काठमाडौं । गत आर्थिक वर्ष २०७५/०७६ को एक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी सडक र पुल निर्माण भएका छन् । उक्त अवधिमा सडकतर्फ कुल ९२८ किमी कालोपत्रे भएको छ । १२०० किमी सडक कालोपत्रे गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य राखिए पनि विगतका वर्षमा भन्दा सबैभन्दा बढी सडक ‘कालोपत्रे’ भएको सडक विभागले जनाएको छ ।
त्यसैगरी, ३०० पुल निर्माणको लक्ष्य भए पनि २४३ पुल निर्माण भएका छन् । पुल निर्माणका लागि विनियोजित रकम अपुग भएको विभागले जनाएको छ । पछि, बजेट थप गरी पुल र सडक निर्माणलाई तीव्रता दिइएको थियो ।
कुल १३५० किमी नयाँ सडक मर्मत गरिएको र ४४० किमी नयाँ ट्रयाक खोलिएको विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए । विगतका हरेक वर्षभन्दा गत आवमा सबैभन्दा बढी सडक र पुल निर्माण भएको उनले बताए । ‘विभागले अहिलेसम्म सबैभन्दा बढी गत आवमा प्रगति हासिल गरेको छ,’ उनले भने, ‘यसअघि ४/५ सय किमी मात्रै सडक कालोपत्रे हुन्थ्यो । गत वर्ष ९२८ किमी सडक कालोपत्रे गरेका छौं ।’
गत आवमा सडक विभागलाई कुल विनियोजित बजेट ७२ अर्ब रुपैयाँ थियो । पछि, लक्ष्यअनुसार सडक र पुल निर्माण गर्न थप बजेट निकासा भएपछि उल्लेख्य प्रगति भएको सापकोटाले बताए ।
गत आवमा १ खर्ब १० अर्ब रुपैयाँ बजेट निकासा भएकोमा ८० अर्ब अर्थात् ७४ प्रतिशत रकम मात्रै खर्च भएको विभागले जनाएको छ ।
रणनीतिक महत्त्वका सडक र पुल निर्माणमा केही ठूलो बजेट खर्च भएको विभागले जनाएको छ । हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्गलगायतका केही सडक आयोजनामा बढी बजेट छुट्याइएको थियो ।
हुलाकी राजमार्ग आयोजनाले पनि गत आवमा झन्डै ८० प्रतिशतभन्दा बढी भौतिक र वित्तीय प्रगति हासिल गरेको विभागले जनाएको छ । मध्यपहाडी राजमार्गको पनि प्रगति सन्तोषजनक नै छ ।