काठमाडौं । वित्तीय अवस्थामा घाटा खाइरहेको नेपाल वायु सेवा निगममा रणनीतिक साझेदार ल्याउने अन्तिम तयारी भइरहेका बेला निगमका कार्यकारी अध्यक्ष मदन खरेललाई पदबाट हटाउने तयारी भएको छ ।
२०७५ भदौ ३१ गते निगमको अध्यक्षमा नियुक्त भएका खरेललाई ११ महिनापछि हटाउन लबिङसमेत सुरु भएको हो । खरेल अहिले गत शुक्रबारदेखि एक साताका लागि बिदामा बसेका छन् ।
खरेल प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा अध्यक्षमा नियुक्त भएका थिए । प्रधानमन्त्रीको विश्वासपात्रका रुपमा मानिएका खरेल प्रधानमन्त्रीकै गृहजिल्ला झापा निवासी हुन् । अध्यक्षमा नियुक्तिकै बेला जिल्लाबासीलाई च्यापेको भन्दै प्रधानमन्त्री ओलीको आलोचनासमेत भएको थियो ।
नेपाल एयरलाइन्सलाई नयाँ धारमा लैजान योजना बनाइरहेको बेला अध्यक्षलाई हटाउन लागिएको भन्दै निगमका केही कर्मचारी रुष्ट भएका छन् ।
निगमको अध्यक्षका लागि तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकार, क्याप्टेन केबी लिम्बु, पूर्वमहाप्रबन्धक बालकृष्ण (बीके)मान सिंह र हाल विज्ञका रुपमा नियुक्त भएका राजुबहादुर केसीले दौडधुप सुरु गरिरहेका छन् । तीमध्ये कंसाकार र सिंह पूर्व माओवादी निकट हुन् भने लिम्बु पूर्व एमाले र केसी भने तटस्थ देखिन्छन् ।
अध्यक्ष बन्न दौडधुप गरेका आकाङ्क्षीहरुले नै खरेलका बारे पर्यटनमन्त्रीलाई ब्रिफिङ गरिरहेको निगम स्रोतले क्यापिटल नेपाललाई जानकारी दियो ।
अध्यक्षमा नियुक्त भएको केही महिनाभित्रै खरेलले निगमको स्वेतपत्र जारी गरेका थिए । स्वेतपत्रमा खरेलले निगमको अवस्थालाई सार्वजनिक गरेका थिए । उनले निगम सुधारका लागि हालको अवस्था यस्तो छ, र आगामी दिनमा यस्ता किसिमका काम गर्ने भनेर सार्वजनिक गरेका थिए ।
अहिले निगमको किस्ता नियमित तिर्न नसकेको, वाइडबडी जहाजले लामो दुरीमा उडान गर्न नसकेको र आन्तरिक उडानलाई प्रभावकारी बनाउन नसकेको आरोप खरेलमाथि छ । यी तीन ओटै विषय आफू अध्यक्ष भएर आउनुअघि नै निगममा समस्याका रुपमा देखिएको खरेल बताउँछन् ।
‘वाइडबडी जहाजको बिजनेस प्लान नै नबनाएर जहाज खरिद गरिएको थियो,’ उनले भने, ‘जब जहाज नै उड्दैनन्, आम्दानी हुँदैन, त्यसैले पनि किस्ता तिर्न समस्या भएको हो ।’