काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष २०२० को शुभारम्भको उद्घाटन अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका हातबाट गर्ने चाहना राखेका छन् ।
आउँदो जनवरीको पहिलो साता विश्वभर भ्रमण वर्षको शुभारम्भ गर्ने बताउँदै त्यस बेला उद्घाटनको दियो डोनाल्ड ट्रम्प र नरेन्द्र मोदीका हातबाट बाल्ने वातावरण मिलाउन सम्बन्धित देशका राजदूतहरुलाई निर्देशनसमेत दिए ।
नेपालमा धेरैभन्दा धेरै पर्यटक पठाउन विदेशस्थित राजदूतहरुको ठूलो भूमिका रहने बताउँदै उनीहरुलाई गम्भीर भएर लाग्न मन्त्री भट्टराईले सुझाव दिएका हुन् । ‘राजदूतहरुलाई विदेशमा बुढेसकालमा बिदा मनाउन राज्यले पठाएको हैन,’ मन्त्री भट्टराईले भने, ‘देशका लागि विषेश योगदान उहाँहरुले पनि दिनुपर्यो ।’
भ्रमण वर्ष नजिकिरहेका बेला सरकारले राखेको लक्ष्य पूरा गर्न विदेशमा रहेका नेपालीहरुको ठूलो भूमिका रहने बताउँदै उनले उनीहरुलाई पनि सक्रिय बनाउन आवश्यक पर्ने बताए । अहिले धेरै नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेशमा गएको बताउँदै उनीहरुलाई अध्ययन गराउने प्राफेसरहरुलाई बिदा मनाउन नेपाल पठाउने वातावरण बनाउन सक्नुपर्ने मन्त्री भट्टराइको भनाइ छ । यस्तै धेरै नेपालीहरु रोजगारीका लागि विदेशमा रहेका कारण आफ्ना हाकिम र साथीहरुलाई बिदा मनाउन नेपाल पठाउने वातावरण पनि बनाउन आवश्यक रहेको बताए ।
गैरआवसीय नेपालीहरुले पनि धेरैभन्दा धेरै पर्यटक पठाउने वातावरण सिर्जना गरे २० लाख पु¥याउन कुनै समस्या नहुने भएकाले पर्यटनका लागि सबैले अपनत्व ग्रहण गर्न अनुरोध गरेका छन् । २०२० मा सबैभन्दा बढी पर्यटक भित्र्याउनेलाई विशेष सम्मान दिने सरकारको तयारी रहेको जानकारी दिए ।
भ्रमण वर्षलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा पर्यटन व्यवसायीहरुलाई तीन दिनभित्र लिखित सुझाव दिन मन्त्री भट्टराईले निर्देशन दिएका छन् । सुझावसँगै आफ्ना तर्फबाट भ्रमण वर्षका लागि कस्तो सहयोग गर्ने र कति पर्यटक ल्याउन सकिन्छ भन्ने प्रतिबद्धतासमेत दिन अनुरोध गरेका छन् ।
भ्रमण वर्षको सचिवालयमा सुझाव दिन भन्दै ती सुझावलाई अध्ययन गरी १५ दिनभित्र नयाँ कार्ययोजना ल्याउने प्रतिबद्धता जनाएका छन् । हालसम्म भएका प्रयास राम्रा भएको बताउँदै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा नयाँ कार्ययोजना सार्वजनिक गर्ने मन्त्री भट्टराईको भनाइ छ ।
आगामी जनवरी १ मा सातै प्रदेशमा तामझामका साथ भ्रमण वर्षको शुभारम्भ गर्ने गरी तयारी थाल्न सचिवालयलाई निर्देशन दिएका छन् । उनले त्यसअघि टुँडिखेलमा २०औं हजार व्यक्तिको उपस्थितिमा देशभरका पर्यटन व्यवसायीलाई भेला गराएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत साथमा राखी सपथ खुवाउने बताए ।