काठमाडौं । प्रभु क्यापिटल लिमिटेड सामुहिक लगानी कोष अन्तरगत पहिलो योजना प्रभु सेलेक्ट फण्डको जेठ ५ गते बुधबारदेखि बिक्री खुला भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।
यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक र योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गर्ने छ ।
निष्काशित कुल १० करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंकले १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटलले १० लाख इकाई गरी कूल १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले जेष्ठ ५ गतेबाट आवेदन दिन सक्नेछन् ।
फण्डको इकाईमा इच्छुक लगानीकर्ताले छिटोमा जेष्ठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेमा ढिलोमा जेष्ठ १५ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले बताएको छ ।
कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तिय अवस्था सवल भएको कम्पनीहरुमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु सेलेक्ट फण्ड राखिएको कम्पनीले जनाएको छ ।
यो योजनाबाट संकलन भएको रकम अधिकतम ३० वटा सेलेक्टेड कम्पनीहरुमा लगानी गरी त्यसैमध्येबाट नियमित खरिदबिक्री गरिनेछ ।
प्रभु सेलेक्ट फण्ड कस्तो योजना हो ?
विशेषतः यो एउटा सामुहिक लगानी योजना हो । जसले लगानीकर्ताहरुलाई युनिट बिक्री गरी संकलन गरेको रकमलाई भ्यालु भएका तथा ग्रोथ गर्ने सम्भावना रहेका कम्पनीहरुका साथै प्रतिफलका हिसाबले उच्च प्रतिफल सिर्जना गर्न सक्ने तथा वितरण गर्न सक्ने कम्पनीहरुको छनौट गरी लगानी गर्छ ।
यसरी तयार गरीएको लगानी पोर्टफोलियोलाई बजारमा आउने सामान्य उतार चढावहरुले खासै असर नगर्ने किसिमले संरचना तयार गरिने भएको हुँदा योजनामा सहभागी लगानीकर्ताहरुले तुलनात्मक रुपमा आफ्नो लगानी सुरक्षित तथा उच्च प्रतिफलयुक्त रहेको पाउने छन ।
प्रभु सेलेक्टिभ फण्डमा नै किन लगानी गर्ने ?
बजारमा धेरै सामुहिक लगानी कोषहरु अहिले सञ्चालनमा छन् । ती सबै योजनाहरु आ–आफ्नै प्रकिृतिका छन् । तिनीहरुको उद्देश्य पनि भिन्नाभिन्नै छ । प्रभु सेलेक्टिभ फण्डको पनि प्रकृति अरु भन्दा भिन्न छ साथै यसको उद्देश्य र यसले कार्य गर्ने संरचना पनि अन्य फण्डहरुको भन्दा भिन्न छ ।
अन्तर्राष्ट्रिय पूँजी बजारमा हेर्ने हो भने ग्रोथ र भ्यालु बेष्ड लगानी रणनीतिलाई उत्कृष्ट रणनीति मानिन्छ । तसर्थ पनि लगानीकर्ताहरुले आफ्नो लगानी वृद्धि तथा उत्कृष्ट प्रतिफल प्राप्तिका लागि यस्तो रणनीतियुक्त म्युचुअल फण्डहरुलाई बढि महत्व दिएको पाइन्छ ।
क्यापिटलका अनुसार प्रभु सेलेक्टिभ फण्डले औषतमा वार्षिक २० प्रतिशत प्रतिफल दिने लक्ष्य राखेको छ ।