काठमाडौं । नेपाल वायुसेवाको चार्टर उडानमार्फत सिंगापुरबाट १३ टन बढी मेडिकल कार्गो नेपाल ल्याइएको छ । तामासेक फाउण्डेसन सिंगापुर, लोटस लाइफ फाउण्डेसन सिंगापुर, गोर्खा ब्रुअरी प्रालिका साथै नेपाल सरकार, विभिन्न मन्त्रालयहरू, कूटनीतिक नियोग र नेपाली प्रवासीसँगको सहकार्यमा कार्गो ल्याइएको हो ।
उक्त कार्गो करिब ३ मिलियन सिंगापुर डलर अर्थात करिब २५ करोड नेपाली रुपैयाँको रहेको छ । दुई दाताहरूका तर्फबाट गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले सो सामान स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका छन् ।
कार्गोमा १ लाख २३ हजार बढी फोर्टिट्यूड ३.० पीसीआर परीक्षणहरू सिंगापुरको विज्ञान, प्रविधि र अनुसन्धान एजेन्सीले डिजाइन गरिएको छ । साथै थप मेडिकल आपूर्तिको कार्गो आगामी केही सातामा सिंगापुरबाट नेपाल आउने बताइएको छ ।
तामासेक फाउण्डेसन इन्टरनेसनलका मुख्य कार्यकारी अधिकारी, बेनेडिक्ट चिओङले कोभिड–१९ को विभिन्न भेरिएन्टहरूको संक्रमणबाट जीवन बचाउन र महामारीलाई नियन्त्रणमा ल्याउन सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
मन्त्री त्रिपाठीले कोरोना नियन्त्रणका लागि प्राप्त सहयोग सामग्री प्राथमिकताको आधारमा विभिन्न अस्पतालहरूलाई वितरण गरिने बताए । साथै कोभिड–१९ को महामारी बढ्दै गएको भन्दै मन्त्री त्रिपाठीले गोर्खा ब्रुअरीबाट थप सहयोगको अपेक्षा रहेको बताएका छन् ।
सिंगापुरस्थित तामासेक फाउन्डेसनले २०७७ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई फोर्टिट्यूड २.० पीसीआर कोभिड–१९ जाँच्ने टेस्ट कीट र अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको थियो । त्यस्तै २०७२ को भूकम्पपछि मन्त्रालयलाई शिक्षा र तालिम कार्यक्रमहरूमा सहयोग गरेको थियो ।
उक्त सामानहरू हस्तान्तरण गर्ने क्रममा गोर्खा ब्रुअरीका उप–प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले कोभिड–१९ नियन्त्रण तथा उपचारका लागि वितरण गरिएको सामग्री प्राथमिकताको आधारमा अस्पतालमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
गोर्खा ब्रुअरीले २०७२ को भूकम्पमा सरकारलाई १० करोड नेपाली रुपैयाँ सहयोग गरेको थियो । साथै अन्य क्षेत्रमा पनि विभिन्न सहयोग गर्दै आएको छ ।