काठमाडौं । ताप्लेजुङमा रहेको सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थलको रूपमा नामाकरण गरिएपछि विवाद सुरु भएको छ । सुकेटार विमानस्थलको नाम एक्कासि परिवर्तन गरेको भन्दै पूर्व पर्यटनमन्त्री एवं एमाले नेता योगेश भट्टराईले सामाजिक सञ्जालमाफर्त असन्तुष्टि जनाएका छन् ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी विमानस्थल र चुहानडाँडा विमानस्थललाई आङछिरिङ शेर्पा विमानस्थल नामाकरण गरिने जानकारी दिएका थिए ।
२०७५ साल फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री अधिकारी र यती ग्रुपका अध्यक्षको नाममा दुईवटा विमानस्थललाई नामाकरण गरिएको थियो । तीमध्ये सुकेटार विमानस्थलको नाम परिवर्तनको विषयमा भने त्यहाँका स्थानीयहरूले विरोध जनाउन सुरु गरेका हुन् ।
पूर्व पर्यटनमन्त्री एवं अधिकारीका समकालीन नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ऐतिहासिक रूपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरूको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा व्यापक छलफल र विमर्स गरी सहमति निर्माण गर्नुपर्छ ।
यसरी मात्र सहभागितामूलक लोकतन्त्र बलियो हुनसक्छ । असल काम पनि असल नियत र सही प्रक्रियाबाट गरियो भने मात्र सही परिणाममा पुग्न सकिन्छ । अन्यथा विवाद, विभाजन र अनावश्यक तनाब मात्र झेल्नुपर्छ ।’
उनीसँगै नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष वलबहादुर तामाङले पनि विमानस्थलको नामाकरण आफूहरूलाई मान्य नहुने बताएका छन् । यस्तै पत्रकार पिताम्बर सिग्देलले पनि ऐतिहासिक नाम सुकेटारलाई हटाएर अर्को नाम राखेको प्रतिविरोध जनाएका छन् ।
उनीहरूले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई नै रवीन्द्र अधिकारी विमानस्थलको रूपमा नामाकरण गर्दा उनको सम्मान धेरै हुने सुझावसमेत दिएका छन् ।
यता प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङछिरिङ शेर्पा विमानस्थल नामाकरण गरिने विषयमा भने सबैले समर्थन गरेका छन् । अहिलेसम्म सो नाममा विरोध गरेको पाइएको छैन ।
पर्यटनमन्त्री अधिकारी र पर्यटन व्यवसायी शेर्पाको तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण गरेर फर्कने क्रममा ताप्लेजुङको पाथिभरा क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परी ज्यान गुमेको थियो ।