काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले चार महिनाको अवधिमा ८ सय ओटा मुद्दा फर्छ्याैट गरेका छन् । लामो समयदेखि रोकिएका मुद्दालाई महानिर्देशक भुसालले धमाधम फर्छ्याैट गरेका हुन् ।
विभागमा करिब ५ हजार २ सयभन्दा बढी ठगीका उजुरी परेका छन् । अनलाइन सिस्टममै दर्ता रहेका करिब ३७ सय र अरु पुराना ढड्डाहरुमा भेटिएका करिब १५ सय उजुरीमाथि अनुसन्धान भइरहेको उनले बताए । २०७५ चैत्र २८ गते विभागको महानिर्देशकमा नियुक्त भएका भुसालले २०६२/०६३ देखिका फाइल अध्ययन गर्दै टुङ्ग्याउँदै लगेका छन् ।
‘विभागमा परेका उजुरीहरु विभिन्न कारणले लामो समयदेखि रोकिका रैछन्,’ महानिर्देशक भुसालले भने, ‘ती उजुरीहरुलाई किनारा लगाउने काम भइरहेको छ ।’ उनले विभागकै कारण कुनै सेवाग्राहीले दुख नपाउन् भन्ने उद्देश्यका साथ काम भइरहेको जानकारी दिए ।
विभागले एक म्यानपावर कम्पनीका ५३ ओटा उजुरीमा ४६ ओटा किनारा लगाइसकेको र बाँकीलाई ढेड महिनाभित्र सकाउने गरी काम भइरहेको महानिर्देशक भुसालले बताए । लामो समयदेखिका उजुरीमा प्रमाणहरु जुटाउन धेरै समस्या भएकाले ढिलाइ भएको उनको भनाइ छ ।
गलत नियत भएका व्यवसायीहरुले शुरुदेखिनै लेनदेनको कुनै प्रमाण नरहने गरी कारोबार गर्ने गरेकाले उजुरी परे पनि प्रमाण जुटाउन समय लाग्ने गरेको महानिर्देशक भुसालको भनाइ छ ।
हालसम्म घटनाको प्रकृति हेरेर २ देखि ४ लाख रुपैयाँसम्म जरिवाना गराइएको विभागको भनाइ छ । विभागको ऐनको दफाअनुसार कतिसम्म क्षतिपूर्ति भराउन सकिन्छ भन्ने यकिन हुने गरेको छ ।
अहिले विभागमा उजुरी र गुनासा लिएर आउनेको सङ्ख्या दैनिकरुपमा बढेको छ । छिटो, सरल र सहज तरिकाले उजुरीको सुनुवाइ हुने भएकाले पुराना पीडितहरु पनि विभागमा आउने गरेको भुसाल बताउँछन् । हाल दैनिक हजारभन्दा बढी सेवाग्राही विभागमा पुग्ने गरेको उनले जानकारी दिए ।
महानिर्देशक भुसालले ४ महिनाको अवधिमा ३३ ओटा म्यानपावर कम्पनीमा छापा हानेका छन् । कामदारबाट चर्को शुल्क उठाउने, अनुमतिबिनै अन्तर्वार्ता लिने, एउटा काम भनी अर्को काममा पठाउनेलगायतका काम गर्ने म्यानपावर कम्पनीलाई आवश्यक कागजपत्र लिएर छानबिन अगाडि बढाएका छन् ।
विभिन्न कारणले ठगिएका र दुःख पाएकाहरुका लागि काम गरिरहेको बताउँदै महानिर्देशक भुसालले विदेशमा रहेका करिब ४३ लाख नेपालीहरुको पीडा आफूले सुनिरहेको बताए । वैदेशिक रोजगारमा गएकाहरुले धेरै दुख पाएको बताउँदै उनले जानुभन्दा अघि नै समस्या समाधान गर्ने आफ्नो पहल भएको बताए ।