नेपालको उत्पादन लागत अत्यधिक हुनुको पछाडि बिजुलीको शुल्क बढी हुनु हो । छिमेकी मुलुक भारत तथा आर्थिक उदयमान मुलुकको पहिचान बनाइरहेको बंगलादेशमा औद्योगिक क्षेत्रलाई दिइने विद्युत् एकदमै सस्तो छ । त्यही भएर उनीहरुको उत्पादनले विश्व बजारमा प्रतिस्पर्धा गरिरहेको छ ।
नेपालमा श्रम पनि महँगो छ । कच्चा पर्दाथ आयात गर्दा पनि महँगो शुल्क तिर्नुपर्छ । ती कुराले उत्पादन लागत त बढाइरहेको छैन, नेपालको विद्युतकाे दररेटले पनि सहयोग गरेको छ ।
सरकारले औद्योगिक उत्पादनको लागत घटाउने विषयमा ठूलो काम गर्न सक्छ । एउटा आर्थिक पूर्वाधार बनाउन लाग्नुपर्यो । अहिले पनि वीरगन्ज आइपुगेको सामान भैरहवा वा अन्य ठाउमा लैजानु पर्यो भने कोलकाताबाट वीरगन्ज ल्याउँदा लाग्ने खर्चभन्दा बढी छ ।
यदि सरकारले रेलमार्ग वा अन्य आर्थिक पूर्वाधार निर्माण गर्ने र हाल कायम रहेको बिजुलीको दररेट घटाउन सके नेपाली उत्पादन पनि विश्व बजारमा प्रतिस्पर्धी बन्न सक्छ ।
नेपालमा औद्योगीकरणका लागि विद्युतको धेरै महत्व छ तर, हामीले अहिले किनिरहेको विद्युत महँगो छ । भविष्यमा बिजुली भारत वा अन्य मुलुक निर्यातका लागि अहिले लाग्नुुभन्दा मुलुककै उद्योगहरूमा लामो समयसम्म सस्तोमा बिजुली दिन सक्दा औद्योगीकरणमा बल पुुग्छ ।
उद्योगले आफ्नै हाइड्रो पावरमा उत्पादन गरेर विद्युत प्राधिकरणको ट्रान्समिसन लाइन प्रयोग गरेर बिजुली प्रयोग गर्न सके सस्तो हुन्छ । नेपालभित्र जुन प्रोडक्टहरूमा मूूल्य अभिवृद्धि भइरहेको छ, त्यसको ड्यूटी (महसुुल/कर) फरक हुनुपर्छ । स्टिल उद्योगमा भारत वा चीनबाट कच्चा पदार्थ र तयारी सामान आउँदा एउटै ड्यूटी छ ।
ड्यूटी फरक हुन सक्यो भने आगामी दिनमा नेपालमै प्रोडक्टहरू बनाउन सकिन्छ र रोजगारी पनि सिर्जना हुन्छ । यसमा आगामी बजेटले विशेष ख्याल गर्नुुपर्छ ।
अग्रवाल शंकर ग्रुपका प्रबन्ध निर्देशक हुन् ।