सरकारले व्यावसायिक कृषि खेतीको विस्तार गर्ने भनेर हरेक वर्षको बजेटमा उल्लेख गरेको हुन्छ । हरेक वर्ष कृषिमा आउने बजेटमा पनि बढोत्तरी छ । कृषि क्षेत्रमा आत्मनिर्भर बन्न सरकारले विभिन्न रणनीति बनाइरहेको हुन्छ । कतिपय अवस्थामा कृषि खेतीसम्बन्धी विभिन्न मिसन तथा पकेट कार्यक्रम पनि चलाइरहेको हुन्छ ।
त्यति मात्रै होइन्, केन्द्रीय बैंकले पनि कृषि खेतीको विस्तार र युवा जनशक्तिलाई यो क्षेत्रमा ल्याउन बैंकलाई अनिवार्य लगानी गर्नुपर्ने नीतिगत व्यवस्था बनेको छ । तर, बैंकहरू कृषि क्षेत्रमा लगानी गर्नुको साटो जरिवाना तिरेर बसेका छन् ।
सरकारले चलाएका पकेट तथा मिसन कार्यक्रम कृषि खेती गर्नेसम्म पुगेकै छैन । यस्ता गम्भीर समस्याबीच नेपालको कृषि कसरी व्यावसायिक बन्न सक्छ ? कसरी यो क्षेत्रमा युवा जनशक्ति आउँछन् ? बैंकलाई कृषि क्षेत्रमा लगानी नगरेबापत न्यून मात्रामा जरिवाना तिरेर बस्दा उन्मुक्ति पाइहाल्छन् । केन्द्रीय बैंक जरिवानाको सूची बनाएर बस्छ । यसरी कसरी हुन्छ, कृषि क्षेत्रको विकास ?
देशमा खासगरी नगदेबालीको प्रचुर सम्भावना छ । नगदेबालीले कृषकको आर्थिक अवस्थामा समेत परिवर्तन ल्याउँछ । विदेशबाट स्वदेश फर्किएका जनशक्ति कृषि क्षेत्रमा लाग्न सक्छन् । सरकारले बजेटमार्फत कृषि क्षेत्रमा कायापलट गर्ने जति उल्लेख गरे पनि व्यावहारिक समस्यालाई सुल्झाउने प्रयास भएन भने सरकारी नीतिले कुनै काम गर्दैनन् ।
केन्द्रीय बैंकले कृषि क्षेत्रमा अनिवार्य तोकिएको लगानी नगर्ने बैंकलाई कडा सजाय नराख्दासम्म उनीहरू पनि यतातिर लगानी गर्न इच्छुक हुँदैनन् । यस्तो समस्या कायम रहे देशमा कृषि क्षेत्रको विकास र प्रवद्र्धन सम्भव छैन ।
सरकारले आगामी आर्थिक वर्षका लागि बजेट बनाउने कार्य गरिरहेको छ । बजेटले नै नगदेबाली (कफी)को विकास र प्रवद्र्धन गर्ने खालका कार्यक्रम ल्याउन जरुरी छ । हुन त कृषि विकास मन्त्रालयले पठाएको योजनालाई बजेटमा उल्लेख हुने हो । कृषि मन्त्रालयले पनि कफीको विकास गर्न आवश्यक योजना र त्यसलाई कार्यान्वयन गर्नेतर्फ जानुपर्छ ।
नेपालको मध्ये पहाडी भू–भागको १ हजार मिटरमाथि र २ हजार मिटर तलका ठाउँहरू कफी खेतीका लागि उपयुक्त छन् । माटोको प्रकृतिअनुसार यी ठाउँहरूमा कफी खेती गर्न सक्ने हो भने, देशले आर्थिक क्षेत्रमा धेरै फड्काे मार्न सक्छ ।
तरल पदार्थ (तेल) पछि सबैभन्दा बढी विश्वमा कफीको माग हुने गर्छ । अहिले सहरमा कफी खाने लहर नै चलेको छ । अर्थात् कफी सप नभएका ठाउँ नै छैनन् । कफी खाँदा स्वास्थ्यका लागि पनि धेरै फाइदा हुन्छ ।
विदेशमा नेपालको भन्दा धेरै कफीको प्रयोग र माग हुन्छ । कफी आफ्नो इच्छाअनुसारको समयमा पिउन सकिन्छ । आफूलाई थकान महसुस भएको अवस्थामा कफी खाँदा राम्रो हुन्छ । कफी खेती गर्न सके नेपालमा विश्वको सबैभन्दा राम्रो कफी उत्पादन गर्न सकिन्छ । नेपालमा हिमालको स्वच्छ हावापानी तथा वातावरण पनि उपयुक्त रहेको छ । वातावरणीय प्रदूषण नहुने भएकाले नेपालको कपीलाई सबैभन्दा राम्रो मानिएको हो ।
नेपालबाट सबैभन्दा बढी अमेरीकामा कफी निर्यात गर्ने गरिन्छ । तर, मैले मेरो फामको कफी सबैभन्दा बढी नेदरल्याण्ड र नर्वे पठाएको छु । यद्यपि हाम्रो देशको काफीको माग जापान, चीन, कोरिया, सिंगापुरलयागत युरोपका धेरै देशमा छ । हामीले माग अनुसारको निर्यात गर्न सकेका छैनौं ।
नेपालमा मुख्यतया दुई प्रकारको कफी हुन्छ । १) अरबिका इस्पिसेस २) रोमस्का इस्पिसेस । अरबिका इस्पिसेस नेपालमा पाइने कफी हो जुन, ८ सय मिटरमाथि र २ हजार मिटर तलका ठाउँहरूमा रोप्न सकिन्छ ।
अरबिका कफी भियतनाम, भारतको हिमाञ्चल प्रदेश, नेपाल, दक्षिण अमेरिकालगायत पहाडी क्षेत्र भएको ठाउँमा उत्पादन हुन्छ । हाम्रो देशका धेरै युवा जनशक्ति खाडीमुलुकमा थोरै पैसामा काम गर्दै आएका छन् । यदि कफी खेतीलाई राम्रोसँग सरकारले सहयोग गर्ने हो भने, विदेश पलायन हुने युवालाई रोक्न तथा आम्दानीको प्रमुख स्रोत बनाउन सकिन्छ ।
सरकारले उद्योग वाणिज्य महासंघको ‘एक गाउँ एक खेती’ अभियानलाई साथ दिएर अगाडि बढ्ने हो भने खेती गर्न सम्भव छ । अरबिकाको धेरै प्रकार हुन्छन् । जसमध्ये १९ किसिमको मैले नै बेच्छु । यति धेरै प्रकारमध्ये सबैभन्दा राम्रो कुन हो ? नेपालको माटो र हावापानीमा कुनको उत्पादन राम्रो हुन्छ ? त्यस विषयमा सरकारले अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्छ । अहिलेसम्म सरकारबाट हामीलाई जति सहयोग हुनुपर्ने हो त्यति हुन सकेको छैन ।
अबको बजेटमा कफी खेतीलाई सरकारले उच्च महत्वपूर्ण खेतीको रूपमा राखिदिनुपर्यो । त्यस्तै सहुलियतपूर्ण ऋण किसानलाई उपलब्ध गराउनुपर्यो ।
कफीको अनुसन्धान गर्नुपर्यो र मोटो सुहाउँदो बीउ बेर्नाको व्यवस्था सरकारले गर्नुपर्छ । साथै कफी रोपेर तत्कालै फल नलाग्ने भएकाले सबै किसानलाई कम्तीमा ३ वर्षका लागि बिना ब्याजको ऋण उपलब्ध गराउनुपर्छ । यदि बिना ब्याज ऋण दिन सकिँदैन भने, कम्तीमा २÷३ प्रतिशतमा ऋण दिने व्यवस्था गर्नुपर्छ ।
ऋण दिने आधार भनेको सामूहिक जमानी र धितो राख्ने गरी दुई तरिकाले उपयुक्त हुन्छ । साना किसानलाई कफी खेतीमा संग्लन निश्चित मान्छे राखेर जमानीमा ५/७/१० लाख कति उपयुक्त हुन्छ त्यति दिने व्यवस्था हुनुपर्छ । त्यस्तै ठूला किसानलाई कफी खेती गर्न लागेको जग्गालाई नै धितो राखेर ऋण लिन पाउने व्यवस्था अबको बजेटले गरिदियोस् भन्ने हाम्रो माग हो ।
कफी रोपेपछि अदुवा र हलेदो बाहेक अन्य बाली लगाउन मिल्दैन र रोपेको ३ वर्षमा उत्पादन सुरु भए पनि राम्रो उत्पादन भने ४ वर्षबाट मात्रै दिन्छ । त्यसैले सरकाले कफी किसानका लागि विशेष व्यवस्था गर्नुपर्ने हुुन्छ । साथै कफी उत्पादन भएपछि बजारको चिन्त गर्नुपर्दैन । नेपालमा पनि कफी राम्रो खपत हुन्छ भने विदेशबाट त माग भइरहेको छ ।
मैले कफी खेती गरेको १० वर्ष भयो तर, आजसम्म पनि ऋण पाउन सकेको छैन । नेपालमा सायद, मैले जति धेरै कफी खेतीमा लगानी अरूले गरेका छैनन् । ५ सय रोपनी जग्गामा ५१ हजार बोट कफीका बिरुवा रोपेको छु ।
हामीले उत्पादन गरेको कफी लगभग सबै विदेश नै जान्छ, नेपालमा बेच्दैनौं । त्यसो गर्दा राज्यको आयस्रोतमा सहयोग पुगिरहेको छ । साथै नेपालका लागि कफी आयात गर्नुपर्दैन अन्य ठाउँमा अरू साथीले उत्पादन गरेको कफीले अहिलेसम्म माग धानी रहेको छ ।
नेपालका व्यवसायीले किसानको आँप, सुन्तला, लिचीको बोटबाटै अर्डर लिएको जस्तो विदेशीले कफीको अर्डर बोटमा नै गर्छन् । कफी विकास बोर्डले प्रतिकिलो ९० रुपैयाँ तोकेको छ बोटमा ।
सरकारले कृषि प्राविधिकको व्यवस्था, माटो परीक्षण, गरी कफी खेती गर्ने व्यवस्था बनाउनुपर्छ । मैले प्राविधिक आफैंले राखेको छु । सरकारले गुल्मीमा प्राविधिकको कार्यालय राखेको छ । तर, सरकारले राखेको प्राविधिक जनशक्ति पर्याप्त छैन ।
नेपालको कुरा गर्दा परीक्षण बिना गरिएको खेती र परीक्षण गर्दा पनि दक्ष जनशक्ति नभएको कारण केही बिरुवा छोटो समयमा नै मर्ने गरेका छन् । उपयुक्त वातावरण भएको अवस्थामा भने, २० देखि २५ वर्षसम्म पनि उत्पादन दिन्छ । त्यसैले कृषि प्राविधिकको व्यवस्था अहिलेको मुख्य आवश्यकता हो । अहिलेको प्राविधिक जनशक्ति पर्याप्त छैन । हेल्भेटास भन्ने संस्था छ र त्यसले साना किसानका लागि सहयोग गर्छ । हामी जस्तो ठूलो लगानीमा व्यवसाय सञ्चालन गरेका किसानलाई समेट्न सक्दैन ।
हामीले कृषिसँगै पर्यटनलाई पनि अगाडि बढाएका छौं । यसले आयस्रोत बढाउँछ, पर्यटन पनि बढ्छन् । शैक्षिक स्तर कमजोर भएका, पछाडि परेको समुदाय, महिलालाई कफी व्यवसायमा सहभागी गराउन र आय आर्जन बढाउन सकिन्छ ।
कोरोनाको संक्रमणले अन्य क्षेत्रमा जस्तै कफी क्षेत्रमा पनि असर गर्यो । तर, पहिलो लहरबाट कम असर भए पनि अहिलेको दोस्रो लहरबाट भने ५० प्रतिशत घाटा लाग्ने देखिन्छ । आफैंले खनजोत, गोडमेल गर्ने हुँदा ठप्प त छैन । यद्यपि सामान्य दिनचर्याको जस्तो अवस्था नहुँदा हाम्रो उत्पादनले बजार पाउन सकेको छैन ।
हामीले उत्पादन गर्ने कफी नेपालभन्दा बढी विदेश निर्यात हुन्छ र कोरोनाको संक्रमण विश्वभर फैलिएकाले जमघट हुने अवस्था छैन । त्यसले गर्दा कपी सप, होटल, रेष्टुराँ सञ्चालन हुन पाएनन् । माग धेरै घटेको छ । सामान्य रूपमा घरपरिवारमा भन्दा बढी कफीको प्रयोग भएको छैन ।
रेग्मी हिमालय अनटप अर्गानिक कफी स्टेटका सञ्चालक हुन् ।