काठमाडौं पानीपोखरी । नेसनल डेन्टल हस्पिटलको अपोजिटतिरको ओरालोमा छ, जेनेसिस क्याफे । यहाँ एक पटक कोही पुगेको छ भने उसलाई जाऊँजाऊँ लाग्छ । यसको एउटै कारण हो, यहाँको डेकोरेसन ।
डेकोरेसन कस्तो छ त ?
भित्ताहरुमा झुडइएका हेल्मेट । बाइकका स्पेयर पार्ट्स । मोबिल, राइडरहरुका थरीथरीका तस्बिर र पेन्टिङहरुले तपाईं कुनै बाइकको सोरुममा पुगेको आभास पनि दिलाउन सक्छन् ।
तर नझुक्किनुस्, यो सोरुम होइन, रेस्टुराँ नै हो ।
क्याफेको डाइन हलदेखि लिएर बारसम्म कुनै न कुनै बाइकहरु प्रदर्शनका लागि राखिएका छन् । डाइन हलसँगै छ, क्याफेको हार्ले लाउन्ज । त्यसभित्र मोटरसाइकलको भव्य पेन्टिङ, सिलिङमा हार्ले डेभिडसन बाइकको लोगो र ससाना बाइक पनि राखिएका छन् । त्यति मात्र होइन, एडभेन्चर, बाइक राइडिङ र यात्रा गर्नेहरुका मनमोहक भिडियो रेकर्ड पनि सँगै प्ले भइरहेको देख्दा मन त्यसैत्यसै आनन्दित हुन्छ ।
यो नयाँ कन्सेप्टलाई मूर्त रुप दिने व्यक्ति हुन्, अतित श्रेष्ठ । आफ्नो प्यासन र प्रोफेसनलाई मिलाएर एउटा नौलो उद्यमशीताको रुप दिएका हुन् उनले । अस्ट्रेलियाबाट फर्केर सन् २०१६ अगस्टमा अतितले साथी सौजनमान प्रधानसँग जेनेसिस क्याफे सुरु गरेका हुन् । यस प्रकारको क्याफेको अवधारणा नै नयाँ भएका कारण नाम पनि यसैअनुरुप जेनेसिस राखिएको उनी बताउँछन् ।
बाइकप्रेमीहरुका लागि जेनेसिस क्याफे एकदमै अनुकूल एवम् आत्मीय ठाउँ हो । यहाँ बाइकर्सहरुको जमघट बाक्लै हुने गरेको अतितको भनाइ छ । तर यो रेस्टुराँ बाइकर्सका लागि मात्र नभई सामान्य मानिसहरुका लागि पनि उत्कृष्ट गन्तव्य हुन सक्छ ।
क्याफे परिसरमा सन् १९७२ देखि १९९० सम्मका पुराना, एन्टिक, एक्जर्टिक र विभिन्न ब्रान्डका बाइक राखिएका छन् ।
बाइक थिमका अलावा कस्टमरहरुले जेनेसिस क्याफेमा विभिन्न ठाउँहरुका लोकप्रिय लोकल खाना उपलब्ध छन् । यहाँ थकाली समुदायको नेपाली थाली, चित्लाङको गट चिज, सोलुखुम्बुको चिज, सिमी, टिमुर, मुस्ताङको आलु, मकवानपुरको तरकारीहरु आउने गरेको अतितले बताए । अन्य रेस्टुराँमा पाइने जस्तै मःम, चाउमिन, चिकेनका विभिन्न परिकार आदि त यहाँ पाइन्छ नै ।
विभिन्न ठाउँको लोकल स्वाद र खुराकहरुको खोजी गर्न र त्यसलाई आफ्नो क्याफेमा ल्याउन उनी नेपालका विभिन्न दुर्गम ठाउँमा समेत जाने र त्यहाँका मानिसहरुसँग कुराकानी गर्ने गरेका छन् । त्यहीअनुरुप क्याफेमा नयाँनयाँ परिकार उपलब्ध गराउँदै आएको उनको भनाइ छ । त्यसैले अतित जेनेसिसलाई केही लोकल र बढी आधुनिक स्ट्यान्डर्डको क्याफे भन्न रुचाउँछन् ।
जेनेसिसले समयसमयमा बाइकको ब्रान्ड प्रमोसन गर्न इभेन्ट पनि गर्दै आएको छ । केही समयअघि मात्र जेनेसिसमा हार्ले डेभिडसन र यामाहाको पनि इभेन्ट गरिएको थियो ।
जेनेसिसका नियमित ग्राहक हुन् सुवीन्द्र मानन्धर । केही साथीहरुबाट जेनेसिसबारे सुनेर यहाँ आएको उनी बताउँछन् । यहाँको खाना, सेवा र हस्पिटालिटीबाट आफू एकदमै प्रभावित भएको उनको भनाइ छ । घरेलु, आत्मीय एवम् शान्त वातावरण पाइने उनले बताए ।