काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीलाई सरकारमा ल्याउन शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। पुनर्गठित मन्त्रिपरिषदमा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री छन्।
विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बनेका छन्। उनीहरूले आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन ।
त्यस्तै बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायत, कृष्णगोपाल श्रेष्ठ शिक्षा र लीलानाथ श्रेष्ठ कानुनमन्त्रीका रुपमा यथावत छन् । शेरबहादुर तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसपाबाट महतोबाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।
यो पनि हेर्नुहोस
पुनर्गठित मन्त्रिपरिषदमा को(को परे ? (सूचीसहित)
शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाइ, अनिल झा खानेपानी तथा सरसफाइ, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन्।
यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री भएका छन्।
यस्तै चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्यमन्त्री बनेका छन्। नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति विद्या देवी भण्डारीबाट पद तथा गोपनियताको शपथ लिएका छन्।
प्रधानमन्त्री ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैंसँग राख्ने भएका छन्।