काठमाडौं । भारतबाट आउने यात्रुहरु अनिवार्य रुपमा १० दिन होटल क्वारेन्टिनमा बस्नु पर्ने छ ।
त्यसका लागि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८ वटा होटल क्वारेन्टिनका लागि छनौट गरेको सचिव यादव कोइरालाले जानकारी दिए ।
सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि भारतसँग भने साताको दुई उडानलाई कायमनै राखेको छ । कोभिडकै बीचमा भएको एयरबबल सम्झौता अनुसार अहिले उडान नरोकिएको हो ।
उडान नरोक्ने भएपछि त्यहाँबाट आउने यात्रुहरु अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्नु पर्ने छ । त्यसका लागि ८ वटा होटलहरु तोकिएको र तीनको मूल्य दैनिक ३ हजार रुपैयासम्म रहेको बताइएको छ ।
पर्यटन सचिव कोइरालाका अनुसार एयरपाेर्टस्थित एयरपाेर्ट होटल, गौसालास्थित अमादब्लम होटल, गौशालास्थित रिडर्स इन, गौशालास्थित आनन्द आश्रम, गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटल, जगातीस्थित फार्म हाउस रिर्सोट र जगातीस्थित ए वान रिर्सोटलाई होटेल क्वारेन्टिनका रुपमा तोकिएको छ ।
होटलले यात्रुलाई विमानस्थलबाट होटलसम्म ल्याउनुका साथै खाना र बसोबासको सुविधा दिने छन् ।
नेपाल वायुसेवा निगम र एयर इण्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिने र यात्रुको क्वारेन्टिन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी तोकिएको छ ।