काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै हवाई इन्धन भण्डारणका लागि जग्गा दिने भएको छ । इन्धन भण्डारणका लागि जग्गा दिन प्राधिकरण तयार भएसँगै हवाई इन्धनको मूल्य ३७ प्रतिशतसम्म घटाउने तयारी भइरहेको छ ।
बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, प्राधिकरणका महानिर्देशक राजन पोखरेल र नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलसहितको छलफलमा हवाई इन्धनको मूल्य तत्कालै घटाउन निर्देशन दिएका हुन् ।
यो पनि पढ्नुस्इन्धनमै अधिक नाफाले महँगो अन्तर्राष्ट्रिय हवाई भाडा
छलफलमा निगमका कार्यकारी निर्देशक पौडेलले हवाई इन्धनको भण्डारण केन्द्र नभएकै कारण मूल्य बढेको बताएका थिए । उनले लामो समयदेखि प्राधिकरणसँग विमानस्थल भित्रै इन्धन भण्डारण केन्द्र विस्तारका लागि जग्गा माग गरे पनि हालसम्म नपाएको बताएका थिए ।
कार्यकारी निर्देशक पौडेलले इन्धन भण्डारण केन्द्र बनाउन प्राधिकरणले आवश्यक जग्गा दिने ग्यारेन्टी गरेमा आफूहरु मूल्य घटाउन तयार रहेको बताएका थिए । पौडेलको प्रस्तावपछि पर्यटनमन्त्री ढकालले प्राधिकरणका महानिर्देशक पोखरेललाई आवश्यक जग्गा उपलब्ध गराउन निर्देशन दिएका छन् ।
महानिर्देशक पोखरेलले निगमले कति जग्गा चाहिने हो त्यसको प्रस्ताव तत्कालै ल्याउन भन्दै विमानस्थलको गुरुयोजनाअनुसार संरचना बनाउन जग्गा दिन तयार रहेको बताएका थिए ।
प्राधिकरणले जग्गा दिने भएपछि सम्भवतः शुक्रबार नै निगमले हवाई इन्धनको मूल्य घटाउनेछ । मन्त्रालय स्रोतका अनुसार ३७ प्रतिशतसम्म हवाई इन्धनको मूल्य घटाउने विषयमा छलफल भएको छ ।
लामो समयदेखि हवाई इन्धनको मूल्यमा अधिक नाफा लिएको भन्दै निगमको चर्को विरोध भइरहेको थियो । यसअघि पनि पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले हवाई इन्धनको मूल्य चर्को भएको भन्दै सरोकारवाला निकायहरुलाई घटाउनका लागि निर्देशन दिएका थिए ।
तर, उनको निर्देशनलाई पालना भएको थिएन । प्राधिकरणले मन्त्रालयमा बुझाएको प्रतिवेदनमा पनि हवाई इन्धनमा धेरै नाफा भएकै कारण हवाई भाडा महँगो भएको उल्लेख थियो ।
यो पनि पढ्नुस् हवाई ईन्धन महंगो भएको पर्यटनकाे ठहर ,नाफा घटाउन वाणिज्यलाई प्रस्ताव
निगमले हवाई इन्धनमा आन्तरिकतर्फ करिब १० रुपैयाँ ४६ पैसा र अन्तर्राष्ट्रियतर्फ ४० रुपैयाँभन्दा बढी नाफा लिइरहेको छ ।
निगमका कार्यकारी निर्देशक पौडेलले भण्डारण केन्द्र नभएकै कारण बढी मूल्य लिनु परेको बताए ।
प्राधिकरणले भण्डारण केन्द्र बनाउन जग्गा दिए तत्कालै मूल्य घटाउन तयार रहेको बताए । तथापी, कति रुपैयाँसम्म घट्ने विषय भने बोर्ड बैठकले मात्र निर्णय गर्ने भएकाले आफूले अहिले नै बोल्न नसक्ने बताए ।
विमानस्थलले जग्गा उपलब्ध गराउने बित्तिकै डेढ वर्षभित्र भण्डारण केन्द्र बनाउन सकिने निर्देशक पौडेलको भनाइ छ । नयाँ भण्डारण केन्द्र बनाउँदा १६ हजार किलो लिटर इन्धन भण्डारण गर्न सकिनेछ । अहिले हवाई इन्धनको मूल्य आन्तरिकतर्फ ७८ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ८९३ केएल तोकिएको छ ।