काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै माधव नेपाल पक्षका २३ जना सांसदले हस्ताक्षर गरेका छन्।
विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका छन् । यसअघि कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ मध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका सांसद विरोध खतिवडाले जानकारी दिएका छन् ।
हस्ताक्षर गर्ने सांसदहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन र झपट रावल छन् ।
त्यस्तै निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, समकलिला खातुन, यज्ञ सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा र मेटमणि चौधरीले पनि सर्वोच्चमा रिट दायर गर्न हस्ताक्षर गरेका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदले हस्ताक्षर गरेका थिए । बहुमत सांसदको हस्ताक्षर बुझाए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धनका सांसदहरू सर्वोच्च अदालतमा रिट हाल्न जाँदै छन्।
गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले हस्ताक्षर गरेका छैनन् । नेकपा एमाले (नेपाल समूह),जनता समाजवादी पार्टी (उपेन्द्र बाबुराम समूह) र राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षरसहित आफैं उपस्थित भएर अदालतमा रिट हाल्न लागेको बताइएको छ ।
अहिलेसम्म रिट कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका २३, जसपाका १२ र जनमोर्चाका १ सांसदले हस्ताक्षर गरेका छन्। बाँकी सांसदलाई पनि लिएर सर्वोच्च जाने खतिवडाले बताए।शुक्रबार विपक्षी गठबन्धनका १४९ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका थिए।