काठमाडौं । प्लास्टिकजन्य उद्योगमा ख्याति कमाएको हिल्टेक ग्रुपले लगानी विविधिकरण गरेको छ । ग्रुपले अहिले भक्तपुरको साँगामा चारतारे होटलसँगै ‘डेस्टिनेसन वेडिङ’ बनाइरहेको छ ।
आफ्नो सहर वा देशभन्दा बाहिर कुनै निश्चित स्थानमा गएर विवाह गर्ने प्रचलन बढिरहेको बेला साँगालाई त्यसका लागि उपयुक्त गन्तव्यको रुपमा विस्तार गर्ने सोचका साथ ‘डेस्टिनेसन वेडिङ’ बनाउन लागिएको ग्रुपका अध्यक्ष कमल जैनले बताए ।
आन्तरिक एवं बाह्य पर्यटकहरुलाई लक्षित गरेर वेडिङ डेस्टिनेसन बनाउन लागिएको अध्यक्ष जैनको भनाइ छ । काठमाडौंका धेरै व्यवसायीहरुले आफ्ना छोरा, छोरीको विवाह बाहिर मुलुकमा वा पर्यटकीय गन्तव्यहरुमा पुगेर गर्न थालेका छन् ।
विदेशमा त यो प्रचलन धेरै पहिला देखिनै सुरु भएको हो । विदेशबाट नेपालमै विवाहका लागि पनि धेरै आउने गरेका छन् । अहिले नेपालका हायात होटल र सोल्टी होटलमा विदेशीहरु विवाहका लागि आउने गरेका छन् ।
बाहिर विवाह गर्ने प्रचलन बढ्दै गएको छ । ‘नयाँ-नयाँ ठाउँमा गएर विवाह गर्नेहरुको संख्या बढिरहेको छ, ग्रुपका अध्यक्ष जैनले भने, त्यसलाई मध्यनजर गरी आफूले पनि डेस्टिनेसन वेडिङको रुपमा साँगालाई विस्तार गर्न लागेको हो’ ।
विशेष गरेर भारतीय पर्यटकहरुलाई लक्षित गरी पूर्वधार विकास गरिएको उनको भनाइ छ । भारतबाट नजिकको गन्तव्य, भिसाको झनझट नहुने र यहाँको वातावरण पनि उनीहरुले धेरै मनपराउने गरेका छन् ।
नेपालमा विवाहका लागि उत्तरप्रदेश, विहार, पश्चि बंगाल, उत्तर बंगालका मानिसहरुलाई यहाँ आउन सहज हुने बताउँछन् । ‘अहिले त्यहाँका लागि यो कल्चर निकै प्रख्यात छ, त्यही भएर पनि नेपालले त्यसको फाइदा सहजै लिन सकिन्छ ’,उनले भने ।
७५ रोपनी क्षेत्रफलमा महादेवको पूर्ण कदको मूर्तिसहित होटल, बैंक्यूट फैलिएको छ । ‘म आफैले पनि दुई/तीन जना साथीहरुको छोरा छोरीको विवाह नेपालमा गराइसकेको छु,’ अध्यक्ष जैनले भने ‘जहाजमा आउने र तीन/चार दिन बसेर विवाह गरेर जाने गरेका छन्’ ।
दुवै पक्षका परिवार तीन दिनसम्म एकै ठाउँ बस्दा पारिवारिक सम्बन्ध पनि राम्रो हुने भएकाले पनि दुवै परिवार एकै ठाउँमा बसेर विवाह गर्ने प्रचलन बढेको देखिन्छ ।
आफ्ना छोरा, छोरीको विवाहका लागि धेरै रकमहरु खर्च गर्छन । विशेष गरेर मारवाडी समुदायमा अर्को मुलुक वा नयाँ गन्तव्यमा गएर विवाह गर्ने चलन धेरै बढेकोले त्यस किसिमका ग्राहकहरुलाई लक्षित गरि सञ्चालनमा ल्याउन लागिएको उनको भनाइ छ ।
विशेष गरी मारवाडी समुदायमा बाहिरी मुलुकमा गएर विवाह गर्ने प्रचलन स्थापितनै भइसकेको छ । उनीहरुले विवाहमा १० लाखदेखि २ करोड रुपैयाँसम्म खर्च गर्छन् । त्यसका लागि नेपालका होटलहरुले उपयुक्त वातावरण बनाएर त्यस्ता वेडिङ पर्यटकहरुलाई आकर्षण गर्न जरुरी रहेको उनको भनाइ छ ।
हिल्टेक ब्रान्डमा प्लास्टिकको ट्यांकी, पाइप, एयर कन्डिसनर र ग्यास गिजरका उद्योग सञ्चालन गर्दै आएको ग्रुपले २०६७ साल असारमा सोही ठाउँमा विश्वकै अग्लो महादेवको मूर्ति स्थापना गरेका थिए ।
मूर्ति नजिकै ‘वेल्नेस रिसोर्ट’ पनि सञ्चालनमा रहेको थियो । सोही रिसोर्टलाई स्तरउन्नति गरेर अहिले चार तारे होटलको लागि पूर्वधारहरु निर्माण गरिरहेका छन् ।
होटलको स्तरउन्नति र बैंक्यूट निर्माणका लागि थप १० करोड रुपैयाँभन्दा बढी लगानी विस्तार गरिरहेको बताइएको छ । अहिले सो होटलमा ४० वटा कोठा रहेकोमा त्यसलाई बढाएर ६५ वटा बनाउन लागिएको छ । अहिले होटलको भित्री कामहरु भइरहेको र करिब ६ महिना भित्रमा सञ्चालन योग्य हुने बताइएको छ ।