काठमाडौं । गत वर्ष पर्यटकीय सिजनमै लकडाउन(बन्दाबन्दी) भएपछि करिब ८ महिना ग्राउण्डेड भएका हेलिकप्टर व्यवसाय यो वर्ष भने केही चलायमान भयो । अर्थात, यो वर्ष निषेधाज्ञा जारी भए पनि हेलिकप्टरहरूलाई भने केही सहज (कम्फर्ट) नै भयो ।
निषेधाज्ञा जारी भएसँगै केही कम्पनीका हेलिकप्टरहरूले कोरोना भाइरस (कोभिड–१९) का बिरामी र केहीले हिमाल आरोहणमा जानेहरूको उद्धारमा लागे । जसको कारण ती कम्पनीका हेलिकप्टरहरू ग्राण्डेड हुनु परेन । केहीले कार्गो ढुवानी समेत गरेका छन् ।
कोभिडको संक्रमण उच्च हुँदा हेलिकप्टरहरूलाई बिरामी उद्धार गर्न भ्याइनभ्याइ समेत भयो । करिब १५ दिन हेलिकप्टरले सबैभन्दा बढी कोभिडका बिरामीहरू उद्धार गरे । अहिले पनि दैनिक रूपमा हेलिकप्टरहरूले बिरामीको उद्धार गर्दै आएका छन् ।
यस्तै सगरमाथा हिमाल आरोहण गरेर फर्किएकाहरूको उद्धारमा पनि हेलिकप्टरहरू प्रयोगमा आए । गत वर्ष हिमाल आरोहणमा समेत रोक लगाइएको थियो ।
तर, यो वर्ष हिमाल आरोहणका लागि अनुमति दिइएकाले पनि हेलिकप्टरको बिजनेसमा केही राहत पुगेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलको भनाइ छ ।
निषेधाज्ञाकै बीचमा हिमाल आरोही र कोभिडका बिरामीहरूको उद्धार गरी हेलिकप्टर कम्पनीहरूले १२ देखि १४ करोड रुपैयाँसम्मको बिजनेस गरेको संघको ठम्याई छ ।
गत वर्ष शुन्य रहेको हेलिकप्टरको बिजनेस यो वर्ष केही मात्रामा भए पनि कम्फर्ट भएको संघको ठहर । अब विस्तारै निषेधाज्ञा खुकुलो हुँदै जाने र अवस्था सामान्य भयो भने हेलिकप्टरलाई सहजै हुने प्रवक्ता कडेलको विश्वास छ ।
एक वा दुईवटा हेलिकप्टर रहेको कम्पनीहरूलाई सहज भएको छ भने त्योभन्दा बढी हेलिकप्टर रहेका कम्पनीहरूलाई भने अहिलेको यो उद्धारले पनि सहज नभएको व्यवसायीहरूको भनाइ छ ।
अल्टिच्युड एयरका अध्यक्ष निमानुरु शेर्पाले पनि यो वर्ष हेलिकप्टरले केही मात्रामा भए पनि बिजनेस गरेको बताए । ‘गत वर्ष शुन्यमा रहेको हेलिकप्टरको कमाई यो वर्ष अलिकति भए पनि भएको छ, यसले कर्मचारीको तलब र किस्ता तिर्नलाई केही राहत पुगेको छ,’ अध्यक्ष शेर्पाले भने ।
कैलाश हेलिकप्टर प्रालिका प्रवन्ध निर्देशक प्रतापजंग पाण्डेले कोभिडका बिरामी र हिमाल आरोहणमा रहेकाहरूको उद्धारले केही मात्रामा सहज भएको बताउँछन् ।
‘गत वर्षको बन्दाबन्दीमा ८ महिना ग्राउडेड भएको हेलिकप्टर यो वर्ष भने तीन महिना मात्र बन्द गर्नुपर्ने अवस्था आएको छ, प्रवन्ध निर्देशक पाण्डेले भने, यसलाई सकारात्मक रूपमा लिनुपर्छ ’।
हेलिकप्टर कम्पनीहरूको सिजन अब केही महिनाको लागि सकिँदै छ । वर्षायाम सुरु भएसँगै पर्यटकहरू नआउने र केही उद्धार उडान बाहेक अरू नहुने भएकाले अबको महिनालाई ‘अफ सिजनको’ रूपमा लिँदै आएका छन् ।
हेलि एभरेष्टका प्रबन्ध निर्देशक फुर गेल्जे शेर्पाले यो वर्षको निषेधाज्ञामा पनि केही चलायमान भएको बताउँछन् । नाफामूलक व्यापार नभए पनि चलायमान हुनलाई केही राहत दिएको उनको भनाइ छ ।
फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार कार्कीले पनि कोभिडका बिरामीको उद्धार र हिमाल आरोहणमा आएकाहरूको उद्धारले गर्दा हेलिकप्टर व्यवसाय केही मात्रामा चलायमान भएको बताउँछन् । अहिले फिस्टेलले पनि कोभिडका बिरामीको उद्धार गर्न सुरु गरेको छ ।