काठमाडौं । राइड सेयरिङ कम्पनी इजी ट्याक्सी नेपालले निःशुल्क शिक्षा सामग्री तथा राहत प्रदान गर्ने भएको छ । काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका स्वरोजगार व्यवसायी तथा ट्याक्सी चालकको परिवारका लागि निःशुल्क शिक्षा सामग्री तथा राहत प्रदान गर्ने भएको हो ।
राइड सेयरिङ कम्पनीका अनुसार, कोरोनाको कारण केही ट्याक्सी चालकको समेत मृत्यु भएको छ । मृतकका परिवारलाई सहयोग पुर्याउने उद्देश्यले परिवारको एकजना बालबालिकालाई १० कक्षासम्मको पढाइ खर्च इजी ट्याक्सीले बेहोर्न लागेको हो ।
कोही बालबालिका शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सहयोग गर्न लागिएको इजी ट्याक्सी नेपालका सञ्चालक सञ्जित पौडेलले बताए । साथै कोरोनाको कारणले गर्दा आफ्नो दैनिक जीवनयापन गर्न समस्या परेकाहरूका लागि सहयोग पुर्याउने उद्देश्यले कोरोना राहत कार्यक्रम पनि सञ्चालन गरिएको उनको भनाइ छ ।
सेवा लिनको लागि इजी ट्याक्सी नेपालको वेबसाइटमा गएर नाम ठेगाना, फोन नम्बर राख्नुपर्ने हुन्छ । इजी ट्याक्सी नेपालले यसअघि चालकहरूको कोरोना बिमा, सवारी साधनको बिमामा छुटको व्यवस्था, मृतक चालकको परिवारलाई आर्थिक सहयोगलगायत अन्य थुप्रै राहत तथा आर्थिक सहयोग कार्यक्रम सञ्चालन गरिसकेको छ ।
काठमाडौं महानगरपालिका र विभिन्न संघ तथा संघठनसँग मिलेर सो व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनका साथै अन कल तथा अनलाइनको माध्यमबाट सेवा सञ्चालन गर्ने तयारी गरेको कम्पनीले जनाएको छ ।
साथै व्यवसायमा आबद्ध स्वरोजगार तथा मजदुर चालकलाई सामाजिक सुरक्षा कोषको अवधारणामा सामेल गराई राज्यले प्रदान गर्ने सुविधा लिनसमेत लागि रहेको इजी ट्याक्सी नेपालले जनाएको छ ।