काठमाडौं । डेरी उद्योग संघले पशुपंक्षी विकास मन्त्रालय र अर्थ मन्त्रालय समक्ष दुग्ध क्षेत्रको समस्या समाधान गर्न आग्रह गरेको छ । संघले कोरोनाको कारण थला परेको दुग्ध क्षेत्रलाई उकास्न आग्रह गरेको हो ।
संघले देशभरी दुग्ध व्यवसायमा आबद्ध व्यक्तिले कोभिड विरुद्धको खोप पाउन नसकेकाले सहज रुपमा तत्काल खोप उपलब्ध गराउन माग गरेको छ । त्यस्तै चालु पुँजीको अभावमा किसानको नियमित भुक्तानी, धुलो दुध कन्भरसन ज्याला र कर्मचारीको तलव दिन समेत समस्या रहेकाले डेरी उद्योगहरुमा भएको मौज्दातको आधारमा १० करोड रुपैयाँसम्म सहुलियत कृषि कर्जा उपलब्ध गराउन संघले आग्रह गरेको छ ।
संघका अनुसार, स्वदेशी दुग्धजन्य पदार्थको मौज्दातले आन्तरिक बजार धान्न सक्छ । तर, बाहिरबाट दुग्धजन्य पदार्थ आयात भइरहेकाले त्यसलाई रोक्नु पर्ने बताइएको छ । साथै कोभिड १९ को पहिलो तथा दोश्रो लहरमा किसानको बिक्री हुन नसकी खेर गएको दूधमा प्रति लिटर १० रुपैयाँ अनुदान दिनुपर्ने, झोल दूधबाट धुलो दूध बनाउदा प्रति लिटर १६ देखी २१ रुपैयाँसम्म नोक्सान हुन्छ । त्यसैले दुधको समस्या हटाउन ६ रुपैयाँ अनुदान दिने व्यवस्था गर्न संघले माग राखेको छ ।
डेरी उद्योग तथा सहकारीहरुले प्रयोग गर्ने विद्युतमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गर्न संघको आग्रह छ । साथै गत वर्ष कोरोनाको संक्रमणमा चीन र अष्टे«लिया लगायतका देशहरुले स्वच्छ एवं प्रशोधित दूध कम्तीमा प्रति व्यक्ति दैनिक ३ सय मिलि लिटर सेवन गर्दा रोग प्रतिरोधामत्कम क्षमता बढेको र कोरोनाको दोस्रो लहरमा संक्रमण घटेको भन्दै नेपालमा पनि दुधको प्रचार गरी खपत बढाउन संघको आग्रह छ ।
गत वर्षको लकडाउनदेखि दैनिक रुपमा करिब ७० प्रतिशतसम्म दूध तथा दुग्धजन्य पदार्थहरुको खपत नभएको संघले जनाएको छ । किसान तथा सहकारी संस्थाहरुबाट दूध उठाई चितवन मिल्क र सुजल डेरी पोखरीमा झोल दूधबाट धुलो दूध र बटर बनाइएको थियो । यस वर्षको निषेधाज्ञामा पनि ३० प्रतिशत मात्रै बिक्री वितरण भएकाले डेरीमा मौज्दात रहेकाले धुलो दुध, बटर पनि कम खपत हुने डेरी उद्योग संघको अनुमान छ ।
गत वर्ष करिब ३ हजार टन धुलो दूध र २ हजार ५ सय टन बटर तथा अन्य दुग्धजन्य पदार्थको करिब ४ अर्ब २५ करोड रुपैयाँ बराबरको उत्पादन मौज्दात रहदा डेरी उद्योगहरु मारमा परेका छन् ।
सामान्य अवस्थामा देशभरिका डेरी उद्योग, विस्कुट कन्फेसनरी तथा अन्य खाद्य उद्योगहरुमा करिब ४ हजार मेटिक टन वार्षिक रुपमा धुलो दूध खपत हुने अनुमान छ । तर, अहिले डेरी उद्योग संघअन्तर्गतका ३९ वटा डेरी उद्योग, दुग्ध विकास संस्थान र देशभरीका सबै डेरीमा गरी करिब ५ हजार ५ सय देखि ६ हजार टन धुलो दूध र त्यति नै परिमाणमा बटर मौज्दात रहेको छ ।
आगामी दशैसम्म यस्तै अवस्था रहने हो भने, किसान तथा उद्यमीहरु आफ्नो पेशाबाट पलालय हुने भएकाले सरकारी पक्षले ध्यान दिनु पर्ने संघले जनाएको छ ।