काठमाडौं । मौसममा एक्कासि खराबी आएपछि सर्वोच्च शिखर सगरमाथाको आरोहणमा गएकाहरू समस्यामा परेका छन् । आरोहणका लागि अन्तिम ठाउँमा पुगिसकेका र बेस क्याममा पुगेका आरोहीहरू मौसममा खराबी आएपछि त्रासमा छन् ।
गृह मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर पर्वतारोहणमा गएकाहरूलाई तत्कालै फिर्ता गराउन सम्बन्धित निकायहरूलाई निर्देशनसमेत जारी गरिसकेको छ ।
मौसम खराबी भएपछि केही दिनमा खुल्ने आशमा केही आरोहीहरू छन् भने केही फर्कन चाहिरहेका छन् । तर, मौसम खराबीका कारण हेलिकप्टरहरूसमेत सो क्षेत्रमा जान सकिरहेको छैन ।
नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले अहिलेसम्म आरोहीहरू सुरक्षित रहेको र फर्कने वा केही दिन पर्खेर आरोहण गर्ने भन्ने विषयमा छलफल भइरहेको बताए ।
अनुमति लिएकामध्ये ७० प्रतिशतले आरोहण गरेर फर्किसकेको र ३० प्रतिशत आरोहीहरू पुस क्लाइमिङभन्दा माथि बसिरहेका छन् । यो वर्ष सगरमाथा आरोहणका लागि ४ सय ८ जनाले अनुमति लिएका थिए ।
१५, १८,२० र २१ तारिखमा मौसम सफा रहेको थियो । बीचमा फेरि मौसम खराब भएको २८ र २९ मा मौसम सफा हुने आँकलन गरेर अहिले क्याम २ र क्याम ३ सँगै बेस क्याममा केही आरोहीहरू बसिरहेका छन् ।
भारतमा आएको सामुन्द्रीक आँधिको कारण नेपालमा पनि प्रभावित भएकाले केही समस्या आएको छ । २८ र २९ मा मौसम सफा हुन्छ भन्ने आएकाले क्याम ३ मा पुगिसकेका आरोहीहरूले भने राति गएर क्याम ४ मा बस्ने र सिधै आरोहण गर्ने योजना बनाइरहेको महासचिव गुरुङले बताए ।
धेरै साथीहरूले आरोहण गरिसकेको हुनाले पनि क्याम २ र क्याम ३ मा पुगेका आरोहरूलाई थप मानसिक दबाब परेको उनको भनाइ छ । तर, मौसममा आएको खराबी र गृहले गरेको परिपत्र पछि भने अब आरोहीहरूलाई फर्काउने वा केही दिन पर्खाउने भन्ने विषयमा अहिले बेस क्याममा विभागका अधिकारीहरूबीच छलफल भइरहेको बताए । आरोहणभन्दा सुरक्षा नै ठूलो भएकाले जबर्जस्ती नगर्ने पक्षमा आफूहरू रहेको उनको भनाइ छ ।
पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले आरोहीहरूलाई ५ दिन अघिनै सुरक्षित स्थानमा बस्नका लागि जानकारी गराइसकेको बताए । भारतमा आएको चक्रवातको कारण केही दिन समस्या आएको बताउँदै मौसम सफा भए आरोहण गर्ने र नभए फर्काउने तयारीमा आफूहरू रहेको उनको भनाइ छ । अहिले सबै आरोहीहरू सुरक्षित स्थानमा बसिरहेको समेत उनले बताए ।
मौसममा खराबी आएसँगै केही दिन अघिबाटै हेलिकप्टरहरू लुक्लामा लगिसकिएको छ । आरोहीहरूलाई नै लिनका लागि लुक्लामा पुगेका हेलिकप्टरहरू पनि मौसम खराबीको कारण बेस क्यामतर्फ जान नसकेको अल्टिच्युड एयरका मार्केटिङ प्रमुख सीताराम सापकोटाको भनाइ छ । अहिले लुक्लामा ९ वटा हेलिकप्टरहरू पुगिसकेका छन् ।