बेइजिङ । चिनियाँ सामानको विदेशी व्यापार सन् २०१८ को पहिलो सात महिनाको तुलनामा सन् २०१९ को सोही समयमा ४.२ प्रतिशतले वृद्धि भएको छ । चीनको भन्सार कार्यालयको बिहीबार सार्वजनिक तथ्याङ्क अनुसार अघिल्लो वर्षको पहिलो सात महिनाको तुलनामा यसवर्ष वैदेशिक व्यापारबाट १७४ खर्ब १० अर्ब चिनियाँ युआन (२० खर्ब ४९ करोड अमेरिकी डलर) थप नाफा भएको छ ।
चीन–अमेरिका व्यापार विवादका कारण चिनियाँ अर्थतन्त्रमा व्यापक प्रभाव पर्नसक्ने कतिपय अनुमानहरूलाई यो तथ्याङ्कले गलत सावित गरिदिएको छ । चिनियाँ भन्सार अन्तर्गत तथ्याङ्क विश्लेषण विभागका प्रमुख ली ख्वै वनका अनुसार, “सोही अवधिमा चीनको निर्यातमा गत बर्षको तुलनामा ६.७ प्रतिशतले वृद्धि हुँदा ९४ खर्ब ८० अर्ब युआनको कारोबार भएको छ भने आयात १.३ प्रतिशतले बढेको छ । बढेको आयात प्रतिशत अनुसार आयाततर्फ चीनको ७९ खर्ब ३० अर्ब युआनको कारोबार भएको छ ।”
विभागका प्रमुख लीले भने “यो अवधिमा चीनको अतिरिक्त व्यापारको मात्रा गत वर्षको सोही समयको तुलनामा ४७.४ प्रतिशतले बढेको देखिएको छ । यसबाट चीनले १५ खर्ब ५० करोड युआन बढी आम्दानी गरेको छ ।”
चालु वर्षका अघिल्ला ७ महिनामा चीनको सामान्य व्यापारिक आयात–निर्यातको कूल मात्रा १०४ खर्ब पुगेकाले गत वर्षको सोही अवधिको तुलनामा ५.७ प्रतिशतले वृद्धि भएको छ । त्यो सङ्ख्याले कूल वैदेशिक व्यापारिक मात्राको ५९.८ प्रतिशत स्थान ओगटेको छ ।
यो अघिल्लो वर्षको तुलनामा ०.८ प्रतिशत अङ्कले बढी हो । यो समयमा चीनको सबैभन्दा ठूलो व्यापार साझेदार यूरोपेली सङ्घ (इयू) बनेको छ । इयूसँग द्विपक्षीय व्यापारको आयतनमा १०.८ प्रतिशत पुगेको छ । एक वर्ष पहिले इयूसँगको द्विपक्षीय व्यापारको आयतनमा कुल २७ खर्ब २० अर्ब युआन पुगेको छ ।
इयूलाई पछ्याउँदै चीनसँगको दोस्रो ठूलो साझेदार दक्षिणपूर्वी एशियाली मुलुकहरूको सङ्गठन (आसियन) बनेको छ । चीनले आसियन मुलुकसँगको कारोबारलाई ११.३ प्रतिशतले बढाएर दुईपक्षीय कारोबार रकमलाई २३ खर्ब ५० अर्ब युआन पुर्याएको छ भने अमेरिका तेस्रो स्थानमा रहेको छ ।
यो वर्ष अमेरिकासँगको विवादका कारण चीन–अमेरिकाबीचको व्यापार आयतनमा भने ८.१ प्रतिशतले कमी आएको राजश्व कार्यालयले दिएको तथ्याङ्कमा उल्लेख छ । यसबाट चीनले अमेरिकासँगको व्यापार कारोबारमा २१ खर्बले कमी देखिएको छ ।
चीनको व्यापार राष्ट्रपति सी चिनफिङको महत्वाकांक्षी रेशम मार्ग परियोजना अर्थात् एक पेटी एक सडक (ओबीओआर) अन्तर्गतका मुलुकहरूसँगको कारोबार रकम ५० खर्ब ३० अर्ब चिनियाँ युआन पुगेको छ । यो गत बर्षको पहिलो सात महिनाको तुलनामा १०.२ प्रतिशत बढी हो । यो रकम कुल व्यापार रकमको २८.९ प्रतिशत हो ।
यसैगरी यो अवधिमा चीनको निजी क्षेत्रको कारोबार रकम ११.८ प्रतिशतले बढेको र यसअन्तर्गत ७३ खर्ब १० अर्ब युआन कारोबार भएको छ भने यो रकम चीनको सम्पूर्ण व्यापार कारोबार रकमको ४२ प्रतिशत हो । (रासस/सिन्ह्वा)