पोखर । कोभिड–१९ को महामारीमा अपांगता भएका व्यक्तिहरू थप जोखिममा रहेको भन्दै उनीहरूको आवाजलाई सञ्चार माध्यमले प्राथमिकता दिन अपांगमैत्री सूचना सामग्री प्रयोग गर्न सरोकारवालाहरूले आग्रह गरेका छन् ।
स्वावलम्बन जीवनपद्धति केन्द्र–पोखराले कोभिड महामारीमा अपांगता भएका व्यक्तिहरूको अवस्था र मिडियाको भूमिका विषयक भर्चुअल अन्तक्र्रिया कार्यक्रममा सहभागीहरूले विभिन्न कारणले अपांगता भएकाहरूको अधिकारलाई स्थापित गर्न सञ्चार माध्यमले अपांगमैत्री शब्द र सामग्री प्रयोग गर्न आग्रह गरेका हुन् ।
दृष्टिविहीन पत्रकार एवं कास्की नेत्रहीन संघका अध्यक्ष श्रीकान्त सापकोटाले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गर्दै सञ्चार माध्ययमा अझै पनि अपांगता भएका समुदायलाई होच्याउने र विभेद गर्ने खालका शब्दहरू प्रयोग गरिएका समाचारहरू प्रकाशन प्रसारण हुँदै आएको बताए । आमनागरिकलाई सुसूचित गराउने सशक्त माध्यम र सञ्चारकर्मीले अपांगतामैत्री भाषाको प्रयोग नगरिदिँदा यस क्षेत्रका व्यत्तिको आत्मसम्मानमा चोट पुग्न गएको उनको भनाइ थियो ।
उनले शारीरिक अंग वा प्रणालीमा भएको समस्या तथा कठिनाइको आधारमा १० प्रकारको अपांगता भएको जानकारी दिए । उनका अनुसार शारीरिक अपांगता, दृष्टिसम्बन्धी अपांगता, दृष्टिविहीनता, न्यूनदृष्टियुक्त, पूर्ण दृष्टिविहीन, सुनाइसम्बन्धी अपांगता, बहिरा, सुस्त श्रवण, श्रवण दृष्टिविहीन अपांगता, स्वर र बोलाइसम्बन्धी अपांगता, मानसिक वा मनोसामाजिक अपांगता, बौद्धिक अपांगता, अनुवंशीय रक्तश्राव (हेमोफिलिया), अटिज्मसम्बन्धी अपांगता, बहुअपांगता रहेको छ ।
केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङले शारीरिक मानसिक बौद्धिक वा इन्द्रीयसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा विद्यमान अवरोधको कारण अपांगता भएकाहरूको जनजीवन सहज हुन नसकेको बताए । उनले अन्य व्यक्ति सरह समान आधारमा पूर्ण र प्रभाकारी ढंगले समाजिक जीवनमा सहभागी हुन बाधा भएको यथार्थ प्रस्तुत गर्दै सञ्चारमाध्यमा अपांगताका मुद्दाहरूलाई प्राथमिकता दिन आग्रह गरे ।
उक्त भर्चुअल कार्यक्रममा सहभागी हुँदै संस्थाका परियोजना अधिकृत लोकप्रसाद ढकालले सञ्चार माध्यममा पर्याप्त सांकेतिक भाषा प्रयोग नभएको, टेलिभिजनका आएका क्याम्पसनहरू अपांगता भएका व्यक्तिहरूले देख्ने र बुझ्न खालको नभएको बताए ।
केन्द्रका महासचिव अञ्जना केसीले अपांगता भएका व्यक्तिहरूको समाचार सञ्चार माध्यममा आए पनि अझै गम्भीर समस्या समेटिएका कथा व्यथाहरू बाहिर आउन नसकेको बताए । सञ्चार माध्यमका सूचना अधिकांश अटिज्म, बहुअपांगता भएका, बहिरा समुदाय र बौद्धिक अपाङगता भएका व्यक्तिहरूको पहुँचमा पुग्न नसकेको उनको भनाइ थियो ।
केसीले कार्यक्रममा विभिन्न सञ्चार माध्यमका २० जना पत्रकारले अपांगतासम्बन्धी प्रयोग हुने शब्दावली एवं त्यसको अर्थ र अपांगतासम्बन्धी अधिकारका विषयमाथिको छलफलमा सक्रिय सहभागित जनाएको जानकारी दिए ।
यसअघि केन्द्रले महामारीका समयमा सूचना, सञ्चार र सेवासुविधामा अपांगता भएका व्यक्तिहरूको पहुँचको अवस्थासम्बन्धी सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गरेको थियो ।