काठमाडौं । नेपालकै पुरानो र प्रतिष्ठित पाँचतारे होटल सोल्टी अब ‘दी सोल्टी काठमाडौं’ को नाममा सञ्चालनमा आउने भएको छ । यसको व्यवस्थापन तथा संचालन अबदेखि हस्पिटालिटी क्षेत्रमा ५४ वर्षभन्दा बढीको अनुभव प्राप्त सोल्टी होटल आफैंले गर्ने भएको हो ।
यसअघि होटलको व्यवस्थापन गर्दै आएको इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आइएचजी)को व्यवस्थापन सम्झौता समाप्त भएसँगै नयाँ ब्राण्डमा सञ्चालन हुने कम्पनीका कार्यकारी अध्यक्ष दिनेशबहादुर बिष्टले जानकारी दिए ।
सोल्टी होटल र इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आइएचजी)को व्यवस्थापन सम्झौता समाप्त भएपश्चात होटललाई ‘दी सोल्टी काठमाडौं’ को रूपमा रि ब्रान्डिंग गर्न लागिएको उनको भनाइ छ ।
करिब बाह्र एकड जग्गामा सुन्दर हरियाली बगैंचा सहितको प्राकृतिक रमणीय वातावरणको दृश्यावलोकन युक्त, सुन्दर आकर्षक वास्तुकलाबाट सुशोभित यस पाँचतारे होटलमा आरामदायी, उच्चस्तरको, मनमोहक ढंगबाट सुसज्जित गरिएका २ सय ८५ वटा पाहुना कोठा र विशिष्ट स्तरका सुइटहरू रहेको कम्पनीका उपाध्यक्ष सुदर्शन चापागाईले जानकारी दिए।
काठमाडौं सहरको मुख्य केन्द्र ताहाचल क्षेत्रमा अवस्थित दी सोल्टी काठमाडौं होटल विक्रम संवत् २०२३ सालमा उदघाटन भई शुभारम्भ गरिएको थियो। विगत वर्षौदेखि यो होटल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिविशिष्ट पाहुनाहरु, राष्ट्र प्रमुख, लब्धप्रतिष्ठित विशिष्ट व्यक्तित्वहरू, शीर्ष प्रतिष्ठित उद्योगपतिहरु लगायतको रोजाइमा पर्दै आएको छ।
यसका अतिरिक्त, नेपालमा सुसम्पन्न भएको प्रथम सार्क शिखर सम्मेलनको आयोजना गर्नुपूर्व सो सम्मेलनका लागि विशेष रुपमा डिजाइन गरी निर्माण गरिएका सातवटा वैभवपूर्ण राजकीय सुइटहरू समेत यस होटेलमा छन्। होटलभित्र विशिष्ट क्लब फ्लोर तथा क्लब लाउन्ज जस्ता सुविधायुक्त कक्षका कारण यो होटल पहिलो छनौटमा पर्ने गरेको छ।
अतिथि पाहुनाहरुको लागि तीन विशिष्ट रेस्टुराँ सहित, होटलले पाक विशेषज्ञ सेफहरूबाट तयार पारिएका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट र स्वादिष्ट भोजन, पारखीहरुलाई विशिष्टता सहितको स्वादको अनुभव प्रदान गर्ने होटलले जनाएको छ।
होटलमा विशिष्ट श्रेणीका रेस्टुराँहरु, चिनियाँ खानाको परिकार पस्कने बाओ स्वान रेस्टुराँ, भारतीय खानाको परिकार पस्कने काकोरी रेस्टुराँ, इटालियाली खानाको परिकार पस्कने अल्फ्रेस्को रेस्टुराँ तथा दिनभरि नै बहु–व्यंजन पस्कने आँल डे डाइन गार्डन टेरेस रेस्टुराँ छन्।
होटलमा सभा समारोह तथा बैठकहरुका लागि निर्मित विशिष्ट तथा पृथक–पृथक क्षेत्रमा अवस्थित अत्याधुनिक सुविधा सम्पन्न दश वटा बैठक तथा सभा सम्मेलन कक्षहरु छन्। जसमा लगभग दुई हजार जना भित्र र तीन हजार जना बाहिर समायोजन गर्न सक्ने क्षमताको पर्याप्त ठाउँ रहेको छ ।
यो होटल काठमाडौं सहरमा फुर्सदमा गरिने सबै किसिमका मनोरञ्जनात्मक कार्य, व्यावसायिक भेटघाट, बैठकहरू, सभा सम्मेलनहरु, प्रीतिभोजहरू तथा सामाजिक कार्यक्रमहरूका लागि विशेष मानिन्छ।
होटलका उत्पादनहरू र सेवाहरूको स्तरोन्नति तथा अभिवृद्धि गर्दै विगतभन्दा पनि अझ बढी उदाहरणीय तथा अतुलनीय बनाउँदै आफ्नो विरासतमा प्राप्त ख्यातीलाई अभिवृद्धि गर्दै लैजाने प्रतिबद्धता होटलले जनाएको छ।
होटलमा उत्कृष्ट प्रिमियम रात्रि क्लब प्रिभे रहेको छ। यहाँ नेपालको पहिलो तथा शहरकै सर्वोत्कृष्ट अत्याधुनिक सुविधासम्पन्न सबै भन्दा ठूलो क्यासिनो समेत छ। स्वीमिङ पूल, सुविधा सम्पन्न टेनिस कोर्ट, तथा यस्तै अन्य मनोरञ्जनात्मक सुविधाहरू पनि यहाँ छन्।
‘दी सोल्टी काठमाडौं’का अतिरिक्त यस कम्पनीको स्वामित्वमा एलएसजी स्काई शेफ काठमाडौं पनि रहेको छ।कम्पनीले नेपालगञ्जमा ‘सोल्टी वेष्टेण्ड प्रिमियर’ पाँचतारे होटल पनि स्थापित गरेको छ।