काठमाडौं । किसानले चिनी मिलमा उखु बिक्री गरेको १५ दिनभित्र अनुदानको रकम पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा उखु बिक्री भएको १५ दिनभित्र किसानलाई अनुदान रकम उपलब्ध गराउने जनाएसँगै किसानले रकम पाउने भएका हुन् ।
सरकारले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४५ अर्ब ९ करोड बजेट छुट्याएको छ । त्यसमध्ये ८४ करोड रुपैयाँ उखु किसानलाई अनुदान दिने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।
उखु किसान संघका अध्यक्ष कपिलमणि मैनलीका अनुसार, चिनी मिलहरूले यो वर्ष सबै रमक भुक्तानी गरिसकेका छन् । अध्यक्ष मैनालीले भने, ‘यसपालि चिनी उद्योगसँग किसानको गुनासो केही छैन, सबै रकम भुक्तानी गरेका छन् ।’
यस वर्ष सरकारले गरेको निर्णय उखु किसानका लागि उचित रहेको समेत उनले बताए । ‘१५ दिनभित्र अनुदान पाउने सरकारले घोषण गरेपछि हामीलाई खुसी लागेको छ । सरकारले हाम्रै पक्षमा निर्णय गरेको जस्तो अनुभव भएको छ ।’ उनले भने, ‘दैनिक गुजारा गर्न पनि सहज हुन्छ । साथै सरकारले तोकेकै समयमा अनुदान पायौं भने धेरै राहत महसुस हुन्छ ।’
हाल उखु किसानले प्रतिक्वीन्टल ६५ रुपैयाँ अनुदान पाउने गरेका छन् । यो मूल्य विगत ४–५ वर्षदेखि कायम रहेको छ । तर, चिनीको मूल्य वृद्धि भए पनि अनुदान रकम यथावत रहेकोमा किसानले गुनासको गरेका छन् ।
पछिल्लो समय उखु प्रतिकिसानको आकर्षण घटिरहेका बेला सरकारले आव २०७८/७९ को बजेटमा गरेको निर्णयले सकारात्मक सन्देश दिएको किसानको भनाइ छ ।