सरकारले लामो समयदेखि अधिकांश क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विस्तार गर्ने र विदेशी पर्यटकहरूलाई धेरैभन्दा धेरै नेपालमा भित्र्याउने नाराहरू दिँदै आएको छ ।
त्यही अनुरूप विभिन्न समयमा विभिन्न नारा दिँदै भ्रमण वर्षका कार्यक्रमहरू घोषणा हुँदै र मनाउँदै आएको छ । तर, अहिलेसम्म पर्यटनका लागि आवश्यक कुनै ठोस नीति आएको छैन ।
कुनै पनि सरकारले साँच्चै पर्यटन विकासमा योगदान दिनुपर्छ र त्यसलाई विकास गरेर अघि बढ्नका लागि के¬¬–के गर्ने भन्ने विषयको निक्र्योल निकाल्न सकिरहेको छैन ।
हरेक वर्षको बजेटमा पनि पर्यटकीय गतिविधि बढाउनका लागि पूर्वाधार निर्माण गर्ने भन्दै करोडौं रुपैयाँ विनियोजन गरिएको छ भन्ने सुनिन्छ । यद्यपि, ती बजेटहरूले कहाँ र कस्ता संरचनाहरू बने भन्ने जानकारी छैन ।
पछिल्लो समय केही ठाउँमा भ्यू¬टावर बनाउने काम बाहेक सरकारी स्तरबाट अरू पूर्वाधार निर्माण भएको देखिँदैन ।
अहिले धेरैको प्रश्न छ कि त्यो भ्यूटावरमा कति पर्यटक गए त ? अहिलेसम्म जति पर्यटकीय गतिविधि भएका गन्तव्यहरू छन् ती सबै निजी क्षेत्रबाटै सञ्चालित देखिन्छ ।
पछिल्ला केही दशकदेखि पर्यटकहरूको संख्या बढेको गन्तव्यभित्र मनकामना केवलकार, कैलाशनाथ महादेव मन्दिर र चन्द्रागिरी मात्र हो । यी तीनवटै संरचना निजी क्षेत्रको संक्रियतामा बनेको हो ।
लामो समयसम्म मनकामनाले आन्तरिक एवं बाह्य पर्यटकलाई धाने पनि विस्तारै चन्द्रागिरी र कैलाशनाथ महादेव मन्दिर पनि पछिल्ला दशकमा रोजाइको गन्तव्य भित्र पर्न सफल भएको छ ।
उपत्यका भित्रकै दुईवटा थुम्कामा निर्माण भएको संरचनाले काठमाडौंसहित बाहिरी जिल्ला र विदेशी नागरिकहरूको रोजाइमा समेत यी गन्तव्यहरू परिसकेको छ । गन्तव्यको विकाससँगै त्यस आसपासका स्थानीयहरूको जीविकोपार्जनमा समेत परिवर्तन भइसकेको छ ।
त्यसैले सरकारले यदि पर्यटक र पर्यटनका लागि साँच्चिकै काम गर्ने हो भने निजी क्षेत्रको साथ लिएर आवश्यक पूर्वाधारहरू निर्माण गरेर डाँडाहरू निश्चित समयका लागि भाडामा दिए मात्र हुन्छ । अरू संरचनाहरू कस्ता बनाउने र कसरी पर्यटक ल्याउनुपर्छ भन्ने आइडिया निजी क्षेत्रलाई दिँदा हुन्छ ।
यहाँ त संरचना निर्माणभन्दा जग्गा प्राप्तिकै लागि वर्षौं समय लाग्छ । त्यसमाथि विभिन्न निकायको झण्झटिलो सेवा र स्थानीयवासीहरूको अवरोधले लगानीकर्ताको मनोभावनै गिरेको हुन्छ ।
यस्तो अवस्थाबाट मुक्त गरे कम्तीमा बिजुली, खानेपानी र सडक मात्र ती ठाउँमा पुर्याइदिने र स्थानीय निकायलाई सहजीकरण गरिदिने हो भने नेपालमा अधिकांश डाँडाकाडा र खोला नालाका छेउमा विभिन्न किसिमका पर्यटकीय गन्तव्यहरू निर्माण गर्न सकिन्छ ।
जब, नयाँ¬–नयाँ गन्तव्यहरू विकास हुन्छ तब न पर्यटकहरू त्यहाँ जान्छन् । विदेशीलाई पनि नेपालमा आउने भनेको हिमाल आरोहणका लागि भन्ने छ ।अब त्यो भ्रम चिर्नुपर्छ । यहाँका अरू गन्तव्यहरूमा लुकामारी गर्ने अवसर पनि यहाँ छ भन्ने सन्देश दिनुपर्छ ।
नेपालका ठाउँ–ठाउँमा स्विट्जरल्याण्ड छ ।
त्यहाँ अहिलेसम्म नेपाली नै पुगिसकेको छैन । त्यस ठाउँमा पुग्नका लागि आवश्यक पूर्वाधारहरू निर्माणमा जोड दिनुपर्छ । त्यही अनुसारको सुरक्षाका प्रत्याभूति दिनुपर्छ भने यातायातका साधानहरू बनाउन सके धेरै ठाउँको विकास हुनसक्छ ।
छिमेकी दुई मुलुक चीन र भारतका मात्र पर्यटकहरू यहाँ ल्याउन सकियो भने नेपालीहरूले पैसा राख्ने ठाउँ हुँदैन । विशेष गरेर भारतीय पर्यटकहरू धेरै खर्चालु हुन्छन् । उनीहरू सुरुमा केही बार्गेनिङ गरे पनि पछि खर्च धेरै गर्ने भएकाले उनीहरूलाई खर्च गर्नका लागि आवश्यक पूर्वाधार र गन्तव्यहरू बनाउन आवश्यक छ ।
भारतीय नागरिकहरूलाई अन्य मुलुकमा जाँदा पार्सपोर्ट चाहिने र खर्च कति गर्ने भनेर हिसाब देखाउनुपर्छ । तर, नेपालमा भने उनीहरू निर्धक्कका साथ आउन पाउँछन् र खर्च गर्छन् । उनीहरूसँग खर्च गर्ने क्षमता पनि धेरै रहेकाले त्यस्त पर्यटकहरूलाई साइड भिजिटका लागि पूर्वाधारहरू विकास गर्नुपर्छ ।
यहाँको हरियाली, माउन्टेन र वातावरण हेर्नका लागि धेरै भारतीयहरू आउँछन् । त्यसैले त्यस्ता ठाउँमा नयाँ–नयाँ संरचना बनाउनका लागि सरकारले बाटो खुला गर्नुपर्छ । सरकारले गर्न नसके निजी क्षेत्रलाई जिम्मेवारी दिनुपर्छ ।
यी कुराहरू बजेटमा पनि आउँछ, बजेटमा पनि आउँछ तर, कार्यान्वयन हँुदैन । त्यसैले अबका बजेटमा पनि धेरै आश्वासनहरूभन्दा तत्कालै पूरा गर्ने प्रतिबद्धताहरू आउन आवश्यक छ ।
जसले निजी क्षेत्रले कुनै संरचना बनाउनका लागि सहज र सरल रूपमा सरकारी कामहरू पूरा होस् । यसो हुँदा निर्धारित समयभित्रै परियोजना सम्पन्न हुने हुँदा लगानीकर्ताको लगानी पनि धेरै नबढ्ने र सेवा सुविधा पनि बढ्ने हुन्छ ।
अब आन्तरिक पर्यटक धेरै बढ्छ
कोभिड नियन्त्रणमा आएपछि आन्तरिक पर्यटक ह्वात्तै बढ्छ । करिब दुई वर्षदेखि मान्छेहरू घरभित्रै थुनिएर उकुसमुकुस भएर बस्नु परेकोले कोभिड नियन्त्रणमा आएसँगै सबैजना घुम्न निस्कछन् ।
त्यसैले तत्कालै विदेशी पर्यटकहरू भने आन्तरिक पर्यटकको चाप बढ्छ । कोभिडकै बीचमा पनि केही समय खुकुलो हुँदा धेरै गन्तव्यहरूमा पर्यटक भरिभराउ भएका थिए । त्यसैले अब हामीले आन्तरिक पर्यटकका लागि आवश्यक पूर्वाधारहरू र त्यही अनुसारको प्याकेज बनाउन आवश्यक छ ।
व्यवसायीहरूले पनि बल्ल¬बल्ल पर्यटक आए भनेर धेरै महँगो गर्ने प्रवृत्ति ल्याउनु हुँदैन । सबैलाई सुहाउने किसिमका प्याकेजहरू ल्याउन सकिएको भने आन्तरिक पर्यटनमा बुम हुन्छ । यसले धरासायी बनेको पर्यटन क्षेत्रले विस्तारै लय लिँदै जान्छ । त्यसका लागि व्यवसायीहरूले पनि ध्यान दिन आवश्यक छ ।