तत्काल सम्बोधन गर्न आग्रह गरे ।