काठमाडौं । कोरोना संक्रमणको विषम परिस्थितिसँग जुध्न डिजिटल रूपान्तरण अत्यावश्यक छ भन्ने सन्देशसहित विश्व दूरसञ्चार तथा सूचना समाज दिवस (डब्ल्यूटीआईएसडी) कार्यक्रम सम्पन्न भएको छ ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले मे १७ का अवसरमा सोमबार भर्चुअल कार्यक्रम गरेको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले यस फोरममा आएका विज्ञका सुझाबका आधारमा नीति निर्माण गर्ने र आवश्यक भए परिवर्तन गर्न मन्त्रालय अग्रसर हुने बताए ।
‘अहिले दूरसञ्चारर क्षेत्रलाई अझ बढी भरपर्दो बनाउन आवश्यक छ,’ मन्त्री गुरुङले भने, ‘कोभिड विभिन्न चरणमा आउने छन् । हाम्रो सेवालाई निरन्तर दिने प्रतिबद्धता गरौं । मानवसेवाका निम्ति एकजुट हौं ।’
नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस क्षेत्रको विकासका लागि प्रतिवद्धताको खाँचो रहेको बताए । ‘प्रतिबद्धता लिएर योजनाबद्ध रूपमा अगाडि बढ्ने हो भने डिजिटल रूपान्तरण गर्न गाह्रो छैन,’ उनले भने, ‘प्रत्येक निकायबाट प्रतिबद्धता आउनुपर्छ ।’
सञ्चार सचिव हरि बस्यालले कोभिडको अहिलेको समयमा अन्य कुनै पनि पूर्वाधारले काम नरेको अवस्थामा सूचना प्रविधिले काम गरिरहेको प्रतिसजग गराए ।
सुबिसुका अध्यक्ष सुधीर पराजुलीले दूरसञ्चार क्षेत्रको विकासका लागि लागत मूल्य घटाउनु पर्ने बताए ।
नेपालमा अहिले पनि इन्टरनेटमा ४६ प्रतिशतभन्दा धेरै कर लागिरहेको भन्दै जसरी लागत कम गर्न सकिन्छ त्यसैअनुसार सेवा सस्तो बनाउन सकिने बताए ।