काठमाडौं । देशका विभिन्न ११ ओटा धार्मिक तथा पर्यटकीय स्थलहरुमा वाईफाई सेवा यसै आर्थिक वर्षभित्र पुर्याउने नेपाल दूरसञ्चार प्राधिकरणले बताएको छ । सेवाका लागि हाल प्राधिकरणले ती क्षेत्रमा पूर्वसम्भाव्यता अध्ययन गरिरहेको छ । सो परियोजनामा ३ करोड रुपैयाँ खर्च हुने प्राधिकरणले बताएको छ ।
हाल ती क्षेत्रहरुमा म्याक्स टेक स्टडी एन्ड सर्भिसले सर्वेक्षण अध्ययन गरिरहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताएका छन् ।
सगरमाथा आधार शिविर, अन्नपूर्ण सर्किट, लुम्बिनी परिसर, जानकी मन्दिर परिसर, पाथिभरा, हलेसी, स्वर्गद्वारी, बराह क्षेत्र, मुक्तिनाथ, जामे मस्जिद काठमाडौं र गुरुद्वारामा वाईफाई सेवा चालू आवभित्र पुर्याइ सकिने प्राधिकरणको भनाइ छ ।
ती क्षेत्रमा पुर्याइने वाईफाई सेवा सशूल्क वा निःशूल्क हुने निश्चित नभइसकेको प्रवक्ता अर्यालले बताए ।
वाईफाई सेवाका लागि हाल सर्वेक्षण, डिजाइनिङ र बिड डक्युमेन्ट बनाउने काम भइरहेको प्रवक्ता अर्यालले बताए । ‘त्यस क्षेत्रमा सर्वेक्षण तथा सीएसएसपीएन गर्नुपर्यो, प्राविधिक उपकरण के के चाहिने र बिजनेस मोडल कस्तो हुने भन्ने कुराहरुको सर्वेक्षण गर्दै छौं ।’
उनले सर्वेक्षणको काम सम्पन्न हुन लागेको र त्यसको प्रतिवेदनका आधारमा काम गर्ने बताए । यसै वर्ष बोलपत्र आह्वान गरेर सेवाप्रदायकबाट काम सम्पन्न गराउने उनले जानकारी दिए ।