काठमाडौं । देशमा कुनै संकट वा विपत्तीहरू आइपर्छ जब राष्ट्रिय ध्वजावाहककै जिम्मेवारी बढी हुन्छ । सुरक्षा निकाय, सरकारी चिकित्सकहरूको जस्तै जिम्मेवारी नेपाल वायुसेवा निगमले पनि निर्वाह गरेकै हुन्छ ।
मुलुक दुई वर्षदेखि कोरोना भाइरस(कोभिड–१९)को चपेटामा परेको छ । भाइरसको संक्रमण तीब्र गतिमा बढेसँगै अहिले अन्तर्राष्ट्रिय र आन्तरिक उडान पूर्णरूपमा बन्द छ । तर, निगमका जहाजलाई भने स्वास्थ्य सामग्री ओसार्न होस् वा अलपत्र परेका नागरिकको उद्धारका लागि भ्याइनभ्याइ छ ।
संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उच्च स्वास्थ्य सर्तकता अपनाउँदै निगमका कर्मचारीहरू भने यति बेला राहत र उद्धारमा क्रियाशील देखिन्छ ।
गत वर्ष पनि कोभिडका कारण अलपत्र परेका अधिकांश नेपालीहरू निगमकै जहाजबाट उद्धार गरिएको थियो भने स्वास्थ्य सामग्रीहरू पनि सोही जहाजबाट ल्याइएको थियो ।
अहिले पनि अरू एयरलाइन्सका कर्मचारीहरू बिदामा बसेर सुरक्षित साथ बसिरहेको बेला निगमका कर्मचारीहरू पनि दैनिक रूपमा दौडधुप गरिरहेका छन् ।
निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले अक्सिजन सिलिण्डर ओसार्ने काममा व्यस्त रहेको बताए । केही दिन अघिबाट चीनबाट ४०० थान सिलिण्डर ल्याएर आएको जहाज शनिबार ओमान जाने तयारीमा रहेको बताए ।
गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरूप प्राप्त हुने करिब ६ सय थान अक्सिजन सिलिन्डर लिन आगामी ओमानको राजधानी मस्कट जान लागेको उनको भनाइ छ ।
‘त्यही दिन साँझ चीनको बेइजिङमा संकलित करिब ४ सय थान अक्सिजन कन्सन्टे«टर, ४ सय थान सिलिन्डर र अन्य चिकित्सक सामग्री लिन जाने तयारी गरिरहेका छौं, महाप्रवन्धक पौडेलले भने, त्यसपछि हरेक दिन ५ सय ५० थान सिलिन्डर उत्पादन हुने भएकाले हरेक दिन ए ३३० बिमान बेइजिङ पठाउने छौं ।’
योसँगै अन्यत्र उपलब्ध हुन सक्ने सामानहरू ल्याउन लागि निगमका सबै जहाजहरू तयारी अवस्थामा राखिएको उनले बताए ।