काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानलाई लक्ष्य गरी दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ ‘प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टर’द्वारा आयोजित मानव संशाधन तथा जनशक्ति विकास तालीम आइतबार सम्पन्न भएको छ ।
नेपाल पर्यटन बोर्डको सहयोगमा पाटाले शुक्रबारदेखि कास्कीको पोखरामा सञ्चालन गरेको उक्त तालीममा ६६ जनाको सहभागिता रहेको सो संस्थाद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । सहभागीलाई थाइल्यान्डस्थित ‘विनिङ्ग एड्ज’का प्रबन्ध निर्देशक डा बर्ट भान वालबिकले प्रशिक्षण दिएका थिए ।
‘माइस टुरिज्म’ तथा ‘स्पेशल इन्ट्रेस्ट टुरिज्म’ को प्रवद्र्धन तथा बिक्रीसम्बन्धी आवश्यक जागरुकता, ज्ञान, सीप र क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ आयोजित कार्यक्रममा सहभागीलाई पर्यटकको आवश्यकता र बजारक्षेत्र अनुरुप ‘प्याकेज’ निर्माण, ‘प्रोडक्ट’ एवं गन्तव्यको दिगो प्रवद्र्धन तथा बिक्री गर्न सहभागी स्वयम आफैले कार्यान्वयन गराउने र नतिजा मूल्याङ्कन गर्न सक्ने आवश्यक विधि, उपकरण र रणनितीलगायत विषयमा जानकारी गराइएको थियो ।
प्रशिक्षक डा भानले नेपाल गन्तव्य प्रवद्र्धनका निम्ति सबै एकीकृत भई अघि बढेमा भ्रमण वर्षले अपेक्षित उपलब्धि प्राप्त गर्नसक्ने धारणा राखेका थिए । कुनै पनि पर्यटक होटल, एयरलाइन्स, रेस्टुरेण्ट, ट्राभल एजेन्सी वा अन्य कुनै सेवा प्रदायकद्वारा नभई उसले गन्तव्यको यात्रा आफै निर्धारण गर्न सक्ने उनले बताए।
पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले ‘द आर्ट अफ सेलिङ्ग डेस्टिनेशन’ तालिम कार्यक्रमका सहभागीलाई आ–आफ्नो उत्पादन तथा सेवाको प्रवद्र्धन तथा बजारीकरणलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।
सरकारले भ्रमण वर्ष अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सफल पार्न पर्यटकीय पूर्वाधारसँगै जनशक्ति आवश्यक भएको होटल एशोसिएशन अफ नेपाल (हान)ले जनाएको छ । रासस