काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रणनीतिक पूर्वाधारहरूको क्षेत्रमा इतिहासमै धेरै उपलब्धि हासिल भएको बताएका छन् । शुक्रबार देशवासीको नाममा सम्बोधन गर्दै सडक, मोटर र झोलुङ्गे पुल, तुइन विस्थापनलगायत क्षेत्रमा भइरहेका प्रगतिले इतिहासमै धेरै उपलब्धि हासिल गरेको उनले दाबी गरेका हुन् र
कुल रणनीतिक सडकमध्ये १७.१ प्रतिशत सडक विगत तीन वर्षमा मात्र निर्माण भएको र तीन वर्षमा सम्पन्न गर्ने गरी १ सय ६५ वटै निर्वाचन क्षेत्रमा एक÷एक रणनीतिक सडक र स्थानीय तहहरूलाई एक आपसमा जोड्ने, सबै स्थानीय तहका केन्द्रदेखि प्रदेश राजधानी जोड्ने सडकको निर्माण सुरु भएको उल्लेख गरेका छन् । यसले सबै पालिका र क्षेत्रहरूमा यिनको दूरगामी सकारात्मक प्रभाव पर्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।
तीव्र रूपमा निर्माण भइरहेको काठमाडौं तराई द्रत मार्गले केही वर्षभित्रै परिणाम दिनेछ । विस्तार भइरहेको पूर्व–पश्चिम राजमार्ग, निर्माण सम्पन्न हुन थालेको पुष्पलाल लोकमार्ग र निर्माणाधीन मदन–भण्डारी राष्ट्रिय राजमार्गले अर्थतन्त्र र सामाजिक जीवनलाई थप गतिशील बनाउने बताएका छन् ।
योसँगै बहुप्रतिक्षित हुलाकी राजमार्गका महत्वपूर्ण खण्ड सम्पन्न भएसँगै तराईमा विकासका सम्भावना थपिएको उनको भनाइ छ । भैरहवा र पोखरामा निर्माण सम्पन्न हुने चरणमा पुगेका अन्तर्राष्ट्रिय विमानस्थलहरूले पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान गर्ने बताइएको छ ।
गोदावरीमा ३ हजार र लुम्बिनीमा ५ हजार क्षमताका सभाहल निर्माण भएको र जयनगर जनकपुर कुर्था रेल छिट्टै सञ्चालनमा आउने उनले बताए । नागढुङ्गा सुरुङ मार्ग निर्माण तीव्र रफ्तारमा अगाडि बढेको छ भने सिद्धबाबामा सुरुङ निर्माणका लागि बोलपत्र आह्वान भएको जनाएको छ ।
सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले चिरप्रतिक्षित मेलम्चीको पानी काठमाडौंमा अवतरणसँगै काठमाडौंवासीका पानीको तिर्खा मेटिएको बताउँदै छिट्टै याङ्ग्री र लार्केको पानी मेलम्चीमा सामेल गरेर खानेपानीको समस्याको दिगो समाधान गर्ने प्रयास अगाडि बढेको बताएका छन् । संघ, प्रदेश र स्थानीय तहको समन्वयबाट कुल जनसंख्याको ९२ प्रतिशतलाई आधारभूत खानेपानी सुविधा उपलब्ध गराउन सफल भएको जानकारी दिएका छन् ।
यस्तै भेरी बबई डाइभर्सनको सुरुङको काम सम्पन्न भएर सिँचाइ पूर्वाधारका काम सुरु भएका छन भने सुनकोसी मरिन डाइभर्सनको काम सुरु भएको बताएका छन् । ‘यी दुई ‘गेमचेञ्जर’ परियोजनाले तराईबासीहरूका वर्षौं पुराना सपनालाई पूरा गर्दै हामीलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन योगदान गर्नेछन्’, प्रधानमन्त्री ओलीले भने ।
‘भूकम्पपछिको पुनर्निर्माणलाई हामीले उदाहरणीय रूपमा सम्पन्न गरेका छौं, प्रधानमन्त्री ओलीले भने, भूकम्पका कारण बेघरबार बनेका ८ लाखभन्दा बढी परिवार सुरक्षित घरमा फर्किन थाल्नुभएको छ, विद्यालय भवन, स्वास्थ्य संस्थाहरू र सरकारी कार्यालयहरूको पुनर्निर्माण तीव्र रफ्तारमा अगाडि बढेको छ’ ।
पुनर्निर्माण सामथ्र्यको प्रतीक बनेर धरहरा, रानीपोखरी र दरबार हाइस्कुल राजधानीको मुटुमा स्थापित भएको उल्लेख गरेका छन् । हरेक नेपाली व्यवस्थित ओत भएको सुरक्षित घरमा बस्न पाउनुपर्छ भन्ने सरकारको प्रतिबद्धता अनुरूप तीन वर्षको अवधिमा १३ हजारभन्दा बढी जनता आवास निर्माण भएको उल्लेख गरेका छन् ।
७ हजार फुस तथा खरका छाना जस्तापाताले प्रतिस्थापन गरिएको र कसैले पनि सडकमा जीवन गुजारा गर्न नपरोस् भन्ने उद्देश्यले सडक मानवरहित सहर र बस्तीको अवधारणा कार्यान्वयनमा ल्याइएको बताएका छन् ।
टोर्नाडोबाट घरबारविहीन बन्न पुगेका नागरिकहरूका लागि छोटो समयमै ८ सय ६९ सुरक्षित घर निर्माण गरेर हस्तान्तरण गरिएको र बाढी, पहिरो, डुबान, आगलागी, चट्याङ आदिबाट घरबारविहीन हुन पुगेका नागरिकलाई सुरक्षित आवास उपलव्ध गराउने प्रक्रिया सुरु गरिएको बताए ।
सुकुम्बासी समस्या र अव्यवस्थित बसोबासको समस्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गरी कार्य प्रारम्भ गरिएको छ भने सरकारी, सार्वजनिक र गुठी जग्गाको यथार्थ अवस्था पहिचान गरी प्रतिवेदन पेश गर्न गठित कार्यदलको प्रतिवेदन प्राप्त भएको जनाएको छ ।
तीन वर्षको अवधिमा थप ३० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइएको र देशभित्रै रासायनिक मल कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढेको बताएका छन् । माटोको गुणस्तरको डिजिटल परीक्षण सुरु गरिएको छ ।
यसै आर्थिक वर्षमा ६ वटा नयाँ औद्योगिक क्षेत्रको निर्माण सुरु भएको छ । स्थानीय तहमा ७४ औद्योगिक ग्राम घोषणा भई काम थालिएको बताउँदै अन्तर्राष्ट्रिय व्यापार वृद्धिका लागि भारत, बंगलादेश, अमेरिका र भुटानसँग वाणिज्य वार्ता सम्पन्न भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।