काठमाडौं । कम्युटर एसोसियसन महासंघ नेपाल (क्यान)ले सूचना प्रविधिको प्रयोगलाई बढाउन आग्रह गरेको छ । क्यानले निषेधाज्ञा र स्वास्थ्य प्रणालीको कार्यान्वयन प्रति आफ्नो ध्यानकर्षण भएको जनाउँदै प्रभावकारीताको लागि सूचना प्रविधिको प्रयोग बढाउन आग्रह गरेको हो ।
हाल देशका ७० जिल्लामा पूर्ण र ४ जिल्लामा आंशिक रुपमा निषेधाज्ञा रहेको जनाउँदै क्यानले सरकार र सम्बन्धित निकायलाई प्रविधिको प्रयोग बढाउन अनुरोध गरेको छ ।
क्यानका अनुसार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एक पटक मात्रै कोरोना संक्रमण बारे जानकारी दिँदा अस्पतालमा बिरामीको संख्या र मन्त्रालयको तथ्यांकमा फरक पर्दै आएको छ ।
त्यसैले प्रत्यक घण्टा सूचना अद्यावधि गर्ने व्यवस्था गर्नु पर्छ । साथै शेयर बजार लगायत अन्य क्षेत्रले सूचनाको प्रभावकारी प्रयोग गरि फाइदा लिए पनि स्वास्थ्य क्षेत्र पछि पर्नु राम्रो नभएको क्यानको निस्कर्ष छ ।
सूचना प्रविधिको क्षेत्रमा आवश्यक सहयोग गर्न क्यान तयार रहेको बताउदै करिब डेढ वर्ष पहिला नेपाल सरकार, मन्त्रिपरिषद्बाट पारित भएको डिजिटल नेपाल फ्रेमवर्क–२०७६ को कार्यान्वयन गर्न समेत क्यानको आग्रह छ ।
दूरञ्चार अत्यावश्यक सेवा भित्र परेपनि सूचना तथा सञ्चार प्रविधि पर्न सकेको छैन । हाल कम्प्युटर जन्य सामानको बिक्रि वितरण र तथा मर्मत बन्द रहेको छ । यसले निषेधाज्ञा कार्यान्वयन गर्न चुनौती हुने भएकाले सरकार गम्भिर हुनुपर्ने क्यानले जनाएको छ ।
औषधी, खाद्ययवस्तु लगायत अत्यावश्यक सामान अनलाईन मार्फात् किनमेल गर्ने व्यवस्था मिलाउन क्यानको अनुरोध छ । त्यस्तै अत्यावश्यक सामानको पसलहरुमा अनिवार्य रुपमा ई–बैकिङ मार्फत् भुक्तानी गर्ने व्यवस्था मिलाइ नगत कारोबार घटाउन क्यान जनाएको छ ।