काठमाडौं । पोखरा पर्यटन परिषदले सरकारले खोप ल्याउन नसके निजी क्षेत्रलाई अधिकार दिन माग गरेको छ । परिषदले बिहीबार एक विज्ञप्ती जारी गर्दै तत्कालै आफ्ना व्यवसायी,कर्मचारी र मजदुरहरुलाई अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाउने व्यवस्था गर्न माग गर्दै यदी नसक्ने भए त्यसको विकल्पमा आफुहरु ल्याउन तयार रहेको उल्लेख गरेका छन् ।
‘पर्यटन क्षेत्र सुरक्षित नभएसम्म देशको अर्थतन्त्र पनि कमजोर हुँदै जाने निश्चित छ , परिषदले भनेको छ, हामी चाहान्छौ सरकारबाटै यस कार्यलाई छिटो भन्दा छिटो सम्बोधन गरियोस ’ । विज्ञप्तीमा भनिएको छ, ‘यदि सरकारले यस कार्यमा विलम्ब गर्छ भने सरकारसँग पोखरा पर्यटन परिषद् आग्रह गर्दछ, ‘हामी हाम्रो पहलमा पर्यटन व्यवसायी, कर्मचारी र यस सम्बद्ध मजदुरहरुका लागि निजी प्रयास र खर्चबाट खोप आयात गरेर लगाउने व्यवस्था मिलाउँछौं । यसमा सरकारले समन्वय र सहयोग मात्र गरिदिओस । ’
पर्यटन क्षेत्रलाई सुरक्षित राख्न यस क्षेत्रका पर्यटन व्यवसायी कर्मचारी र मजदुरलाई खोप अनिवार्य लगाउन आवश्यक रहेकोले सरकारको ध्यानाकर्षण गराएको अध्यक्ष गोपीबहादुर भट्टराईको भनाई छ ।
निजी क्षेत्रलाई विश्वासमा लिएर सरकारले खोप आयातमा कुटनीतिक पहल गर्ने हो भने मुलुकमा छिटो खोप आयात भै नागरिकलाई लगाउने वातावरण मिल्ने देखिएकाले यथाशिघ्र यसमा ध्यान दिन सरकारलाई आग्रह गरिएको छ ।
यस अघि सार्क मुलुकमा नेपालले पनि खोपलाई प्राथमिकता दिएर दुई चरणसम्म कोभिडबिरुद्धको राष्ट्रिय खोप कार्यक्रम गरिरहँदा सर्वसाधरणमा आत्मबल बढेको पाइएपनि पछिल्लो सयम खोप आयात र वितरणमा समस्या देखिँदा अहिले जताततै निराशा छाउँदै गएको उल्लेख छ ।
नेतृत्व आफू खोप लगाएर सुरक्षित भएपछि नागरीकको स्वास्थ्य प्रति गम्भिर नहुनु र जिम्मेवार नेतृत्व व्यक्तिगत आर्थिक लाभ तर्फमात्र सोच्नु, खोप खरीद गर्ने प्रक्रियामा अग्रसरता नदेखाउने जस्ता कतिपय क्रियाकलाप र समचारहरु देख्दा आम नागरिकमा उदासिनता छाएको परिषदको ठम्याई छ ।
‘स्वास्थ्य जस्तो संवेदनशील कुरामा सरकार कसरी मौन बस्न सक्छ ? यसले हामीलाई निकै दुःख लागेको छ,परिषदका अध्यक्ष भट्टराईले विज्ञप्ती मार्फत भनेका छन्, सरकारलाई खोप उत्पादक कम्पनी र मुलुकसँग कुटनीतिक पहल गरेर यथासक्य छिटो खोप उपलब्ध गराउन तर्फ सरकारको ध्यानकार्षण गराउन चाहान्छौ । ’