काठमाडौं । भारतको बिहारबाट आउने कच्चा दूधको आपूर्तिमा समस्या हुँदा निजीक्षेत्रका डेरी उद्योगी मारमा परेका छन् । सरकारले साउनदेखि कच्चा दूधको आयात खुला गरे पनि अहिले दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरी उद्योगीले कच्चा दूध ल्याउन पाएका छैनन् ।
साउन १५ गतेपछि भारतको बिहार क्षेत्रमा अविरल वर्षा र बाढीका कारण डुबान भएकाले पनि मागअनुसार कच्चा दूध आपूर्तिमा समस्या भएको हो । एक हप्तादेखि बिहार डुबानमा पर्दा कच्चा दूध ल्याउन नसकिएको डेरी उद्योग सङ्घका अध्यक्ष अरनिको राजभण्डारीले बताए । ‘एक हप्तादेखि बिहारमा डुबान हुँदा मागअनुसार कच्चा दूध ल्याउन सकेनौं,’ दूध आपूर्ति गर्न बिहारमै पुगेका राजभण्डारीले भने, ‘अहिले केही सहज भए पनि अझै मागअनुसार दूध आउन सकेको छैन ।’
११ महिनादेखि धूलो दूध पाउडर (एसएमपी) आयात प्रतिबन्ध छ । जसका कारण निजी क्षेत्रका डेरी उद्योग तथा कारखानाले क्षमताअनुसार दूध प्रशोधन गर्न सकेका छैनन् । सरकारी स्वामित्को नेपाल दुग्ध विकास संस्थान (डीडीसी) ले समेत अहिलेसम्म पनि भारतबाट कच्चा दूध ल्याउन सकेको छैन ।
झन्डै २५० हजार लिटर दूध सप्लाई क्षमता भए पनि डीडीसीले मुस्किलले एक लाख लिटर दूध मात्रै सप्लाई गर्न सकेको छ । ७० हजार लिटर दूधबाट एसएमपीमा प्रशोधन गरेर आपूर्ति गरिरहेको छ । डीडीसीले निजीक्षेत्रका डेरी उद्योगलाई चैतपछि आवश्वक पर्ने एसएमपी दिने भनेर आश्वासन दिलाए पनि नदिएका कारण समस्या भएको भण्डारीको भनाइ छ । .
दूधको मूल्य नबढाए आन्दोलन चेतावनी
सरकारले कच्चा दूध भारतबाट ल्याउन अनुमति दिएसँगै दुग्ध किसान तथा दुग्ध उत्पादक सहकारीले भने सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले कच्चा दूध आयातले स्वदेशी दूध बिक्री हुन नसक्ने र पुनः मिल्क हलिडे हुन सक्ने भन्दै कच्चा दूध आयात बन्द गर्नुपर्ने मागसमेत गरेका छन् ।
उनीहरुले अहिले बजारमा सबै वस्तुको मूल्य बढेको अवस्थामा किसानको दूधको मूल्य नबढेकोप्रति आपत्ति जनाएका छन् । भदौ १ गते किसानले उत्पादन गरेको दूधको मूल्य नबढाए भदौ ४ गतेदेखि चरणबद्ध आन्दोलन गर्ने दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष नारायण देवकोटाले बताए । उनले ४, ५ र ६ गते डीडीसीको केन्द्रीय कार्यालय घेराउ र त्यसपछि पनि सुनुवाइ नभएमा ६ गते दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी रहेको बताए ।
उनले विदेशबाट धूलो दूध ल्याउनुभन्दा स्वदेशमै बढी दूध उत्पादन हुने सिजनमा निजी डेरी उद्योगले पाउडर बनाउने र ड्राई सिजनमा उत्पादित पाउडर प्रशोधन गरे दूध आपूर्ति गर्न सकिने बताए । ड्राई सिजनमा दूध उत्पादन २० प्रतिशत घट्ने भएकाले फ्लक सिजनमा बढी धूलो पाउडर दूध उत्पादनमा निजी डेरी उद्योग लाग्नुपर्ने बताए ।
३ महिना एसएमपी खोल्नुपर्छ : डेरी उद्योगी
अहिले डेरी उद्योगका क्षेत्रमा निजी लगानी ३० अर्बभन्दा बढी छ । तर सबै डेरी उद्योग तथा पाउडर कारखानाले क्षमताअनुसार दूध प्रशोधन गर्न सकेका छैनन् । स्वदेशी डेरी उद्योग तथा कारखानालाई अपुग हुने दूध कम्तीमा ३ महिनाका लागि कोटा सिस्टमबाट एसएमपी खोल्नुपर्ने नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले बताए ।
दूधको कच्चा पदार्थका रुपमा चक्लेट, आइसक्रिम र बिस्कुट उद्योगका पनि हुन् । तर आवश्यक कच्चा पदार्थ दूध मागअनुसार आपूर्ति हुन नसक्दा उद्योग जोखिममा रहेको उद्योगीको भनाइ छ ।