चितवन । पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिर पुग्ने केवलकार निर्माणको काम सुरु भएको छ । नवलपरासी (त्रिवेणी सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका वडा नं. १ देखि मन्दिरसम्म केवलकार निर्माण हुने भएको हो ।
स्थानीय साझेदार समेत समेटेर आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको समूहले केवलकार निर्माण गर्न लागेको हो । केवलकारका लागि सामुदायिक वनको रुख काट्ने काम आजबाट थालिएको छ ।
परियोजना प्रमुख ईञ्जिनीयर गोकुल साउदका अनुसार गैंडाकोटको धारापानी टोलबाट मन्दिर नजिक रहेको हेलिप्याडसम्म केवलकार बन्ने छ । एक किलोमिटर २०० मिटर लामो उक्त केवलकारमा ६ पिल्लर र १२ वटा गोन्डोला (डब्बा) रहने छन् । एउटा गोन्डोलामा आठ जना अट्छन् ।
केवलकार निर्माण स्थलबाट मन्दिरसम्म जाने मार्गमा मौलाकालिका सामुदायिक वन र मौलाकालिका धार्मिक वन पर्दछ । केवलकारको मार्गमा पर्ने एक हजार ३८ वटा रुख कटान गर्नु पर्नेछ ।
साउदका अनुसार जेठ मसान्तसम्ममा रुख कटानको काम सम्पन्न हुनेछ । अष्ट्रियाको गोपलमेर कम्पनीको केवलकार जडान गर्न लागिएको हो जुन चन्द्रागिरीमा समेत जडान गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका आइएमइ ग्रुपका अध्यक्ष ढकालका अनुसार आउँदो एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । उनको भनाइमा केवलकार सम्पन्न गर्न १ अर्ब ५० करोड लगानी हुने छ ।
सामुदायिक वनसँग २५ वर्षका लागि जग्गा भाडामा लिएर काम थालिएको हो । सरकारको प्रचलित नियम अनुसार सो जग्गा वापतको सोधभर्नासमेत गरेर काम अगाडि बढाइएको ढकालले जानकारी दिए ।
केवलकारले एक घण्टामा ६०० जनालाई सेवा दिने उनले बताए । स्थानीय समेत साझेदार हुने भएपछि गैंडाकोटवासी उत्साहित भएका छन् । ढकालका अनुसार स्थानीयको सहयोगका कारण परियोजना सहज रुपमा निर्धारित समयमै सम्पन्न गर्न सकिने छ ।
गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले यहाँको पर्यटन प्रवद्र्धनमा केवलकारले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने, “यसले नगर क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ ।”
यसले स्थानीय स्तरमा रोजगारीको सिर्जना हुनुको साथै होटल रेष्टुरेन्ट व्यवसाय पनि फस्टाउने पौडेल बताउछन । स्थानीय सरकारले यस्ता परियोजनालाई प्रोत्साहन गर्ने उनको भनाइ छ ।
उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहनु भएका जिल्ला उद्योग वाणिज्य संघ पूर्व नवलपरासीका अध्यक्ष अमृत भट्टचनले यो जिल्लाकै गौरवको आयोजना हुने बताए। उनले एक वर्षपछि यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए।
धार्मिक सेवा समिति मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार विगतका वर्षहरुको तथ्याङ्क हेर्दा वार्षिक यहाँ दुई लाख ५० हजारदेखि २ लाख ७५ हजारसम्म दर्शनार्थी आउने गरेका छन् ।