काठमाडौं । नागरिक एपको फुल भर्सन सार्वजनिक भएको छ । चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा एपको फुल भर्सन सार्वजनिक गरेको हो ।
नागरिक एपबाट प्यान कार्ड, प्रहरी रिपोर्ट, मालपोत, शैक्षिक प्रमाणपत्र, नागरिकता, पासपोर्ट एवं मतदाता कार्डसहितका विवरण समावेश गरिएको छ।
नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोष र सामाजिक सुरक्षा कोषमा रहेको आफ्नो विवरण हेर्न सकिने सुविधा पनि नागरिक एपमा उपलब्ध छ । सरकारले जनताका गुनासा सुन्न सञ्चालन गरेको हेलो सरकारको सुविधा पनि यसमा जोडिएको छ ।
नागरिक एपको प्रयोगले समयको बचत, झन्झट हट्ने, खर्च जोगिने र पारदर्शिता बढ्ने दाबी सरकारको छ। नागरिक एप प्रयोग गरी ३ हजारभन्दा बढीले प्रहरी रिपोर्ट र १० हजारभन्दा बढीले प्यान कार्ड लिएका छन।
सरकारले नागरिक एपबाटै सवारीसाधनको कर, स्थानीय निकायको कर तिर्न सकिने गरी विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक नागरिक एपबाटै नेपाल बैंकमा खाता खोलेका छन। अहिले नेपाल बैंकसँगै नागरिक एपबाट सिद्धार्थ बैंकमा खाता खोल्न सकिने बताइएको छ।
यसका साथै मोबाइलमा मात्र उपलब्ध नागरिक एपका सेवा तथा सुविधा अबका दिनमा वेबसाइटबाट समेत लिन सकिने उल्लेख छ ।