काठमाडौं । गायक रामकृष्ण ढकालले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट लिएको सबै कर्जा चुक्ता गरिसकेको बताएका छन् । उनले सहकारीलाई ऋण तिर्न बाँकी नभएको जिकिर समेत गरेका छन् ।
सहकारीले बुधबार चार करोड ९५ लाख रुपैयाँ कर्जा तिर्न बाँकी रहेको भन्दै एक राष्ट्रिय दैनिक पत्रिकामा गायक ढकाल र उनकी श्रीमती निलम शाह ढकालको नाममा सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।
ढकालले नौ वर्षअघि उक्त सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएका थिए । ऋणको साँवा–ब्याज तिर्न नसकेपछि २०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख रुपैयाँमा लिलाम गरेर सबै कर्जा असुल गरेको ढकालको दाबी छ ।
त्यतिबेला ढकाल दम्पत्तिले करिब १७ प्रतिशत ब्याजदरमा लिइएको कर्जाको नियमित किस्ता तिर्न नसकेपछि सहकारीले लिलाम गरेको थियो ।
पत्रिकामा प्रकाशित सूचनामा छुट्टाछुट्टै कर्जा रकमसहित रामकृष्ण र उनकी श्रीमती निलमका अतिरिक्त केशव पुरी, अञ्जु पुरी, श्यामबहादुर खत्री र शीतल भीडीयो चलचित्र मन्दिरको नाम पनि राखिएको छ ।
सहकारीले प्रकाशन गरेको सूचनामा ऋण तिर्न आउन नभनेको तर तर्साउने वा बिबादका साथै बदनाम गराउने उद्देश्य मात्र भएको दाबी ढकालको छ ।
सहकारीले गायक ढकाल दम्पत्तिले साँवा र ब्याज गरी चार करोड ९३ लाख २१ हजार रुपैयाँ ऋण नतिरेपछि धितो राखेको घर जफत गरेको सहकारीले जानकारी दिएको छ ।
गायक ढकालले साँवा र ब्याज गरी दुई करोड ३० लाख ९७ हजार र उनकी श्रीमतीले दुई करोड ६२ लाख २४ हजार रुपैयाँ ऋण तिर्न बाँकी रहेको श्री लालीगुराँसको दाबी छ ।यो रकम गत साउन २० गतेसम्मको भएको श्री लालीगुराँसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र भण्डारीले बताए ।
ऋणी ढकालले अदालतमा दायर गरेको मुद्दामा संस्थाको पक्षमा फैसला भएको भण्डारीले बताए । ढकाल दम्पत्तिले नौ वर्षअघि विभिन्न प्रयोजनका लागि ऋण लिएको र पटकपटक ताकेता गर्दा ऋण चुक्ता नगरी कर्जा सम्बन्धित शर्त र बन्देज उल्लङ्घन गरेकाले धितो जफत गरिएको उनले जानकारी दिए ।
ढकालको भैसेपाटीमा रहेको घर तथा जग्गा लिलामी गरिसकेको र अपुग रकम उठाउन उनको सम्पत्ति खोजी भइरहेको उनले जानकारी दिए ।