काठमाडौं । नगरकोट भन्ने बित्तिकै क्लब हिमालयको नाम आइहाल्छ । यी दुई नाम त्यहाँका लागि पर्यायनै भइसकेको छ । आन्तरिक एवं बाह्य पर्यटकहरूको रोजाइमा पर्ने नगरकोटलाई नगरकोटका रूपमा विस्तार गर्ने मुख्य भूमिका नै क्लब हिमालयको रहेको छ । जसले बुद्ध जयन्तीका दिन सिल्बर जुब्ली मनायो ।
राजधानी काठमाडौंभित्र काठमाडौं गेष्ट हाउस र एम्बास्डर होटल सञ्चालन गर्दै आएका योगेन्द्र शाक्यको परिवारको नजर नगरकोटमा पर्यो । उपत्यका नजिकैका गन्तव्यलाई पर्यटकीय स्थलका रूपमा विस्तार गर्नुपर्छ भन्ने सोच बनाएका शाक्यको रोजाइमा नगरकोट पर्यो । त्यो बेला त्यहाँ चारतारे होटल बनाउने भन्ने चानचुने चुनौती थिएन । किन भने बिजुली, टेलिफोन थिएन भने सडकको अवस्था पनि नाजुक थियो ।
तर, ती चुनौतीहरूलाई पार लगाउँदै उनले होटल निर्माण गरी छाडे र नगरकोटको परिचय नै बदल्न सम्भव भयो । अहिले नगरकोटमा सुविधासम्म होटल तथा रिसोर्टहरू सञ्चालनमा आएका छन् । त्यहाँ अर्बौं रुपैयाँ लगानी भित्रिएको छ । एस होटल समूहद्वारा सञ्चालन तथा व्यवस्थापनका साथ अघि बढेको क्लब हिमालयलाई नगरकोटमा लगानी भित्र्याउने र पूर्वाधार निर्माण गर्ने पहिलो गेटका रूपमा लिने गरिन्छ ।
१९८९ मा ४२ हजार रोपनीमा जग्गा
होटल निर्माणका लागि शाक्यसहितको समूहले सन् १९८९ मै जग्गा खरिद गरेका थिए । ५२ रोपनी क्षेत्रफलको डाँडा खरिद गर्न त्यो बेला शाक्यले प्रतिरोपनी ४२ हजार रुपैयाँ तिरेका थिए । शाक्य सम्झन्छन्, ‘त्यो बेला हामीले ४२ हजार प्रतिआना किन्दा त्यहाँका मान्छेहरू हामीलाई पैसा धेरै भएर यता आएछन् भन्थ्ये, किन भने त्यो बेला त्यस आसपासमा १ हजारदेखि १० हजारसम्ममा एक रोपनी जग्गा पाइन्थ्यो ।’
नगरकोटका स्थानीयहरूको आयस्रोत भनेकै जंगलमा गएर दाउरा खोज्ने र भक्तपुरमा लगेर बेच्ने थियो । अहिले त्यहाँका मानिसहरूको आर्थिक अवस्था नै उथलपुथल भएको छ । जग्गाको मूल्य ह्वात्तै बढेको छ भने पूर्वाधार विकास पनि राम्रो भएको छ । सबैको रोजाइमा नगरकोट परिसकेको छ ।
‘म अहिले पनि दाबी गर्छु कि क्बल हिमालय प्रवेश नगरेको भए नगरकोट अहिले सेनाको कब्जामै हुन्थ्यो, पर्यटकीय गन्तव्य बन्न पाउँदैन थियो’, सञ्चालक शाक्यले भने ।सेनासँगको विवाद१९८९ मा जग्गा किने पनि तत्कालै होटल निर्माण गर्न भने पाएनन् । जग्गा किनेको तीन वर्षसम्म सेनासँग विवादनै रह्यो ।
केही महिनादेखि नै सेनाले समस्या दियो । किन कि त्यो बेला सिंगै नगरकोटमा सेनाको गुरिल्ला वेलफेयर ट्रेनिङका लागि बतासे डाँडादेखि महाँकाल डाँडा सुटिङ अभ्यास रेन्जका रूपमा प्रयोग गरेको थियो । यसैले नगरकोटलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मात्र नभएर बतासे डाँडामा रिसोर्ट स्थापना तथा सञ्चालनमा ल्याउन सहज थिएन ।
अहिले होटल भएको ठाउँ (बतासे डाँडा)बाट महाँकालमा तीर हान्ने तालिम गर्ने ठाउँका रूपमा विकास गर्ने तयारी गरेपछि होटल निर्माण नै अन्यौलमा परेको थियो । बतासे डाँडामा तगारो सारिसकेको हुँदा निकै समस्या भएको थियो । नगरकोट पर्यटकका लागि प्रयोग हुने अवस्थानै थिएन ।
तर, क्लब हिमालय निर्माणका लागि विदेशी साझेदारी र दरबारका ज्वाइँसमेतको साझेदारीमा रहेकाले होटल निर्माणका लागि सेनाले ढिलै भए पनि सहमति दिएको उनको भनाइ छ ।
विदेशी साझेदारीका रूपमा नेपाल हङकङ जोइन्ड भेन्चर थियो भने अर्का पार्टनर कुमार खड्गविक्रम शाह थिए । शाह राजाको ज्वाइँ र विदेशी साझेदारी पनि भएकाले विदेशी लगानीकर्तालाई नकारात्मक सन्देश जाने भएकाले पनि त्यो बेलाको सरकारले होटल निर्माणका लागि सहज बनाएको उनको ठम्याइ छ । जग्गा खरिद गरेको करिब ६ वर्षपछि मात्र होटलको उद्घाटन गरिएको थियो । उनका दुवै साझेदारहरू भने माओवादी द्वन्द्वपछि बाहिरिसकेका छन् ।
तीन वर्ष टी हाउस, त्यसपछि होटल
अहिले जहाँ क्लब हिमालय छ, त्यहाँ सुरुमा शाक्यको समूहले १९९३ मा टी हाउस सञ्चालनमा ल्याएका थिए । जग्गा किनेर त्यतिकै राख्नुभन्दा केही न केही गरौं भन्ने सोच राखेर टी हाउस सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
जग्गा विवादले होटल सञ्चालन गर्न तत्कालै नमिल्ने र अन्यौलता छाएपछि टी हाउसलाई पहिलो इन्ट्रीको माध्यम बनाएको थियो । जसले गर्दा नगरकोटमा जाने पर्यटकहरूलाई खाजा र खानाका लागि सहज बनाएको थियो ।
मानिसहरू त्यो बेला नगरकोटमा घामको झुल्को हेर्नका लागि काठमाडौंबाट बिहानै पुग्थे । पर्यटकहरू पनि काठमाडौैंका पाँचतारे होटलमा बसेर राति ३÷४ बजे उठेर ब्रेकफास्टसमेत काठमाडौंबाट लिएर जानुपर्ने बाध्यताहरू थियो । त्यो बाध्यतालाई टी हाउसले केही मात्रामा भए पनि राहत दिलाएको शाक्यको भनाइ छ ।
समुद्र सतहदेखि ७ हजार २ सय फिटको उचाइमा रहेको रिसोर्ट काठमाडौंदेखि ३२ किलोमिटर दूरीमा छ । रिसोर्टमा स्ट्याण्डर्ड, डिलक्स र प्रिमियमलगायत तीन प्रकारका प्राइभेट बाल्कोनीसहितका ६८ कोठा छन् ।
रिसोर्टमा इन्डोर हिटेड पुल, ज्याकुजी, अन्तर्राष्ट्रिय शैलीको बार तथा डाइनिङ, मल्टिपल सेमिनार हल लगायतका सेवा सुविधा छ । हरेक कोठाबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन सहजै गर्न सकिने शाक्यको भनाइ छ ।सुरुमा होटलमा ४० वटा कोठा मात्र थियो । पछि लगानी विस्तार गर्दै कोठाको संख्या थपेको उनको भनाइ छ ।