काठमाडौं । हिम आरोही कामिरिता शेर्पाले आफ्नै कीर्तिमान तोडेका छन् ।
शुक्रबार साँझ ६ बजे ८ हजार ८४८.८६ मिटरको सगरमाथा हिमालको सफल आरोहण गरेसँगै आफैंले राखेको रेकर्ड तोडेका हुन् । यसअघि उनले २०७६ मा २४ औं पटक आरोहण गरी विश्वकीर्तिमान राखेका थिए ।
पर्यटन विभागका निर्देशक मीरा आचार्यले कामिरिताले सगरमाथाको सफल आरोहण गरेको पुष्टि गरे । उनले शुक्रबार कामिरितासहित १२ जना शेर्पाले सगरमाथाको आरोहण गरेको बताइन् । ‘डोरी टाँग्ने कामका लागि उहाँहरूले हिमालको आरोहण गरेका हुन्, निर्देशक आचार्यले भने, ‘अब आरोहणका लागि बाटो खुल्यो ।’
कामिरितासँगै तेन्जिङ शेर्पा,मिङमा तेन्जिङ शेर्पा,फुरतेन्जी शेर्पा,लाक्पा नोर्बु शेर्पा,फरछिरिङ शेर्पा,फुर्वा छोतार शेर्पा,चेतन दोर्जे शेर्पा,तेन्जिङ ग्याल्बीन शेर्पा र फुर्वा कंन्साङ शेर्पाले एकै साथ आरोहण गरेका छन् ।
कामिरिता आबद्ध रहेको सेभेन समिट ट्रेक्सले पनि फेसबुकमार्फत हिमाल आरोहण गरी नयाँ कीर्तिमान राखेको पुष्टि गरेका छन् । २०२७ सालमा सोलुखुम्बुको थामे गाउँमा जन्मिएका कामिरिताले पहिलो पटक सन् १९९२ र १९९३ मा सगरमाथा आरोहण गरेका थिए । तर, त्यो बेला शिखर चुम्न भने सकेनन् ।
बीचबाटै फर्किएका शेर्पाले २४ वर्षको उमेरमा सन् १९९४ मा सगरमाथा शिखर चुमेका थिए । चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले उनले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए ।
सन् २०१८ बाट उनले सेभेन समिटमा काम सुरु गरेका हुन् । आधा उमेर हिमाली क्षेत्रमै बिताएका शेर्पाले ५०औं वर्षलाई रजत वर्षका रूपमा २५औं पटक हिमाल आरोहण गरी विश्राम लिने क्यापिटलसँगको कुराकानीमा भनेका थिए ।