काठमाडौं । गुण एयरलाइन्सले संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट ५ थान जे ४१ जेटस्ट्रिम जहाज उडानको अनुमति पाएको छ । मन्त्रालयले बुधबार एयरलाइन्सलाई मन्त्रीस्तरिय निर्णय गर्दै अनुमति दिएको हो ।
यसअघि २ वटा बिचक्राफ्ट विमानको उडान अनुमति पाएको कम्पनीले थप ५ जेटस्ट्रिम जहाजको उडान अनुमति पाएको हो । अब गुणको फ्लिटमा ७ विमान हुनेछ । गुणले पाँच जेटस्ट्रिम यति एयरलाइन्ससँग खरिद गरेको हो ।
सबै जहाज काठमाडौं आधार हुने गरी उडान हुने कम्पनीले जनाएको छ ।
मन्त्रालयले थप गरिएको फ्लिट २०७९ वैशाख १४ गतेभित्र उडान गर्नुपर्ने जनाएको छ । तर, कम्पनीले त्यसअघि नै सबै फ्लिटको जहाज उडान गरिसक्ने जनाएको छ । कम्पनीले अब ढिलोमा दुई महिनाभित्र सबै जहाजको उडान भर्ने जनाएको छ ।
‘हामीले जेटस्ट्रिम जहाजको पनि अनुमति पाएका छौं, अब हामी फुलफेजमा सञ्चालनका लागि तयारीमा रहेका छौं,’ एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यले बताए । हामीले जहाजको रंगरोगन र एयरपोर्टको ह्याङ्गरको काम गरिरहेको र त्यो सकिने वित्तिकै व्यावसायिक उडान हुने शाक्यले बताए । गुणले आफ्नो पहिलो व्यावसायिक उडान पोखराबाट गर्ने योजना बनाएको छ ।
गुण समुहले एयरलाइन्सलगायत दर्जनौं व्यवसायमा लगानी गरेको छ । समुहले गुण कोलोनी, गुण सिनेमा, गुण ज्वेलरी, गुण कोपरेटिभ, सनसाइन अपार्टमेन्ट, डेज इन होटल, किस्ट मेडिकल कलेज, एपीवान टेलिभिजन, दरबारमल, नेपाल फाइनान्सलगायतमा लगानी गरेको छ ।