काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकण(क्यान)ले हेलिकप्टर कम्पनीहरूलाई कोरोना भाइरस(कोभिड–१९)का बिरामी उद्धारको बेला चर्को शुल्क नलिन निर्देशन दिएको छ ।
क्यानले विज्ञप्ति जारी गरी पछिल्लो समय हेलिकप्टर कम्पनीहरूले बिरामी उद्धारको बेला चर्को शुल्क लिएको समाचारहरू सार्वजनिक भएको भन्दै त्यस प्रतिध्यानाकर्षण भएको जनाएको छ ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हालसम्म चर्को शुल्क लिएको नपाइएको बताउँदै त्यस्तो पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् । कोरोनाको बिरामी उद्धार गर्दा केही बढी नै शुल्क लाग्ने भएकाले सर्वसाधारणलाई त्यस किसिमको आभाष हुन सक्ने क्यानको दाबी छ ।
यता वायुसेवा सञ्चालक संघले पनि विज्ञप्ति जारी गरी कोरोनाको बिरामी उद्धारमा तोकेको शुल्कभन्दा बढी नलिएको स्पष्टीकरण दिएको छ ।
संघले पर्यटन मन्त्रालयले तोकेको भाडादरमा नै कोभिडको बिरामी उद्धार गरेको समेत दाबी गरेको छ ।
मन्त्रालयले बेल २०६ समूहको भाडा प्रतिघण्टा १ हजार ५ सय डलर, आर ४४ समूहको हेलिकप्टरको भाडा प्रतिघण्टा १ हजार डलर र एमआई–१७ समूहको हेलिकप्टरको भाडा प्रतिघण्टा ६ हजार डलर तय गरेको र सोहीअनुसार उद्धार उडान भएरहेको संघले जनाएको छ ।
कोभिड उद्धार उडानको हकमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रोटोकल एवं स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डअनुसार उडान भएको छ,’ संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उडानमा खटिने पाइलटलगायत कर्मचारीहरूका लागि पीपीई सेट, प्यारामेडिकल टोली, सेमी भेन्टिलेटर मसिन, थप बिमा, प्रत्येक उडानपश्चात् हेलिकप्टरको सेनिटाइजेसन, किटाणुशोधन (डिसइन्फेक्सन) लगायत अन्य सामग्रीसमेत प्रयोग हुनुका साथै मेडिकल टोलीको प्रयोग गनै पर्ने हुँदा अन्य उडानमा भन्दा उडान समय र भाडा बढी लाग्छ ।
संघले कोभिड उद्धार उडानका प्रतिउडानमा १ लाख ५० हजारभन्दा थप बढी खर्च आउने संघको दाबी छ ।